बागलुङ।
गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरुलाई आज राहत सामग्री प्रदान गरेका छन् । उनले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गरे।
गृहमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल लगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो । बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेण्ट, म्याट लगायतका सामग्री वितरण गरिएको हो ।
राहत वितरणपछि बोल्दै गृहमन्त्री थापाले बाढी प्रभावितहरुको राहत र पुनःस्थापनामा सरकारले सघाउने बताउनुभएको सासंद् पौडेलले जानकारी दिए । “जनताको दुःखमा सरकार साथै रहेको उल्लेख गर्नु भएको छ”, उनले भने ।
गृहमन्त्री थापाले बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले दुई लाखका दरले राहत प्रदान गर्ने बताए । यस्तै पूर्णरुपमा क्षति भएका घरको पुनः निर्माणका लागि तीन लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको सांसद् पौडेलले बताए। उनले बाढीले क्षतिग्रस्त बनाएको सालझण्डी–ढोरपाटन सडकको मर्मत र स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्ने बताए । उनले बाढीले सडक, पुल लगायत भौतिक संरचनामा समेत ठूलो क्षति पुगेकाले तिनको पुनःनिर्माणमा सबैको हातेमालो चाहिने उल्लेख गरे।
ढोरपाटन नगरपालिका लगायत अन्य सङ्घसंस्था, व्यक्तिले पनि खाद्यान्न लगायतका अत्यावश्यक सामग्री प्रदान गरेका छन् । बिहीबार राहत सामग्रीसहित गृहमन्त्री सवार नेपाली सेनाको हेलिकप्टर मौसम खराबीका कारण बीचबाटै फर्केको थियो । आज पुनः नेपाली सेनाकै हेलिकप्टरबाट गृहमन्त्रीसहितको टोली राहत लिएर ढोरपाटन पुगेको हो ।
बुधबार राति भुजीखोलामा आएको बाढीका कारण ढोरपाटन नगरपालिका–९, ८ र ७ मा ठूलो धनजनको क्षति भएको छ । सबैभन्दा बढी वडा नं. ९ प्रभावित छ । बाढीमा बेपत्ता भएका १४ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भेटिएका शवमध्ये चार जनाको मात्र सनाखत भएको छ । बाढीमा बेपत्ता भएकाको सङ्ख्या अझै यकिन छैन । खोजी र उद्धार कार्य जारी रहेको बुर्तिबाङ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीले बताए।रासस





























प्रतिक्रिया