ललितपुर ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले निषेधाज्ञा कायमै रहेका बेला जबरजस्ती रातो मच्छिन्द्रनाथको रथ तान्न खोज्दा भएको घटनाले आफू अत्यन्तै दुःखी भएको बताएका छन् ।
प्रमुख महर्जनद्वारा शुक्रवार जारी विज्ञप्तिमा करीब ६० टनभन्दा बढी तौल र ५० फिट भन्दा अग्लो मछिन्द्रनाथको रथलाई विना जानकारी र योजना तान्न खोज्नु अशोभनीय कार्य भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ,-‘स्थानीय सरकार र प्रशासनलाई जानकारी नै नदिई अशोभनीय ढंगबाट रथ तान्ने प्रयास गरिनुले संस्कृति र सम्पदाप्रेमी सबैको मन नराम्रोसँग दुखाएको मेरो ठम्याई छ ।’
विज्ञप्तिमा उल्लेख भए अनुसार बिहीबार उनी आफ्नो पीसिआर टेस्टको रिपोर्टको प्रतिक्षा गर्दै होम आइसोलेसनमा थिए । अपरान्हपछि रिपोर्ट नेगेटिभ भएको खबरप्राप्त भएसँगै उनी रातो मछिन्द्रनाथको रथका विषयमा आयोजना गरिएको छलफलमा सहभागी भएका थिए।
धर्म, संस्कृति, जात्रा, परम्परा जोगाउने नाममा भएको यस्तो घटनाले मर्माहत भएको उल्लेख गर्दै भनिएको छ, ‘श्री रातो मछिन्द्रनाथको रथ बनाउने र तान्ने प्रक्रियामा ललितपुर महानगरपालिकाको भूमिका नहुने कुरा यहाँहरुलाई अवगत गराउँछु ।’ विज्ञप्तिमा ललितपुर महानगरपालिकाले कोभिडका बेला स्वास्थ्य सतर्कता अपनाउन भक्तजनहरुको व्यवस्थापन र जात्राको लागि ‘लजिस्टिक सपोर्ट’ मात्रै गर्न खोजेको जनाइएको छ ।
विज्ञप्तिमा ललितपुर महानगरपालिका कला, धर्मसंस्कृति, सम्पदा, जात्रा लगायतका अन्य परम्पराले सम्पन्न सहर भएको उल्लेख गर्दै हाम्रा यी अमूल्य निधिको संरक्षण तथा सम्मान गर्न महानगरवासी र सम्पूर्ण संस्कृतिप्रेमी जनसमुदायलाई आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।





























प्रतिक्रिया