महानगर सक्रिय हुँदाको परिणाम

महानगर सक्रिय हुँदाको परिणाम

केन्द्रबिन्दु
0
Shares

स्थानीय समस्या र आवश्यकताको विषयमा जानकारी, नागरिकको पहुँच, जनतासँग प्रत्यक्ष सम्पर्क हुने भनेकै स्थानीय तह हो । त्यसैले स्थानीय सरकारलाई नागरिकको सुख, दुःखको साथी भनिन्छ । स्थानीय सरकारका योजना र कार्यक्रमले प्रत्यक्ष रूपमा जनता लाभान्वित हुने भएकाले स्थानीय सरकारको नेतृत्व दूरदृष्टि, रचनात्मक भयो भने जनताले नसोचेको समयमा लाभ लिन सक्छन् । विराटनगर महानगरको निर्वाचित जनप्रतिनिधिको दूरदृष्टि र रचनात्मक कार्यले नसोचेका तर दीर्घकालीन महत्त्वका तपसिलमा उल्लेखित केही उल्लेखनीय काम भएका छन् ।।

विराट राजाको दरबार

विराटनगर महानगरपालिकामा वडा नम्बर १८ भेडियारीमा रहेको महाभारतकालीन विराट राजाको दरबार थियो भन्ने किंवदन्ती बाहेक दरबार भएको पुष्टि गर्ने ठोस आधार थिएन । स्थानीय कमलकिशोर यादवले संरक्षण गरेका विराट राजाको समयका केही माटाका सामग्री मात्र थिए । यादवले बाहेक दरबारको संरक्षण र प्रचारमा अन्यले चासो समेत देखाएका थिएनन् । पुरातत्त्व विभागका अधिकृत तारानाथ मिश्रको नेतृत्वमा आएको टोलीले २०२६ सालमा सो क्षेत्रको उत्खनन गरेको थियो । मिश्र सहित प्रकाश दर्नाल, उद्धव आचार्य, सालिकराम कट्टेल, सन्दीप खनालको टोलीले उत्खनन गरे पनि उत्खननलाई तार्किक निष्कर्षमा पुर्‍याउने काम नहुँदा दरबार क्षेत्रको जमिन समेत अतिक्रमणमा पर्‍यो । 

२०७४ मा भएको स्थानीय तहको निर्वाचन पछि विराटनगर महानगरपालिकाको नेतृत्वमा आएका जनप्रतिनिधिले विराट राजाको दरबार उत्खनन, संरक्षण, संवर्द्धन र विकासमा चासो देखायो । महानगरको अथक प्रयासपछि पुरातत्त्व विभागको टोलीले २०७८ साल पुस २६ गतेदेखि माघ १० गतेसम्म उक्त क्षेत्रमा उत्खनन गर्‍यो । 

पुरातत्त्व अधिकृत भास्कर ज्ञवालीको नेतृत्वमा आएको पाँच सदस्यीय विशेषज्ञ टोलीले गरेको अन्वेषणमा ईश पूर्व दोस्रो शताब्दीमा निर्माण भएको संरचना भेटियो । उत्खननका क्रममा दरबार भनिएको स्थानमा ऐतिहासिक मन्दिरको भग्नावशेष भेटिएको छ भने त्यस समयमा प्रयोग हुने ३४ सेन्टिमिटर लम्बाई, २५ सेन्टिमिटर चौडाइ र पाँच सेन्टिमिटर मोटाई भएको इँटा भेटिएको छ । झापाको कीचकबद्ध र यहाँको भग्नावशेषको अध्ययन गर्दा दुवै एउटै समयको भग्नावशेष पाइएको पुरातत्त्व अधिकृत ज्ञवालीले जानकारी दिए । विराट राजाको दरबार क्षेत्रमा कीचकबद्ध पोखरी सहित दरबार र मन्दिरको भग्नावशेष भेटिएको अधिकृत ज्ञवालीले बताए ।  

