फुटपाथमा फोहर थुपार्दै कम्पनी, अनुगमन नगर्दा समस्या आएको स्थानीयवासीको गुनासो

फुटपाथमा फोहर थुपार्दै कम्पनी, अनुगमन नगर्दा समस्या आएको स्थानीयवासीको गुनासो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग फुटपाथमा थुपार्ने गरेको छ । 

काठमाण्डौ महानगरबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको स्वच्छ वातावरण स्वस्थ मानव जीवनु नामक कम्पनीले नै पैदलमार्गमा फोहर थुपारेको हो । गाडाबाट पैदलमार्ग फोहर थुपारिरहेको अवस्थामा भेटिएका  कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहर थुपार्न बाध्य भएको बताए । 

फोहरका कारण काठमाण्डौमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । काठमाण्डौको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् । बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ, त्यस क्षेत्रमा पसल सञ्चालन गर्दै आउनुभएका रामचन्द्र श्रेष्ठ बताउँछन् । 

काठमाण्डौका अन्य भागमा फोहर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहर थुपार्ने गरेको उनले बताए । महानगरपालिकाले फोहर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ । 

महानगरपालिकाले कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना निकाले पनि पुतलीसडक क्षेत्रमा भने दुवै थरी फोहर एकै ठाउँमा राखेर फालेको देखिन्छ । महानगरपालिकाले सूचना निकाले पनि अनुगमन गरेर फोहर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो ।

Logo