अर्थमन्त्री जनार्दन शर्मा र पूर्वका उद्योगी, व्यवसायीबीच आउँदो आर्थिक वर्षको बजेटले पारेको प्रभावका बारेमा छलफल भएको छ । अर्थ मन्त्रालयमा आज शुक्रवार भएको भेटमा उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार सङ्घ र नेपाल उद्योग परिसङ्घको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष २०७९/८० को बजेटले वायर, घिउरतेल र स्यानिटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो राखेका थिए ।
त्यस क्रममा अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर देशभित्रै औद्योगिकीकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताए । ‘बजेटमार्फत हाम्रो उद्देश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन’, उनले भने , ‘हाम्रो नीति त्यस्तो पनि छैन । सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।
महिलालाई राहत हुने गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको भए समाधान निकाल्न तयार रहेको अर्थमन्त्रीले जानकारी गराए । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सिर्जना गर्नेलाई बजेटले सम्बोधन गरेको उनले बताए । बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको प्रष्ट पारे ।
छलफलमा उद्योग सङ्गठन मोरङका अध्यक्ष नबिन रिजालले सरकारी नीति आउँदा आत्मसात् गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । व्यवसायीसँगको छलफलपछि अर्थमन्त्रीले समस्या भएका केही क्षेत्र र विषयका बारेमा सम्बोधन गर्न तयार रहेको बताएको उनको सचिवालयले जनाएको छ ।





























प्रतिक्रिया