धरासायी उद्योग बचाउन थप राहत प्याकेज आवश्यक : उद्योगी व्यवसायीहरु जुटे गृहकार्यमा

धरासायी उद्योग बचाउन थप राहत प्याकेज आवश्यक : उद्योगी व्यवसायीहरु जुटे गृहकार्यमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रका अधिकांश क्षेत्र प्रभावित भइरहेका बेला उद्योग व्यवसाय धरासायी बन्दै गइरहेका छन् ।

कोरोना भाइरसको संक्रमण न्युनिकरणका लागि सरकारले गरेको चार महिना लामो लकडाउन तथा निषेधाज्ञाका कारण उद्योग क्षेत्र पूर्णरुपमा संचालन हुन सकेका छैनन् । कोरोना भाइरसको माहामारीका कारण यतिबेला करिब ५० जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिएको छ । सो निषेधाज्ञाका कारण अहिले ७५ प्रतिशत उद्योगहरु ठप्प छन् । उद्योग संचालन गर्न सक्ने अवस्था भए पनि बजार बन्द अवस्थामा रहेकाले उत्पादन विक्रि गर्न सक्ने अवस्था नभएको उद्योगी बताउँछन् । अहिले २५ प्रतिशत मात्रै उद्योग संचालन भएका छन् । यीनै उद्योगले गरेका उत्पादन पनि बिक्री हुन सकेका छैनन् । लामो समय यसरी नै चलिरहने हो भने अर्थतन्त्र चौपट हुने व्यवसायीको दाबी छ ।

संक्रमणका बेला उद्योग खोल्दा स्वाभाविक रुपमा जोखिम हुने भए पनि कोरोनासँगै जुध्दै अगाडि बढ्नुको विकल्प नभएको उद्योगी व्यवसायीको भनाइ छ । कोरोनाले धरासायी भएको उद्योग क्षेत्र संचालनका लागि व्यापार व्यवसाय बाँच्नु पनि उत्तिकै जरुरी छ । तर बचाउने कसरी ? अहिलेकै अवस्थामा उद्योग व्यवसाय निरन्तर रुपमा संचालन हुन सक्लान त ? आगामी दिनमा उद्योग तथा व्यवसाय क्षेत्र कसरी अगाडि बढ्ला ? यस विषयमा उद्योग व्यवसायीहरुले गृहकार्य गरिरहेका छन् । आगामी दिनमा उद्योग व्यवसाय क्षेत्रलाई निरन्तरता दिन थप राहत प्याकेजको आवश्यक पर्ने व्यवसायीहरुको भनाइ छ ।

सरकारले कोरोना न्युनिकरण गर्न गरेको लकडाउनका कारण उद्योग व्यवसायमा जुन क्षति भएको थियो, त्यस्तो क्षति पुगेका उद्योग व्यवसाय क्षेत्रलाई सरकारले चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमार्फत राहत प्याकेज ल्याएको थियो । तर कोरोना संक्रमणका कारण उद्योग व्यवसायी बन्द भएको ६ महिना पुगिसकेको छ । यस्तो अवस्थामा सरकारले यसअघि उपलब्ध गराएको राहत प्याकेजले पनि उद्योग व्यवसाय बाँच्न सक्ने अवस्था देखिँदैन । त्यसकारण उद्योगी व्यवसायीले थप राहत प्याकेजको माग गरिरहेका छन् ।

कसरी बचाउने उद्योग व्यवसाय ?

कोरोनाले क्षतिग्रस्त भएका उद्योग व्यवसायको पुनर्जीवनका लागि सरकारले थप राहत प्याकेज ल्याउनु पर्ने माग गर्दै उद्योग व्यवसायीहरु गृहकार्यमा जुटेका छन् । यस विषयमा उनीहरुले सरकारसँग निरन्तर छलफल गरिरहेका छन् । सरकारले उद्योग व्यवसायलाई थप राहत नदिए पूर्णरुपमा बन्द हुने अवस्थामा पुग्न सक्ने व्यवसायीहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बजेट र मौद्रिक नीतिले ल्याएको राहतले मात्रै अब उद्योग व्यवसाय धान्न नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

मौद्रिक नीतिले नीजि क्षेत्रका धेरै माग पूरा गरे पनि संक्रमण लब्बिँदै गइरहेकाले थप राहत प्याकेजको आवश्यक पर्ने बताए । ‘उद्योगहरु विरामी पर्न थालेका छन्, आर्थिक संकटमा जान थालेका छन् । त्यसैले अब कनै न कुनै तरिकाले फिजिकल स्टिमुलस आउनु पर्छ ।’ उनले भने । त्यसले डिमाण्ड बढाउने, रोजगारी सृजना गर्ने तथा राजश्व पनि बढ्ने वातावरण सृजना गर्ने वरिष्ठ उपाध्यक्ष गोल्छाको भनाइ छ । संक्रमण तत्कालै रोकिने अवस्था नभएको तथा अहिलेसम्म नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा जारी रहेकाले आर्थिक गतिविधि ठप्प भएको उनले बताए । यसरी नै लामो समयसम्म जान नसकिने भएकाले उद्योग व्यवसायलाई बचाउन नितान्त जरुरी रहेको गोल्छाको भनाइ छ । उद्योग बाँच्न व्यवसायलाई बचाउन उत्तिकै जरुरी भएकाले यसतर्फ सरकारले विशेष ध्यान पुर्याउनु पर्ने उनले बताए ।

