नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धम्क्याएर, तर्साएर गठबन्धनको पक्षमा नतिजा निकालिएको आरोप लगाएका छन् । प्रतिपक्षी दलको नेताको रूपमा बिहीबार संसद्मा आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले स्थानीय निर्वाचनमा हदैसम्मको हस्तक्षेप र धाँधली गरिएको बताए ।
निर्वाचन जसरी हुनुपर्थ्यो त्यस्तो नभएको उनले बताए । ‘राज्य शक्ति केन्द्रित गरेर गठबन्धनका निम्ति अनुकूल वातावरण बनाउँदै लगेर गठबन्धन अनुकूलका परिणाम ल्याइयो । निर्वाचन जस्तो हुनुपर्थ्यो त्यस्तो भएन । निर्वाचन भयो तर जस्तो हुनुपर्थ्यो त्यस्तो भएन’, नेता ओलीले भने । आफ्नो पार्टीको चिन्हमा भोट हाल्न पाइँदैन भनेर कार्यकर्ता मतदातालाई धम्क्याएको समेत उनले बताए । ‘रुखमा भोट हाल्न नपाइने आदेश फर्मान जारी गरियो । जनतालाई समेत धम्काइयो भने अरू कार्यकर्ताको त के कुरा । हे कांग्रेसी जनहरू मैले तोकेको अर्कै पार्टीलाई मत दिनु । नदिए कारबाही । मानौँ पार्टी प्राइभेट लिमिटेड हो’, ओलीले भने ‘आम कार्यकर्ताका भविष्य नै समाप्त पार्नेखालका गतिविधि भए । प्रशासन माथिको आदेशले निरीह भएर कर्तव्यच्यूत भएर गलत काम गर्न बाध्य भयो । पक्षधरताका साथ कुकर्म गर्न गलत ढंगले परिचालन गर्ने काम भयो । लोकतन्त्रका लागि ज्यादै दुखको कुरा हो ।’
कतिपय ठाउँमा रुखमा भोट नहालेमा पैसै जाँदैन भनेर सत्तामा बसेका मान्छेहरूले धम्क्याएको भन्दै ओलीले बजेटै नदिने भनेर मतदातालाई प्रभावित गरेको बताए । उनले भने, ‘सेवासुबिधा नदिने भनेर राज्यसत्ता र संयन्त्रको दुरुपयोग गरेर गठबन्धनले खटाएको उम्मेदवारलाई सरकारी उम्मेदवार जस्तो बनाएर आम मतदातालाई त्रासमा राख्ने काम गरियो ।’
निर्वाचनको सन्दर्भमा फलाना व्यक्तिलाई मत नहालेमा देश दुर्घटना हुन्छ भनेर धम्कीको भाषा बोलेको ओलीले बताए । ‘चुनावको सन्दर्भमा नेताहरूले यदि फलानालाई भोट नदिने हो भने देश दुर्घटनामा जान्छ । यदि खुरुक्क हाल्छन् भने म उत्साहित हुन्छु । गठबन्धन कायम रहन्छ आदी धम्कीको भाषा बोलेर मतदाता तर्साउने काम गरियो’, ओलीले भने ‘जसका कारण मान्छेले द्वन्द्वकाल सम्झिए । छोराछोरी बिदेसिनुपरेको सम्झिए । मान्छे मारिनुपरेको । अंगभंग भएको सम्झिए । त्यै चितवनमा मान्छे मारेर बोरामा हालिएका जस्तो घटनाहरू झल्झली सम्झिए । दुर्घटना भनेपछि मान्छेहरू त्रासमा भए ।’ गठबन्धनले चितवनमा आयोजना गरेको चुनावी सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाषणप्रति लक्षित गर्दै ओलीले प्रचण्डको भाषण चितवनमा मान्छे मारेर बोरामा हालेर फालेको घटना सम्झिएको बताए ।
निर्वाचनमा मतादाता प्रभावित गर्न प्रलोभन, पैसा बाँडिएको भन्दै नेता ओलीले निर्वाचनका क्रममा अपराध कर्ममा संलग्नलाई कारबाही गर्नतर्फ सरकारको ध्यान आकृष्ट गरे ।
निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै उनले बाटो छेकेर मतदातालाई मत हाल्ने कार्यबाट रोक्ने काम भएको बताए । मतादाताको बाटो छेकेर लोकतान्त्रिक अभ्यासको बाटो छेकेको भन्दै ओलीले निर्वाचन प्रक्रियाको बाटो छेकिनु चानचुने विषय नभएको आरोप लगाए । ‘यसको अर्थ लोकतान्त्रिक मूल्य मान्यता र अभ्यासको बाटो छेकियो । जसले मतदान गर्न पाउनुभयो उहाँहरूलाई म धन्यावाद भन्न चाहन्छु’, उनले भने ।
सत्ता गठबन्धनले जे जस्तो सुकै हानिकारक नीति ल्याए पनि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि जनतामा लोकतन्त्रको प्रत्याभूति दिलाउने, जनतालाई सेवासुबिधा दिलाउने निकाय भएकाले त्यसैअनुसार काम गर्न अनुरोध गरे ।





























प्रतिक्रिया