पूर्वसूचना नहुँदा ठूलो मानवीय क्षति : बाढीले बगायो बस्ती, १४ को मृत्यु, ३८ बेपत्ता

पूर्वसूचना नहुँदा ठूलो मानवीय क्षति : बाढीले बगायो बस्ती, १४ को मृत्यु, ३८ बेपत्ता

केन्द्रबिन्दु
0
Shares

बागलुङ ।

जिल्लाको ढोरपाटन नगरपालिका–६ अधिकारी चौरमा केही वर्ष अघि भीषण बाढी आयो । खानी चामिदार खोलाको बाढीले क्षणभरमै दर्जनभन्दा बढी घर बगायो तर मानवीय क्षति भएन। कारण थियो, बाढी आउन सक्ने पूर्वसूचना । तर, ढोरपाटन–९ मा बुधबार राति उस्तै प्रकृतिको घटना हुँदा ठूलो जनधनको क्षति भएको छ।

प्रहरीले १४ जनाको शव फेला परेको जनाएको छ । ३८ जना बेपत्ता छन् । बाढीले ३१ घर बगाएको छ। एक सयभन्दा बढी घरमा क्षति पुगेको छ। चार जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। गम्भीर अवस्था रहेका ढोरपाटन–९ का महेन्द्र पुनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याइएको छ।

शव भेटिएका १४ मध्ये १२ जनाको सनाखत हुन सकेको छैन। मृतकमध्ये ३ बालक, १ बालिकासहित ४ पुरुष र ६ महिला छन्। ढोरपाटन–९ की २६ वर्षीया केशमाया विक र ४५ वर्षीय करबहादुर विकको मात्र सनाखत भएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी राजेन्द्र रेग्मीले बताए।

अधिकारी चौर घटनामा पहाड खसेर खोला थुनिएको थियो। त्यहाँ गोठमा बसेका एक स्थानीयले मोबाइलबाट तल तटीय क्षेत्रका गाउँलेलाई फोन गरी सचेत पारेका थिए। स्थानीय घर छाडेर भागेपछि भौतिक क्षति त भयो तर स्थानीयको ज्यान जोगिएको थियो।

बुधबार रातिको घटनामा भने सिकार आरक्षछेउको देउराली पहाड खसेर भुजी खोला थुनिएको थियो । कसैले त्यसको सुइँकोसम्म पाएनन् । खोला एकैचोटि खुल्दा बाढीको रूप लिएको स्थानीय राम सुवेदीले सुनाए । त्यसबेला स्थानीयवासी खाना खाएर सुतिसकेका थिए। त्यसमाथि रातको करिब १२ बजेको थियो।

‘ठूलो जहाजको जस्तो आवाज सुनेपछि तर्सिएर बाहिर निक्लिएँ। बाढी आएजस्तो लागेपछि श्रीमती र बच्चा उठाएर माथितिर भागें’, स्थानीय भकारे कामीले भने, ‘घर भने हेर्दा हेर्दै खोलामा बग्यो।’

सुतिरहेका बेला बाढी आएर घरसँगै बगाउन लागेका बेला आमा (तुलमती पुन) लाई हात समाएर तान्ने क्रममा भेलले बगाएको माया पुनले बताइन् । ‘बाढी आएको थाहा पाएपछि भाग्न खोज्दै थियौं, आमालाई नलिई यत्तिकै भाग्न सकिनँ । हात समाएर बाहिर निक्लिने क्रममा थियौं’, उनले भनिन्, ‘बाढीको झड्काले आमालाई छुटायो, म भने भाग्यवश बाँच्न सफल भएँ।’

अर्का स्थानीय परिचय घर्तीले राति सुतिरहेका बेला एक्कासि बाढी आएर घर भत्किएपछि बल्लतल्ल ज्यान जोगाएको बताए। ‘घर बाढीले भत्कियो। सँगै रहेका दुई साथी कसरी भागेछन् पत्तै भएन। मलाई डुबाउन लागिसकेको थियो’, उनले भने, ‘अब यत्तिकै होला भन्ने सोचेको थिएँ। त्यहीबेला छेउमा बन्दै गरेको पक्की घरको पिलर देखें। त्यहाँ बल्लतल्ल झुन्डिएर करिब आधा घण्टापछि बाढी कम भयो। अनि झरेर अर्को घरतिर भागें।’अन्नपूर्णबाट

Logo