त्यसैगरी, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले कोरोनाको संक्रमण अझै पनि केही समय रहने भएकाले उद्योग व्यवसायलाई पूर्णरुपमा बन्द गर्न नहुने बताए । छिमेकी मुलुक भारतमा समेत संक्रमित बढिरहेका अवस्थामा पनि उद्योग व्यवसाय खुल्ला गरेकाले नेपालको पनि उद्योग व्यवसाय खुल्ला राख्नु पर्ने उनको धारणा छ । उद्योग व्यवसाय बन्द गर्दैमा कोरोना नियन्त्रणका नआउने भएकाले कोरोनासँगै अगाडि बढ्नुको विकल्प नभएको पूर्वअध्यक्ष मुरारकाको भनाइ छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले उद्योग क्षेत्रलाई केही मात्रामा राहत दिएको भए पनि आगामी दिनमा उद्योग बचाई राख्न थप सहयोग आवश्यक पर्ने र त्यसका विषयमा सरकारसँग छलफल गरिरहेको उनको भनाइ छ ।

महासंघका उपाध्यक्ष किशोर प्रधानले उद्योग व्यवसाय चल्नै नसक्ने अवस्थामा पुगेकाले सरकारले थप राहत नदिए उद्योग व्यवसाय संकटग्रस्त बन्ने बताए । उनले यसअघि बजेट र मौद्रिक नीतिमार्फत ल्याइएका प्याकेजहरुले अब उद्योग क्षेत्र चल्न नसक्ने बताएका छन् । ‘राष्ट्र बैंकले मौद्रिक नीतिमा रिभाइबल प्याकेज ल्याउने कोसिस गरेको थियो, त्यो प्याकेजले अबका दिनमा काम नहुने भो ।’ उपाध्यक्ष प्रधानले भने । अब उद्योग क्षेत्रलाई रिभाइबल गर्न स्पेशल प्याकेजको आवश्यकता पर्ने उनले बताए । यदि उद्योग व्यवसायलाई पुनर्जीवन दिन सकिएन भने मानिस भोगले मर्ने अवस्था हुने उपाध्यक्ष प्रधानको भनाइ छ । जसले गर्दा चोरी डकैती तथा हत्या हिंसा लगायतका आपराधिक गतिविधीहरु पनि बढ्ने उनले बताए ।

त्यसैगरी, उद्योगी उमेशलाल श्रेष्ठले कोरोना भाइरसको संक्रमणका कारण अत्यावश्यक मानिएको औषधी व्यवसाय पनि धरापमा परेका बेला अरु उद्योगहरु चल्ने कल्पना पनि गर्न नसकिने बताए । उद्योग क्षेत्र पूर्णरुपमा प्रभावित भएकाले सरकारले उद्योगलाई क्षतिको आधारमा वर्गिकरण गरेर राहत दिनु पर्ने बताएका छन् । ‘क्षतिका आधारमा उद्योगलाई वर्गिकरण गरेर विशेष आर्थिक प्याकेज ल्याउनु पर्छ ।’ उनले भने । सरकारको विगत तीन वर्षका बजेटले कुनै प्रगति गर्न नसकेको भन्दै अब आर्थिक नीति नै परिवर्तन गर्नु पर्ने उद्योगी श्रेष्ठको भनाइ छ ।

त्यसैगरी, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योग व्यवसाय सखापै हुने अवस्था आउँदा पनि सरकारले वास्ता नगरेकोप्रति आक्रोश पोखे । ‘उद्योग क्षेत्रको यस्तो अवस्था हुँदा पनि सरकारलाई वास्ता छैन ।’ अध्यक्ष श्रेष्ठले भने । उद्योग बचाउन उद्योगी तथा व्यवसायीले प्रयास गर्दा थाकेको उनले बताए ।

कोरोना भाइरस संक्रमणका कारण गत चैत्रदेखि सम्पूर्ण उद्योग व्यवसाय, पर्यटन, रेमिट्यान्स, बैंकिङ, लगानी, आपूर्ति लगायतका विभिन्न क्षेत्र प्रभावित भएका छन् । यस्तो अवस्थामा अर्थतन्त्र प्रभावित भएकाले चलायमान बनाइ राख्न सरकारले ध्यान दिनु पर्ने नीजि क्षेत्रको सुझाव छ ।

Logo