नेपालको नम्बर एक गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा अग्रणी दुई पाङ्ग्रे सवारी ब्राण्ड ‘बजाज पल्सर’ अनुबन्ध भएको छ।
बिहीबार काठमाडाैंमा आयोजित कार्यक्रममा बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छा र भ्वाइस अफ नेपालका तर्फबाट हिमालय टेलिभिजनका तर्फबाट अध्यक्ष धर्मराज भुसाल एवं कार्यकारी निर्देशक श्याम कडेलवीच टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा हस्ताक्षर भयो।
टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएसंगै द भ्वाइस अफ नेपालको यो श्रृङ्खलालाई ‘बजाज पल्सर प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल सिजन ४’ का रुपमा उल्लेख गरिने छ। नेपालको युवापुस्तामा अति नै लोकप्रिय भ्वाइस अफ नेपालको टाइटल स्पोन्सरमा अनुवन्ध हुन पाउनु पल्सरका लागि गौरवको बिषय भएको गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छाले बताए। पल्सर पनि युवापुस्ताको ब्राण्ड भएकाले भ्वाइस र पल्सरवीचको सहकार्य अर्थपूर्ण रहेको उनले बताए।
कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले बजाज पल्सरलाई टाइटल स्पोन्सरका रुपमा पाउनु भ्वाइस अफ नेपाल र हिमालय टेलिभिजनका लागि महत्वपूर्ण रहेको बताए। नेपाली गीतसँगीत क्षेत्रको प्रबर्द्धन एवं नयाँ प्रतिभाहरुको खोजीमा दुईवटा ब्राण्डको सहकार्यले दीर्घकालीन अर्थ राख्ने उनले बताए।
हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको द भ्वाइस अफ नेपाल देशकै सवैभन्दा धेरै दर्शक भएको नम्बर एक रियालिटी शो हो । चौथो सिजनका लागि डिजिटल अडिसन सुरु भइसकेको छ, जहाँ अहिलेसम्म हजारौं प्रतिभाहरुले द भ्वाइस अफ नेपाल सिजन-४ को उपाधि जित्ने आकांक्षासहित आवेदन दिइसकेका छन् । अबको दुई साताभित्र डिजिटल अडिसन बन्द भई कार्यक्रम उत्पादनको तयारी तिब्र पारिने टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए।
डिजिटल अडिसनमा सहभागी प्रतिभाहरुको थप परीक्षण र छनौटपछि कुल १२० जना प्रतिभाहरुले कोचका अगाडि ब्लाइन्ड अडिसनमा प्रस्तुति दिन पाउनेछन् । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुनेछ। छानिएका ६४ जना प्रतिभाहरु ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन्। कार्यक्रम आगामी श्रावण महिनादेखि हरेक शुक्रबार र शनिवार राति ८ बजे प्रसारण हुनेछ।





























प्रतिक्रिया