पुरातत्त्व विभागले गरेको उत्खननमा, ईश पूर्व दोस्रो शताब्दीको पुरातत्त्व महत्त्वको ऐतिहासिक प्राचीन सहरको भग्नावशेष भएको पत्ता लागे पछि महानगरले सो क्षेत्रलाई संरक्षित क्षेत्र बनाई पर्यटन प्रवर्द्धन गर्ने योजना बनाएको छ । प्राचीन महाभारत, शिव पुराण जस्ता धार्मिक ग्रन्थमा उल्लेख भएको, पाँच पाण्डव र द्रौपदी समेतले गुप्त वास बसेको सो ठाउँमा भगवान् श्रीकृष्ण पाण्डवलाई भेट्न आएको जस्ता ऐतिहासिक सन्दर्भका कारण विराटनगर महानगरपालिका यो क्षेत्रको विकास र विस्तारमा जुटेको छ । उक्त प्राचिन सहरको फैलावटका विषयमा पुरातत्त्व अधिकारीहरूको टोलीले निकालेको निष्कर्षका आधारमा महानगरले सो क्षेत्रलाई “विराट राजाग्राम” बनाउने भएको हो । सोका लागि एक सय ३९ बिघा जग्गा र १० अरब रुपैयाँ आवश्यक पर्ने महानगरले जनाएको छ । महानगरको दिगो विकास योजनामा परेको यो योजना सम्पन्न भएपछि यो क्षेत्रको विकास हुनुको साथै रोजगारी वृद्धि र आय आर्जनमा वृद्धि भई यो क्षेत्रका नागरिकले गुणस्तरीय जीवन यापन गर्न सक्ने महानगरले जनाएको छ । 

हिमालय रोडको सौन्दर्यीकरण

विराटनगर महानगरपालिका भित्र फुर्सदमा घुमफिर गर्ने, साँझ/बिहान साथी भाइसँग भेटघाट तथा जमघट गर्ने, केही क्षण सुस्ताउँदै थकाई मार्ने ठाउँको अभाव थियो । यसैलाई दृष्टिगत गरी विराटनगर महानगरको नेतृत्वले महेन्द्र चोक पूर्व तर्फको हिमालय रोडलाई सौन्दर्यीकरण गर्ने योजना ल्याएको हो । एक सय ३९ मिटर लम्बाई र ११ दशमलव छ मिटर चौडाइको सो सडकलाई सौन्दर्यीकरण गरी पर्यटन प्रवर्द्धन गर्ने महानगरको योजना छ । 

एक करोड ८३ लाख रुपैयाँ लागत अनुमान गरिएको सो सौन्दर्यीकरण योजनाको काम कला बिल्डर्स विराटनगरले एक करोड ६१ लाख रुपैयाँमा ठेक्का लिएर गरिरहेको छ । निर्माणको अन्तिम चरणमा रहेको यो योजनामा महानगरले पानीको फोहोरा, राजनीतिक कार्यक्रम गर्न खुल्ला मञ्च, नाटक देखाउने डबली, बगैँचा, विद्युतीय सजावट लगायतका संरचना बनाउँदैछ । दक्षिण तर्फको छेउबाट एकतर्फी रूपमा सवारी साधनको वारपार गर्न मिल्ने ठाउँ छाड्ने भएकाले आवागमनमा कठिनाई नहुने महानगरले जनाएको छ । 

तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम

विराटनगर महानगरपालिका वडा नम्बर चारमा तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम सञ्चालनमा आएको छ। रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको स्मृतिमा निर्माण गरिएको  सञ्चारग्रामसँगै विराटनगर महानगर एफएम समेत सञ्चालनमा आएको छ । महानगर नेतृत्वको लामो पहल र प्रयत्नपछि प्रदेश एकको राजधानी विराटनगरमा तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम र महानगर एफएम सञ्चालनमा आएको हो । 

विराटनगर महानगरपालिकाले उपलब्ध गराएको छ कट्ठा १८ धुर जग्गामा रेडियो नेपालले २० करोड रुपैयाँको लगानीमा आधुनिक भवन निर्माण गरी सञ्चारग्राम र एफएम रेडियो सञ्चालनमा ल्याएको हो । पत्रकारको क्षमता अभिवृद्धि गर्ने, पूर्व क्षेत्रको काला संस्कृतिको संरक्षण र सम्बद्ध गर्ने, सञ्चार सम्बद्ध विभिन्न काम गर्नुका साथै व्यवस्थित सूचना केन्द्रको रूपमा प्रयोग गर्न योग्य संस्थाको रूपमा सञ्चारग्रामलाई विकास गरिनेछ । सञ्चारग्रामबाट रेडियो नेपालका अलावा अन्य सञ्चार माध्यमका पत्रकार तथा सञ्चारकर्मीले समेत लाभ लिन सक्नेछन् । 

बसपार्क 

अलिकति पानी पर्‍यो कि विराटनगरको बसपार्क जलमग्न र हिलाम्मे हुन्थ्यो । हिलाम्मे बसपार्क भएका कारण यात्रुलाई बसमा चढ्न र उत्रन साह्रै सकस थियो भने यात्रुको सामान हिलो र पानीले नष्ट गर्ने गरेको थियो । हल्का पानी पर्दा पनि खुट्टा टेक्न नसकिने विराटनगरको बसपार्कमा अहिले सुविधा सम्पन्न भएको छ । 

