किसानले मल पाउँछन् कि पाउँदैनन् : डिला संग्रौला

किसानले मल पाउँछन् कि पाउँदैनन् : डिला संग्रौला

केन्द्रबिन्दु
0
Shares

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले मल अझै पाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेकी छन् ।  

आज बिहीवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले मानो रोपेर मुरी उमार्ने बेलामा सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको उल्लेख गर्दै आक्रोश व्यक्त गरिन् । उनले  किसानले मल कहिले पाउँछन्  त्यसबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग  गरिन् । 

उनले भनिन, ‘मानो रोपेर मुरी उमार्ने बेला किसानले मल पाएका छैनन् । सरकारको ध्यान अन्यत्र मोडिएजस्तो देखिन्छ । किसानले मल पाउँछन् कि पाउँदैनन् ? पाए भने कहिले पाउँछन् ? सदनलाई जानकारी गराउन सरकारसँग माग गर्दछु ।’सांसद संग्रौलाले बाढी, पहिरो पीडितहरूलाई राहत दिने, उद्धार गर्ने र प्रकोप न्यूनीकरणका सम्बन्धमा सरकारले के गरिरहेको छ भनेर जिज्ञासा समेत गरिन् । 

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद दलबहादुर रानाले तानसेन–बुटवल सडक खण्डमा सुरक्षित रूपमा गाडी चल्ने गरी आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरे । उनले यस सडक खण्डमा जुनसुकै बेला पनि पहिरो जान सक्ने, ढुङ्गा खस्न सक्ने, भाँसिने समस्या रहेको उल्लेख गर्दै त्यस्तो अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण  गराए । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी सांसद दिलकुमारीले जनताका छोराछोरीले नागरिकता कहिले पाउँछन् रु भनी सरकारसँग प्रश्न गरिन् । उनले  नेपालीका सन्तानले नागरिकता नपाउने दूर्भाग्यपूर्ण अवस्था रहेको उल्लेख गर्दै त्यस्तो अवस्थाको अन्त्य नगरे नेपालमा पनि जनताले नेतालाई लखेट्ने दिन आउने चेतावनी दिइन् ।  

Logo