‘आफूलाई चाहिने खाद्यान्न आफैँ उत्पादन गर्न सक्नुपर्छ’

‘आफूलाई चाहिने खाद्यान्न आफैँ उत्पादन गर्न सक्नुपर्छ’

केन्द्रबिन्दु
0
Shares

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे देश कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताएकी छन् ।  

सोमवार काठमाण्डौमा आयोजित धानमा आत्मनिर्भर नीति संवाद कार्यक्रममा बोल्दै सभापति सुवेदीले सरकारले कृषिलाई प्राथमिकतामा राखेर कृषिको विकास नगरे देश कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताइन् । उनले  देशलाई कृषिमा आत्मनिर्भर बनाएर विदेशमा निर्यात गर्न नसके पनि आयातलाई प्रतिस्थापन गर्न सक्नुपर्ने बताइन् ।  

नेपाललाई आवश्यक खाद्यान्नको यकिन गरी त्यहीअनुसारको उत्पादन आफैँ गर्न सक्नुपर्ने सभापति सुवेदीको भनाइ छ । उनले नेपालमा चलिरहेको टुक्रे र परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक बनाउनुपर्ने आवश्यकता भएको बताइन् ।  

उनले भनिन् , ‘कृषिलाई प्राथमिकतामा नराखी, कृषिको विकास नगरि हामी कृषिमा आत्मनिर्भर हुन सक्दैनौँ । पहिला हामीले आवश्यक खाद्यान्न उत्पादन गर्न सक्नुपर्छ । त्यसपछि निर्यात गर्ने हो । अहिलेसम्म हाम्रो टुक्रे र परम्परावादी उत्पादन प्रणाली छ । त्यसलाई हामीले आधुनिकीकरण गर्नुपर्छ । जमिनलाई चक्लाबन्दी गरेपछि मात्रै यसलाई व्यवसायीकरण गर्न सकिन्छ । आवश्यक सिँचाइ, उन्नत जातको बिउ र आवश्यक मल दिन सक्यौँ भने नेपालीलाई खान पुग्ने धान उत्पादन गर्न समस्या छैन ।’

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले राष्ट्रिय उत्पादनलाई बढाउनु नै अहिलको आवश्यकता भएको बताए । उनले धानको उत्पादन बढाउनका लागि परम्परागत धानको जात परिर्वतन गरी हाइब्रिड बिउमा जानुपर्ने बताए । सरकारले बर्खे धानभन्दा पनि चैते धानको उत्पादन बढाउनका लागि प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । 

सचिव शर्माले पहाडी क्षेत्रमा खाद्यान्न उत्पादन वृद्धि गर्नका लागि सरकारले बाँझो जमिन र युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने बताए । सरकारले नीति नै बनाएर कृषियोग्य जमिनलाई गैरकृषि प्रयोजन गर्न दिन नहुने धारणा राखे ।  
 

Logo