चर्चित सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेसँगै नेपालमा दलहरुको संख्या ११३ पुगेको छ ।
लामिछानेले दल घोषणा गरेपछि सामाजिक सञ्जालमा अनेक टिप्पणी, शुभकामना र आलोचना आइरहेका छन् । युवाहरुमाझ चर्चित रवि लामिछानेको क्रेज देशभर सञ्चारकर्मीको रुपमा रहेको छ । सञ्चारकर्मीबाट नेताको रुपमा रुपान्तरित हुँदा उनले उस्तै क्रेज टिकाउन सक्छन् सक्दैनन् समयले बताउला तर लोकप्रिय हुनु र मत पाउनुमा फरक छ । रविलाई यहीनेर चुनौती छन् ।
अहिलेको आवश्यकता भनेको व्यवस्थालाई लिकमा हिंडाउनु हो । लामो समयदेखि पार्टीभित्र वृद्ध र सिमेन्टेड माइन्डसेट भएका अघिल्ला पुस्ताका नेताको सिन्डिकेट कायम छ । पुरातन सामन्ती प्रवृत्तिद्वारा पार्टी सत्ता र राज्य सत्ता कब्जामा लिइएको छ । पुराना पार्टीमा लागेका युवाले अवसर पर्खिंदा–पर्खिंदै वृद्ध हुनुपर्ने अवस्था छ । यो सिन्डिकेट तोड्न ती दलका युवाहरू पनि अक्षम र विवश छन् । तिनले या त राजनीतिक करिअर धरापमा पार्नुपर्ने या त चाप्लुसी गरेर दिएको खानुपर्ने अवस्थामा छ । हाल रवि लामिछानेले सुरु गरेको पार्टी र अन्य स्वतन्त्र अभियानले यो भूमिका खेलेर पार्टीहरूलाई पनि पारदर्शी बन्न, नेताहरूलाई लोकतान्त्रिक संस्कार प्रदर्शन गर्न प्रेरित गर्ने सम्भावना छ । रवि लामिछानेले देशमा विद्यमान राजनीतिको विकल्प मात्र दिन एक थान पार्टी दिने, केही थान नेता थपिदिने मात्र कोसिस गर्ने हुन् कि ? वैकल्पिक राजनीति गर्ने पहिला प्रस्ट हुन जरुरी छ । राजनीतिको विकल्प या विकल्पको राजनीति ? स्पष्ट हुन जरूरी छ ।
रवि लामिछानेले पशुपतिनाथको दर्शन गरेर पार्टी घोषणा गर्दा चन्दन लगाएका थिए । उनले चुनाव चिन्ह पनि घण्टी घोषणा गरे । तर, उनीे नेतृत्वको नेपाल स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त के हो र गन्तव्य के हो सार्वजनिक गरिएको छैन । उनले आफूलाई न त हिन्दूवादी भन्न सके न त राजसंस्थाका पक्षधर नै । न त उनले आफूलाई गणतन्त्रवादी हो भन्न सके । न त धर्मनीरपेक्षको विरोधी हुँ भन्न सके ।लामिछाने अमूर्त तरिकाले राष्ट्रिय सभागृहमा प्रस्तुत हुँदा सर्वसाधारणले पाएको पीडाको कुरा गरे । शासन सत्तामा रहेकाहरुको विरोध गरे । व्यवस्था नभई अवस्था बदल्न आएको भने । यसको अर्थ उनी गणतन्त्र, धर्मनीरपेक्ष र संघीयतासहितको राजनीतिक व्यवस्थालाई स्वीकार्ने गरी आएको स्पष्ट छ । चलिरहेकै दलमध्ये कुनैबाट राजनीति गर्ने चर्चा चलेपनि लामिछानेले अलग्गै पार्टी घोषणा गर्नुमा टेलिभिजन प्रस्तोताका रुपमा आफूले बनाएको ब्राण्डलाई मुख्य आधार बनाएको देखिन्छ । केही गम्भीर प्रश्नहरुमा रवि स्पष्ट छैनन् । जसमा धर्म, संस्कृति, भाषा, लिपि, संघीयता, समावेशिता लगायत । देशभित्र भित्रिएका बाह्य सिद्धान्तलाई टक्कर दिने सिद्धान्तको जगमा उनी उभिनसक्ने सम्भावना पनि कम छ। यी प्रश्नहरुका उत्तर अब खोजिनेछन् । रविलाई यीनको उत्तर दिन सजिलो पनि छैन ।