डेढ बिघा क्षेत्रफलमा निर्माण गरिएको सो बसपार्क अत्याधुनिक र सुविधा सम्पन्न छ । सो बस टर्मिनलमा एक पटकमा साना ठुला गरी ५० देखि ५४ वटा सम्म बस रोक्न सकिन्छ । नगर विकास कोषको आठ करोड ७४ लाख रुपैयाँ ऋण सहयोगमा विराटनगर महानगरपालिकाले सो बस टर्मिनल निर्माण गरेको हो । सो बस टर्मिनलमा व्यवस्थित टिकट काउन्टर, यात्रु प्रतीक्षालय, रेस्टुरेन्ट, झोला राख्ने कोठा, सार्वजनिक शौचालय छन् । पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतीक्षालय र पसल छन् भने दोस्रो तलामा रेस्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष रहेको छ । बस टर्मिनल सञ्चालनमा आएसँगै वर्षामा पानी जमेर हिलाम्मे हुने र सुख्खा याममा धुलोको समस्या भोग्दै आएका यातायात व्यवसायी/मजदुर/कर्मचारी, यात्रु र स्थानीयवासीले राहतको सास फेरेका छन् । 

एकीकृत मुसहर बस्ती

विराटनगर महानगरपालिका वडा नम्बर १९ स्थित सिङ्घीया नदी किनारमा भूमिहीन मुसहर (ऋषिदेव) बस्ती थियो । हरेक वर्षामा डुबान र बाढीको उनीहरूलाई चिन्ता हुन्थ्यो । नदी किनारको कच्ची घरमा बस्नुपर्दा उनीहरूको जीवन कष्टकर त थियो । महानगरपालिकाले विपन्न मुसहर बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने उद्देश्यले विराटनगर महानगरपालिका वडा नम्बर १९ धरमपुरामा ३२ परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ । 

‘महानगर आवास’ योजनाअन्तर्गत विपन्न मुसहर समुदायको लागि यो बस्ती निर्माण भएको हो । नयाँ घरमा सरेपछि सिंघियाको बाढीले उठिबास लगाउने हो कि भन्ने चिन्ता उनीहरूबाट हटेको छ । आफ्ना छोराछोरी डुबान, बाढी र हिलोमा डुब्लान् भन्ने पिर उनीहरूबाट हटेको छ ।खोला किनारको झुप्रोबाट कहिल्यै पार नपाइएला कि भन्ने चिन्तामा रहेका उनीहरू दुई कोठा, एक भान्छा र एक शौचालय सहितको आधुनिक घर पाएपछि खुसी भएका छन् । 

एक बिगाहा जग्गामा निर्माण गरिएको बस्ती विकासमा महानगरपालिकासँग हेबट्याट्स फर ह्युम्यानिटी, जीवन विकास र सहारा नेपालले साझेदारी गरेका छन् । बस्तीमा सामुदायिक भवन र खानेपानीको नयाँ परियोजना सुरु गर्ने योजना रहेको महानगरले जनाएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर १२ र अन्य वडाहरूमा पनि महानगरले क्रमशः यस्तै आवास योजना अघि बढाउने जनाएको छ । 

मानव सेवा आश्रम

कुनै समय विराटनगरका सडकमा मानसिक सन्तुलन गुमाएका, अशक्त र बेवारिसे मानिसहरू छ्यापछ्याप्ती देखिन्थे । त्यस्ता बेवारिसे मानिसहरूलाई मानव सेवा आश्रमले लगेर आश्रममा राखी उनीहरूको उपचारका साथै अन्य सेवा गर्न थालेपछि अहिले त्यस्ता मानिस सडकमा देखिन छाडेका छन् ।

मानव सेवाको पवित्र उद्देश्य लिएर विराटनगर महानगरपालिका वडा नम्बर १० र तीनमा सञ्चालित मानव सेवा आश्रमको घर भाडा महानगरले तिर्दै आएको छ । आश्रमले शिशुदेखि बृद्धबृद्धासम्मलाई आश्रय दिँदै आएको छ ।

