सरकारले विलासिताका वस्तुको आयातमा झनै कडाइ गरेको छ ।
विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा विभिन्न १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बन्देज लगाइएका वस्तुमा झनै कडाइ गर्दै त्यसलाई आगामी भदौ १४ सम्म निरन्तरता दिने निर्णय सरकारले गरेको हो ।
यसअघि सरकारले २५० सीसीभन्दा माथिका मोटरसाइकल आयातमा रोक लगाएको थियो । तर साउन १ बाट लागू हुने गरी १५० सीसीभन्दा माथिका मोटरसाइकल आयात गर्न पाइने छैन । यसअघि ६ सय डलरभन्दा माथिका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाइएको थियो । अब भने ३ सय डलर (शुक्रबारको विदेशी विनियमदर अनुसार ३८ हजार ४ सय रुपैयाँ) भन्दा बढी मूल्यका स्मार्टफोन पनि आयात गर्न पाइने छैन ।
आयात पूर्ण प्रतिबन्ध लगाइएका वस्तुहरूमा मदिरा, चुरोट तथा सूर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक) हीरा (औद्योगिक कच्चा पदार्थबाहेक), ३२ इन्चभन्दा माथिका टेलिभिजन सेट, जिप-कार-भ्यान (एम्बुलेन्स र शववाहनबाहेक) लगायत छन् । त्यसैगरी सबै प्रकारका खेलौना, तास, कुरकुरे, कुरमुरे, लेज तथा यस्तै प्रकृतिका अरू उत्पादनको आयातमा लगाइएको प्रतिबन्धलाई पनि निरन्तरता दिइएको छ ।
निर्यात रोक्नुअघि गत आर्थिक वर्ष ०७८-७९ को ११ महिनामा मात्र यी वस्तुको खरिदमा ६५ अर्ब १८ करोड रुपैयाँभन्दा बढी बाहिरिएको भन्सार विभागको तथ्यांक छ । पछिल्लो समय विदेशी मुद्रा निरन्तर घट्दै गएपछि सरकारले यी वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार गत जेठ मसान्तसम्ममा नेपालको कुल विदेशी मुद्रा सञ्चिति ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँमा खुम्चिएको छ ।
जब कि ०७८ असार मसान्तसम्ममा नेपालको विदेशी मुद्रा सञ्चिति करिब १४ खर्ब रुपैयाँ बराबर थियो । गत आर्थिक वर्ष ०७८-७९ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग विदेशी मुद्रा सञ्चिति साढे सात महिनाको वस्तु आयात र ६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने रहेको राष्ट्र बैंकले जनाएको छ ।
मुलुकको भुक्तानी सन्तुलनको अवस्था निरन्तर बिग्रिँदै गएपछि सरकारले गत वैशाख दोस्रो साताबाट यी विभिन्न १० प्रकारका वस्तुको आयातमा पूर्ण रोक लगाउने निर्णय गरेको थियो । तर मदिरा र सुर्तीजन्य पदार्थको चोरी पैठारी भइरहेको स्वयं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्विकार्दै आएको छ ।
सरकारले यी विभिन्न १० वस्तुको आयातमा बन्देज लगाए पनि बढी तस्करी हुने सुपारी, केराउ, मरीच जस्ता वस्तुको आयात भने निर्बाध रूपमा खोलिरहेको छ । सरकारले यस्ता वस्तु औद्योगिक प्रयोजनका लागि मात्रै आयात गर्न अनुमति दिए पनि व्यापारिक प्रयोजनका लागि समेत आइरहेको देखिन्छ ।
भाद्र १४ गतेसम्म जिप, कार र भ्यानहरू आयातमा रोक लगाइएको छ तर एम्बुलेन्स र शववहानहरु भने आयात गर्न पाइने उल्लेख छ । यस्तै १५० सी.सी भन्दा माथिका मोटरसाइकलमा पनि रोक लगाएको छ । सरकारले सबै प्रकारका खेलौनाहरू र खेल्ने तासहरूमा रोक लगाएको छ । साउन १ गतेभन्दा अगाडि बैंकका माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेका १५० सी.सी. सम्मका मोटरसाइकल र ३०० देखि ६०० अमेरिकी डलरसम्म मूल्य भएका मोबाइल सेटको हकमा भने यो व्यवस्था लागु नहुने राजपत्रमा उल्लेख छ ।
सरकारले डलर सञ्चिती कम भएको भन्दै विलासिताका वस्तुहरूमा रोक लगाइरहँदा नेपालबाट तस्करी हुने गरेको सुपारी र मरीचमा भने आयातमा प्रतिबन्ध लगाएको छैन । मन्त्रिपरिषद् बैठकले गत चैत ९ गते राजपत्रमा सूचना प्रकाशित गर्दै अप्रत्यासित रुपमा सुपारी, मरिच र केराउको आयात खुलाउने निर्णय गरेको थियो । नेपालमा मागभन्दा बढी परिणाममा तेस्रो मुलुकबाट सुपारी आयात गरेर ती व्यापारीले भारततिर तस्करी गर्छन् ।
नेपालमा मलेसिया, थाइल्याण्ड, इन्डोनेसिया लगायतका देशबाट सुपारी, मरिच र केराउको आयात हुने गरेको छ । तर ति वस्तुहरुको नेपालमा भन्सार दर सस्तो भएकाले तस्करहरुले नेपालमा चलखेल गरेर भारतमा तस्करी हुने गरेको पाइन्छ । नेपालमा भन्दा भारतमा प्रतिकेजी २ सय रुपैयाँसम्म बढी मूल्य भएका कारण आयातकर्ताले नेपालमा आयात गरेर भारत पठाउने गरेका छन् ।
यसरी सरकारले विदेशी मुद्राको सञ्चिती कम भएको भन्दै विलासिताका वस्तुहरूमा रोक लगाइरहँदा नेपालबाट तस्करी हुने वस्तुहरुको आयातमा रोक लगाउनुपर्ने माग हुने गरेको छ ।





























प्रतिक्रिया