कुनै पनि राजनीतिक दलको जग सिद्धान्तमा टिकेको हुन्छ । सिद्धान्त र व्यवहारवादको दुई पांग्राबाट राजनीतिक रथ गुड्छ । तर, रवि लामिछाने कुन सिद्धान्तबाट निर्दिष्ट भएर दललाई गुडाउने हुन् ? स्पष्ट छैन । त्यसैले त रवीन्द्र मिश्रले आफूले पार्टी गठन गर्दा त्रुटी भएको स्वीकार्दै रवि लामिछानेलाई त्यही गल्ती नदोहोराउन सुझाव दिए । रवीन्द्र मिश्रले पार्टी गठन त गरे तर उनी कुनै सिद्धान्तको जग बसालेर बढेका थिएनन् । पछि मात्र उनले हिन्दूराष्ट्र को पक्षमा र गणतन्त्रको विरोधमा बहस चलाउन खोजे ।नेपालका मुख्य राजनीतिक दलहरु कुनै न कुनै सिद्धान्तको जगमा उभिएका छन् । नेपाली काँग्रेसले समाजवाद, नेकपा एमालेले जनताको बहुदलीय जनवाद, नेकपा माओवादी केन्द्रले माओवाद, नेकपा एकीकृत समाजवादी पार्टीले जनवादको लक्ष्य लिएर समाजवाद, राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रवादको सिद्धान्तबाट राजा फर्काउने उद्देश्य लिएका छन् । सिद्धान्तको जगमा उभिएका यी दलहरुको देशभर संगठन पनि छन् । त्यसैले उनीहरु टिकेका छन् ।
रवि लामिछानेले गएकासभा गृहबाट आफ्नो संसदीय उम्मेदवारी देशको कुनै पनि संसदीय क्षेत्रबाट हुने सगर्व घोषणासाथ पुराना राजनीतिक पार्टीका नेताहरूमध्ये एकजनालाई आफूले रोक्ने र बाँकी अन्यहरूलाई तपाईंले रोक्नुपर्नेछ भनेर उपस्थित समर्थकहरूसामू जोशिलो भाषण गरे । लामिछानेले सो कार्यक्रमबाट सार्वजनिक गरेका धेरै कुराहरूले युवा, बेरोजगार, वैदेशिक कामदार र लोकतन्त्रमा सिस्टम डेलिभरी चाहने नागरिकहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै दिमाग उद्देलित गर्ने भाषण गरे ।सोही समारोहका विश्लेषण गरेर हेरेका खण्डमा उनले किसानका लागि मल, विद्यार्थीका लागि पुस्तक, बजार भाउको अक्कासिँदो प्रवृत्ति र पेट्रोलियम पदार्थको भाउ घटाउने सन्दर्भमा एक शब्द पनि खर्च गरेनन् । हाल नेपालमा देखापरेको अर्को टड्कारो विषय हो– जलवायु परिवर्तन र प्रदूषण, किसानका समस्या, गरिबको स्वास्थ्य बीमाको समस्या । साथै, भुई तहका मानिससँग जोडिने रणनीति बनाउन आवश्यक छ । माइती घर घेरेर विश्वको राजनीति हेर्ने अनि नक्कल गर्न खोजेर मात्र हुँदैन । जनताका मौलिक मुद्दाको उठान राजनीतिमा मौलिकता आवश्यक बनेको छ ।
अझ उनको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नामकरण नै विवादमा आयो । पार्टी घोषणालगत्तै उनले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिए । रमाइलो कुरा, स्वतन्त्र हुन पाउने नागरिकको संवैधानिक अधिकारमाथि शब्दका पहलमान रविले बन्देज गरिदिएको चर्चा भएको छ । स्वतन्त्र शब्दलाई उनले पार्टी नामका रुपमा प्रयोग गरेर देशैभरिबाट उठ्ने र जित्ने जोसुकै उम्मेदवारहरूको मत उनको पार्टीको पोल्टामा जाने र त्यसले उनलाई समानुपातिक तर्फबाट संसद् छिराउने कुरा पक्का छ ।‘स्वतन्त्र शब्द चयन गर्न सकिन्छ, अहिलेसम्म सो शब्दबाट कुनै राष्ट्रिय पार्टीको नामकरण नगरिएकाले शब्द चयनको संवैधानिक अधिकार रवि र उनी नेतृत्वको दललाई छ । विदेशमा यस्ता प्रयोग पाइएका छन् भन्ने बुद्धिजीवीले पनि तर्क गरेका छन् ।
