काठमाडौं ।
विधान विपरीत विभाग गठन गरिएको भन्दै सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवालाई निर्णय सच्याउन आग्रह गर्ने निर्णय गरेको छ। सभापतिले निर्णय नसच्याए पार्टी कार्यालयमा धर्नादेखि आमरण अनशन बस्नेसम्मका कार्यक्रम गर्ने रणनीति पौडेल समूहको छ।
संस्थापन इतर समूहका नेताको शनिबार भएको जुम बैठकले विधान विपरीत गरिएका निर्णय सच्याउन सभापति देउवालाई दबाब दिने निर्णय गरेको हो । जुम बैठकमा महामन्त्री डा. शशांक कोइरालाले आगामी कार्यनीति पेश गरेका थिए।
‘सुरुमा सभापतिलाई भेटेरै निर्णय सच्याउन आग्रह गर्छौं, सभापतिबाट विधान विपरीत भएका सबै निर्णय सच्याउन पार्टी कार्यालयमा दर्ता गराउँछौं,’ केन्द्रीय सदस्य गुरु घिमिरेले भने, ‘त्यसको सुनुवाइ भएन भने धर्ना दिनेदेखि आमरण अनशन बस्नेसम्मका कार्यक्रम हुन्छन् ।’
विरोधका बीच पनि सभापति देउवाले विभाग गठनलाई निरन्तरता दिएपछि पौडेल समूह आक्रोशित बनेको हो। पौडेल समूहका कतिपय नेताले सामूहिक राजीनामा दिएर सभापतिलाई दबाब दिनु पर्नेमा जोड दिए पनि बैठकले भने यसबारे कुनै निर्णय गरेको छैन।
‘राजीनामा दिने कुरा त नेताहरुको स्वविवेकको कुरा हो, अघिल्लो पटक शेरबहादुर देउवाले कसैलाई सोधेर राजीनामा दिनु भएको थिएन,’ पौडेल समूहका एक नेताले भने, ‘मनोनित सदस्यले राजीनामा दिनु पर्ने आवाज उठेको छ । यो कुरा त वरिष्ठ नेता आफैंले बुझ्नुपर्ने हो।’
बैठकमा वरिष्ठ नेता पौडेलले राजीनामाका विषयमा केही कुरा उल्लेख गरेनन् । तर उनले पार्टीभित्र विधि स्थापित गर्न सशक्त दबाब दिनु पर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए। ‘अघिल्लो बैठकमा उहाँ (पौडेल) ले विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको भेला बोलाउने कुरा गर्नुभएको हो, आजको बैठकमा विधिसम्मत रुपमा पार्टी सञ्चालन गर्नुपर्छ भन्नुभयो,’ पौडेलको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘उहाँले खुट्टा कति बलियो बनाउनु हुन्छ, त्यसैमा हाम्रो आगामी रणनीति बन्छ।’
पौडेल समूहले बोलाएका यस अघिका बैठकमा अनुपस्थित रहँदै आएका तेस्रो धारका नेता शनिबारको जुम बैठकमा भने सहभागी भएका छन् । नेताहरु गगन थापा, प्रदीप पौडेल बैठकमा सहभागी थिए । नेता कृष्णप्रसाद सिटौला भने अनुपस्थित थिए। तेस्रो समूहका नेताका रुपमा चिनिने थापाले सिटौलालाई पनि बैठकमा उपस्थित गराउनु पर्नेमा जोड दिएका थिए । सभापति देउवा महाधिवेशनलाई प्रभावित पार्न विधान विपरीत विभाग गठन गर्न लागेको भन्दै नेता थापाले सभापतिका गलत कदमविरुद्ध सबै एक ठाउँमा उभिनु पर्ने धारणा राखेका थिए।
विभाग गठन र क्रियाशील सदस्यता वितरणमा संस्थापन इतर समूहका नेताको विरोध छ। उनीहरुले महाधिवेशनको निष्पक्षमतामाथि प्रश्न उठाउँदै आएका छन् । सभापति देउवाले ४७ विभागमध्ये २० विभाग गठन गरेका छन्।
विधान अनुसार ६ महिनाभित्र विभाग गठन गर्नु पर्नेमा सभापति देउवाले महाधिवेशनको मिति घोषणा गरिसकेपछि विभाग गठन गरेको भन्दै पौडेल समूहले असन्तुष्टि जनाउँदै आएको छ। चार वर्षे औपचारिक कार्यकाल सकिसकेकाले सभापतिले महाधिवेशनका गतिविधिबाहेक अन्य काम गर्न नमिल्ने उनीहरुको दाबी छ। तर सभापति देउवाले भने विधानमा काम चलाउ सभापति भन्ने प्रावधान नरहेकाले पदमा रहन्जुलेसम्म काम गर्ने अधिकार आफूमा रहेको दाबी गर्दै आएका छन्।अन्नपूर्णबाट





























प्रतिक्रिया