शहीद मैदानमा फ्लड लाइट

विराटनगर महानगरपालिकाको पहलमा शहीद मैदानमा फ्लड लाइट जडान भएको छ । फ्लड लाइट जडान पछि शहीद मैदानमा रातिको समयमा पनि खेल खेलाउन सहज भएको छ । महानगर नेतृत्वको अथक प्रयासपछि प्रदेश एकको सामाजिक विकास मन्त्रालयले चार करोड २९ लाख रुपैयाँको बजेटमा शहीद मैदानमा फ्लड लाइट निर्माण गरेको हो । दिउँसो कार्यालय, व्यापार, व्यवसाय जस्ता कामका कारण महत्त्वपूर्ण खेल पनि विराटनगरवासीले हेर्न पाउँदैन थिए । फ्लड लाइट जडान भएपछि विराट गोल्ड कप लगायतका महत्त्वपूर्ण खेल राती हुन थालेका छन् । रातीको समयमा खेल खेलाइँदा कामकाजी मानिसले समेत खेलको आनन्द लिन थालेका छन् ।  

एडिबी प्रोजेक्ट

हल्का पानी पर्‍यो कि विराटनगर डुबानमा पर्थ्यो । डुबानका कारण नगरवासीले सास्ती व्यहोर्दै आएको थियो । महानगरपालिकाले  विराटनगरको डुबानको समस्या समाधान गर्न एसियाली विकास बैंकको ऋण सहयोगमा काम सम्पन्न गरेको छ । ढल र नालाको व्यवस्थित निर्माणबाट विराटनगरको डुबानको समस्या समाधान हुने निष्कर्षका साथ विराटनगर महानगरपालिकाले मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजना सुरु गर्‍यो । दुई अरब ९५ करोड ६२ लाख रुपैयाँ भन्दा रकम खर्चिएर यो परियोजनाले सडक छेउमा ३६ किलोमिटर नाला निर्माण गर्नुका साथै साढे ४३ किलोमिटर ढल निर्माण गर्‍यो । यो परियोजनाले वडा नम्बर सात, नौ र १० को सबै ठाउँमा ढलको बिस्तार गर्नुका साथै वडा नम्बर दुई, आठ, पाँच, छ, ११ र १२ को घना बस्तीको भएको क्षेत्रमा ढल निर्माण गरेको छ । 

परियोजनाले विराटनगरको जितुवामा १३ बिघा जमिनमा ढलबाट आएको फोहोर पानी प्रशोधन केन्द्र निर्माण गर्नुका साथै विराटनगरको साढे तीन किलोमिटर सडक कालोपत्रे गरेको छ । त्यस्तै, परियोजनाले ४१ किलोमिटर सडक ग्राभेल गरेको छ । 

मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाले सम्पन्न गर्न नसकेको ढल, नाला, सडक र फोहोर पानी प्रशोधन केन्द्रको काम क्षेत्रीय सहरी विकास परियोजनाले सम्पन्न गरेको छ । मझौला सहर एकीकृत सहरी वातावरणीय परियोजनाले गर्न बाँकी रहेको कार्य क्षेत्रीय सहरी विकास परियोजनाले सम्पन्न गरेको छ । परियोजनाले ४१ किलोमिटर सडक कालोपत्रे गर्नुका साथै गरिब बस्तीमा रहेका ३५ वटा सडक अन्तर्गत साढे बाह्र किलोमिटर सडक ग्राभेल गरेको छ । परियोजनाले करिब ६५ किलोमिटर ढल तथा ६५ किलोमिटर नाला निर्माण सम्पन्न भएको छ ।परियोजना सम्पन्न भएपछि विराटनगरको नाला, ढल र डुबानको समस्या समाधान भएको छ । विराटनगरको मुख्य सहरी क्षेत्रका छ हजार घर परिवार ढलको सञ्जालमा जोडिएका छन् । विराटनगरबाट उत्सर्जन हुने ढल तथा नालाको पानीलाई प्रशोधन गरेर शुद्ध बनाउन थालिएको छ । यो परियोजनाले विराटनगरमा अपाङ्गमैत्री, लैङ्गीकमैत्री छ ओटा आधुनिक सार्वजनिक शौचालय निर्माण गरेको छ भने एउटा एक ठाउँबाट अर्को ठाउँमा लैजान मिल्ने मोबाइल शौचालय निर्माण गरेको छ । मोबाइल शौचालयको व्यवस्था भएपछि ठुला ठुला आमसभा तथा धेरै मानिस भेला हुने कार्यक्रममा शौच गर्न हुने समस्याको अन्त्य भएको छ । 

परियोजना सम्पन्न भएसँगै विराटनगरको भौतिक पूर्वाधारमा सुधार हुनुका साथै सहरको वातावरणीय सुधार भएको छ । परियोजनाले स्थानीय सरकारको क्षमता विकास गरेको छ भने स्थानीयले जीवन स्तरमा वृद्धि भएको छ ।

Logo