आफूलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन अभियान थालेका बेला वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले यसको टुंगो पाँचदलीय गठबन्धनले नै गर्ने बताएका छन् ।
मुख्यमन्त्री पाण्डेले ट्वीटरमार्फत गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुने पनि बताएका छन् । ‘वागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरूको निरुपण पाँचदलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुनेछ । गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछन्’, नेकपा एसका उपाध्यक्षसमेत रहेका पाण्डेले लेखेका छन् ।
केन्द्रका नेताहरूको निर्देशनका आधारमा मात्र मुख्यमन्त्री छोड्ने बताएपछि सत्तारूढ दलका सांसदहरूले मुख्यमन्त्री परिवर्तन गर्नका लागि हस्ताक्षर संङकलन गरेका हुन् । प्रदेश सभा आजदेखि अनिश्चितकालका लागि स्थगित भएकाले आजै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलका सांसदहरूले हस्ताक्षर संङकलन गरेका हुन् ।
दलहरूका बीचमा सरकार परिवर्तन नभइ मुख्यमन्त्री परिवर्तनका विषयमा छलफल भएको माओवादी केन्द्रका प्रदेश सभा सदस्य युवराज दुलालले बताए । सत्तारूढ दलहरूका बीचमा आपसी छलफलबाट नै मुख्यमन्त्री परिवर्तन हुने उनले बताए ।
प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारूढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूको हस्ताक्षर सङ्कलन सुरु गरिएको हो । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशनवनिा सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि कांग्रेस र माओवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेको हो ।
सत्तारूढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भन्ने थियो । त्यही समझदारीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बन्नुभएको थियो । आर्थिक वर्ष २०७८/०७९ को बजेट पास भएपछि पूर्वसहमति अनुसार नै नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ सत्तारोहणको तयारीमा छन् ।





























प्रतिक्रिया