विश्वकप विजेता फ्रान्स डेनमार्कसँग घरेलु मैदानमै पराजित

विश्वकप विजेता फ्रान्स डेनमार्कसँग घरेलु मैदानमै पराजित

केन्द्रबिन्दु
0
Shares

सन् २०१८ को विश्वकप विजेता फ्रान्स युईएफए नेसन्स लिग फुटबलमा पराजित भएको छ।

पहिले अग्रता लिएको फ्रान्सले उक्त अग्रता जोगाउन नसक्दा डेनमार्कसँग घरेलु मैदानमै पराजय भोग्न बाध्य बन्यो । गएराति भएको खेलमा डेनमार्क २–१ गोलले जित दर्ता गर्न सफल भयो ।

समूह १ मा रहेको फ्रान्स र डेनमार्कले पहिलो हाफ भने गोलरहित बराबरी खेलेका थिए । ५१ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । बेन्जेमाले क्रिस्टोफोर एनकुुकुको पासमा गोल गर्दै अग्रता दिलाए पनि फ्रान्सले त्यो अग्रता टिकाउन भने असफल रह्यो ।

६८ औं मिनेटमा एन्ड्रिएस कोर्निलिअसले गोल गरेपछि डेनमार्कले खेल १–१ को बराबरीमा ल्याएको थियो । ८८ औं मिनेटमा एन्ड्रिएस कोर्निलिअसले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गरेपछि डेनमार्क २-१ गोलको पुनरागमन जीत दर्ता गर्दै स्पष्ट ३ अंक लिन सफल भयो । 

यो नतिजापछि फ्रान्सको २० खेलसम्मको अपराजित यात्रामा पूर्णविराम पनि लागेको छ । सन् २०२० को नोभेम्बर ११ पछि २० खेलमा अपराजित रहेको थियो । यस्तै, अर्को खेलमा विश्वकपको उप विजेता क्रोएशिया पनि पराजित भएको छ । 

क्रोएशिया अष्ट्रियासँग ३–० गोल अन्तरले पराजित भयो । अष्ट्रियाको जीतमा मार्को एर्नाउटोभिक, माइकल ग्रेगोरेट्स र मार्सेल सवित्जरले एक एक गोल गरेका थिए । जीतसँगै समूह १ मा अष्ट्रिय शीर्ष स्थानमा रहेको छ भने डेनमार्क दोस्रो स्थानमा छ। यसैगरी फ्रान्स तेस्रो र क्रोएशिया चौथो स्थानमा छन्।

Logo