आर्थिक अभावमा चिडियाखाना बन्द हुने अवस्थामा (भिडियाेसहित)

आर्थिक अभावमा चिडियाखाना बन्द हुने अवस्थामा (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

ललितपुर।

ललितपुरको जावलाखेल स्थित केन्द्रीय चिडियाखाना आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । सरकारले गत चैत ११ गते देखि लकडाउन गरेपछि चिडियाखानाको आम्दानी नहुँदा आर्थिक अभाव हुन गई चिडियाखाना नै बन्द हुने अवस्थामा पुगेको हो ।सदर चिडियाखानाका आयोजना अधिकृत डा. चिरन्जीबी पोखरेलले आम्दानी बन्द हुँदा बन्यजन्तुको रेखदेख, खानपिन र सरसफाइमा खर्च व्यवस्थापन गर्न समस्या भएको बताए ।

चिडियाखानाको मूख्य आम्दानी चिडियाखाना हेर्न जानेहरुबाट लिइने टिकट शुल्क हो । तर अहिले चिडियाखाना प्रवेश पूर्णरुपमा बन्द छ । २०७६ चैत महिनाको पहिलो साता देखि नै चिडियाखाना प्रवेश पूर्णरुपमा बन्द रहेकाले आम्दानी शुन्य भएको उनले बताए ।

चिडियाखानाको आम्दानी प्रति महिना १ करोड रुपैयाँ बराबर हुन्थ्यो भने खर्च पनि सोही रकम बराबर नै हुने गरेको डा. पोखरेलको भनाइ छ । तर आम्दानी शून्य भएपछि आर्थिक समस्या देखिएको र चिडियाखानालाई नै कसरी बचाउने भन्ने चुनौति थपिएको उनले बताए । अहिले चिडिया खानामा १ सय १० प्रजातिका १ हजार भन्दा बढी बन्यजन्तु रहेका छन् । त्यस्तै ७५ जना कर्मचारी चिडियाखानामा कार्यरत छन् । सबैतर्फ खर्च व्यवस्थापनको समस्या हुँदा भोलिका दिनमा चिडियाखानालाई सञ्चालन गर्न चुनौति थपिएको उनले बताए ।

आर्थिक अभावका कारण चिडिया खानाका कर्मचारीले आधा महिनाको तलब लिएर काम गरिरहेको पनि डा. पोखरेलले बताए । वित्तीय हिसाबले ऋणात्मक अवस्थामा पुगेको चिडियाखाना सरकारको सम्पत्ति हो । विगत २० वर्षदेखि चिडियाखाना आफ्नै आम्दानीबाट सञ्चालन हुँदै आएको छ । अहिले कोभिड १९ का कारण पूर्णरुपमा बन्द गर्नुपर्दा आम्दानी शुन्य भएको छ । यस्तो अवस्थामा सरकारले आफ्नो सम्पत्तिको सुरक्षाका लागि पनि आर्थिक सहयोग गरी चिडियाखानालाई बचाउनु पर्ने डा. पोखरेलले बताए ।

बन्यजन्तुका लागि लामो समय खानेकुरा मौज्दात राख्न सक्ने अवस्था पनि चिडियाखानासँग छैन । गेडागुडी लगायतका खानेकुरा एक महिना सम्मका लागि मौज्दात रहने भएपनि माछा मासुको मौज्दात एक साता भन्दा बढी राख्न सक्ने क्षमता चिडियाखानासँग छैन । त्यसैले लकडाउनको समयमा बन्यजन्तुको खानेकुरा ल्याउन समेत समस्या हुने गरेको छ । यस्तै सरकारले सबै क्षेत्रलाई खोल्ने निर्णय गरे चिडियाखाना सञ्चालन गर्ने सम्बन्धमा तयारी गरिसकेको पनि पोखरेलले बताए । उनले कोभिडको संक्रमणका बिच पनि अन्य क्षेत्र खुल्दा चिडियाखानालाई कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा योजना बनाइसकेको पनि बताए ।

Skip This
Skip This
Logo