नेपालमा कुल मतदाताको ७० प्रतिशत मत युवाहरूको छ । त्यही आङ्कडा हेर्दै पुरानाहरूसमेत सामयिक सुधार गर्दै आफ्नो भोटबैँक बचाउने ध्याउन्नमा छन् । केही दिनअघि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विदेशमा रहेका नेपालीहरूलाई भोट दिलाउने व्यवस्था गर्न विद्यमान ऐनमा आवश्यक संशोधन गर्ने सिलसिलामा छलफल गर्न निर्वाचन आयोग पुगे । नेपाली कांग्रेस यतिखेर प्रवासी नेपालीको सहानुभूति बटुल्न आतुर छ । वैकल्पिक राजनीतिको स्पेस देखेरै बाबुराम भट्टराई, रवीन्द्र मिश्र र उज्ज्वल थापाहरूले एक दशकअघि क्रमशः नयाँ शक्ति, साझा र विवेकशील नेपाली पार्टी खोले । विकल्प दिन मुख्य कुरा विचार, व्यवहार र नागरिकलाई सुविधा हुने कार्यक्रम नेपालीले खोजे । यस्तो अवस्थामा उदाउने वैकल्पिक शक्तिहरूको विगत असफल र भविष्य चुनौतीपूर्ण देखियो ।
रवि लामिछानेलाई खिसिटिउरी गर्ने र गरिखाँदैन भनेर हलुका टिप्पणी गर्ने रमिते जमात पनि देखापरेको छ। यो जमातलाई इतिहासले चिन्दैन। यो जमात सदैव रमिता हेर्ने र परिवर्तनमा योगदान गर्न नसक्ने बेथितिलाई स्वीकार गरेर राम्रा मानिसलाई निरुत्साहित गर्ने हो ।हिजो २००७ सालमा कांग्रेसले निरंकुश राणा शासन विरुद्ध क्रान्ति गर्दा मानिस हाँसेकै हुन्। २०४६ मा पञ्चायतविरुद्ध प्रजातन्त्रको आन्दोलनमा पनि हाँसेका हुन् । माओवादीले २०५२ मा विद्रोह सुरु गर्दा पनि हाँसेकै हुन्। हुँदा–हुँदा बालेनले स्वतन्त्र उम्मेदवारी दिंदा पनि हाँसेका हुन्। हर्क साङ्पाङलाई त मिडियाले पनि मतलब नगरेकै हो । परिवर्तनका लागि स्पष्ट अठोट, सही नियत, सही मुद्दा र इमानदार प्रयास भए सफल भइने उदाहरण हेर्न भारतको आप र केजरीवाल नै काफी छन्। एउटा जनताको नोकर नामको कमेडी सो भाइरल भएर त्यसै नाममा पार्टी खोलेर राष्ट्रपति बनेका युक्रेनका राष्ट्रपतिको केस अध्ययन गरिरहन पनि पर्दैन।
चुनावमा उम्मेदवार हुने र जमानत जफत भएपछि चर्चाबाटै सटकदम हुने ‘चाउचाउ उम्मेदवारहरू’ समाजलाई चाहिएकै होइन । यहाँ लोकतन्त्रको आदर्श बचाउँदै सिस्टम डेलिभरीमा न्याय, समानता र सरलताको खोजी गरिएको हो । नेपाली राजनीतिमा उदाउन खोजेका नयाँ रवि र रविजस्ताहरूले कम्तिमा यी कुराहरूको ग्राउन्ड रियालिटीमै पुगेर अध्ययन, चिन्तन, मनन र सफल प्रयोग गर्नुपर्ने हुन्छ नत्र उही नेपाली उखान ‘केटाकेटी आए गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानाश’ भनेझैँ हुन्छ ।





























प्रतिक्रिया