काठमाडौं ।
निषेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानिय र प्रहरीबीच बिहिबार दुई पटकसम्म झडप भएको छ । रातो मच्छिन्द्रनाथ रथ यात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार दिउँसो पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा पहिलो झडप भएको थियो ।
त्यसपछि स्थानियले प्रशासनको निर्देशनलाई अटेर गरी रथ तान्न सुरु गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । स्थानीय तथा गुठीयारहरु भेला भएर रथलाई पुलचोकबाट धमाः फाल्चासम्म तानेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेर हटाएको थियो ।
प्रहरीको हस्तक्षेपपछि आक्रोशित भीड ढुंगा मुडासहित प्रतिकारमा उत्रिएको थियो । प्रहरीले सुरुमा पानीको फोहारा प्रयोगगरि स्थानीयहरु तितरबितर पारेपछि रथलाई प्रहरीको समूहले सुरक्षा दिएको थियो । पछि पानीको फोहोरा हान्दासमेत स्थानियले वेवास्ता गरेपछि लाठीचार्ज समेत गरेको प्रहरीले थियो । कोभिड १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । तर, निषेधाज्ञा तोडेर रथ स्थानियले रथ तान्न थालेपछि झडप भएको महानगरीय प्रहरी परिसर ललितपुरको एसएसपी टेक प्रसाद राईले जानकारी दिए ।
यता, सुरक्षा प्रोटोकल सहित सामाजिक दूरी अपनाएर रथ तान्दा पनि प्रहरीले हस्तक्षेप गरेको र परम्परा रोकिएको भन्दै गुठीयारहरु आक्रोशित भएका छ्न । गुठियारहरूले परम्परा र संस्कृतिलाई नै राजनीतिकरण गरिएको भन्दै यसको विरुद्धमा उत्रिनु परेको बताएका छन् ।
बिहीबारको झडपमा केही संख्यामा सुरक्षाकर्मी, स्थानिय तथा सञ्चारकर्मी घाइते भएका छन् । यसअघि गत साउन १० गते नै मच्छिन्द्रनाथलाई रथारोहण गरिएको भए पनि निषेधाज्ञाका कारण रथ तानिएको थिएन । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लैजानुपर्ने परम्परा छ । सोहीकारण सयौंको संख्यामा स्थानिय भेला भएर रथ तान्न सुरु गरेका थिए ।





























प्रतिक्रिया