नेकपा माओवादी केन्द्र ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई उपाध्यक्ष बनाएको छ । बिहीवार काठमाडौंमा बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई चयन गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकले १५६ जनाको पोलिटब्यूरो गठन गरेको बताए । उनले १२५ जना सदस्य र वैकल्पिक ३१ जना सदस्यसहितको पोलिटब्यूरो गठन गरेको र ४१ जनाको स्थायी समिति गठन गरेको जानकारी दिए । उनले अहिले स्थायी कमिटीमा १५ जनाको नाम मात्रै राखिएको पनि स्पष्ट पारे ।
उपाध्यक्ष महराले भने, ‘आज केन्द्रिय समितिको बैठक बस्यो, आजको बैठकमा सबैभन्दा पहिले अध्यक्षले राजनीतिक प्रतिवेदनमा जुन छलफल उठेको थियो, त्यसको जवाफ दिनुभयो । संगठन सम्बन्धी तीन कुरा भए । १२५ जनाको पोलिटब्यूरो भयो, वैकल्पिक हुनुहुन्छ । ४१ जनाको स्थायी कमिटी बन्यो । अहिलेलाई १५ जनाको नामावली पेस भएको छ । अहिले २ जना उपाध्यक्ष भएका छन्, नारायणकाजी र कृष्णबहादुर महरा ।’
त्यस्तै पार्टीका नेता गिरिराजमणि पोखरेलले पदाधिकारीको सन्दर्भमा पनि बैठकमा छलफल भएको र अबको केही दिनमा नै पदाधिकारीको टुंगो लाग्ने बताउनु भयो । नेता पोखरेलले केन्द्रिय समितिले पूर्णता पाउन ढिला हुँदा पदाधिकारी र कमिटी सदस्यहरु चयन हुन ढिला भएको बताए ।
उनले भने , ‘अहिले स्थायी समिति ४१ सदस्य हुनेभयो । पोलिट ब्यूरो १२५ र ३१ जना वैकल्पिक गरेर पोलिट ब्यूरो बनेको छ । पदाधिकारीको सन्दर्भमा केही दिनभित्रमा अहिलेका कुरालाई टुंग्याइनेछ । सबै कुरामा गृहकार्य र छलफल भएका छन्, केन्द्रिय समितिले पूर्णता पाउन ढिला भएको थियो प्राप्त भयो । विधानको आधारमा पोलिटब्यूरोहरु निर्माण गर्नुपर्ने काम थियो त्यो सबै सकेर स्वभाविक ढंगले सम्पन्न भयो । सबै छान्ने जिम्मा अध्यक्ष र पहिलेको स्थायी कमिटीका सदस्यहरुलाई अध्यक्षलाई सहयोग गर्न भनिएको छ ।’





























प्रतिक्रिया