वरिपरी मानिसको बढ्दो चहलपहल । कोही गाडीबाट ओर्लीरहेका हुन्छन् । कोही गाडीलाई रोकेर चढिरहेका हुन्छन् । अनि कोही पुलबाट ओहोरदोहोर गरिरहेका हुन्छन् । अनि त्यही दृष्य नियाल्दै आफ्नो कामलाई निरन्तरता दिएका हुन्छन् गोविन्द नेपाली ।
रामेछाप घर भएका गोविन्द नेपाली १५ वर्ष पहिले काठमाडौँ आए । गाउँमा हुँदा समान्य परिवारमा हुर्कीएका उनी खेतीपाती गरेर जिवन निर्वाह गरिरहेका थिए । त्यहीँ काम गर्दा गर्दै काठमाडौं छिरेका उनले अहिले कर्मथलो नै यहीँ बनाएका छन् । उनी काठमाडौं आएर अरु केही काम नगरी सिधै जडिबुटीमा सिलाउन बसे । छेउमा मेसिन राखेर । अहिले त्यही मेसिन उनलाई खान र बस्न दिने भाँडो भएको छ । उनी विहान उठ्ने वित्तिकै पछाडी पुरानो झोलामा मेसिन बोकेर लाग्छन् जडिबुटी चोकमा । विहानै सिलाउन आउने पनि खासै हुँदैनन् । त्यहाँ वरिपरिका मानिस र बाटो हिड्ने झटपट् कोही आइहाल्छन् कि भन्ने आशा लिएर पनि उनी विहान आउने गर्दछन ।
उनको साथमा अहिले उनका २ छोरा, बुहारी र एक छोरी छन् । छोरी विवाह भैसकेकी । विदाको दिनमा उनकी सानी नातिनी पनि हजुरबुवासँग गफ गर्नका लागि उनले काम गर्ने ठाउँमा दिनभरी बस्छिन् । घाम पानी केही नभनी काम गरिरहेका उनले धेरै दुःख नगरेका पनि होइनन् । गाउँमा हुँदा उनीहरुको जीवन सहज रुपले नै चलिरहेको थियो । तर, दुःख को कुरा उनकी श्रीमती सँधै रक्सी खाएर नसाको तालमा बस्ने भएर पनि उनले घर छाड्न बाध्य भए । भन्छन्, ‘घरमा बस्दा सधै श्रीमती जाँड खाएर मलाई गाली गर्थी । दिनदिनै कराइरहन्थी । अनि कति सहनु भनेर म पनि लागे सहरतिर । कपडा गाउँमा हुँदा पनि सिलाउँथे । बाउबाजेले गर्दै आएको कामलाई नै निरन्तरता दिने सोच बनाएर काठमाडौं आएर यहीँ काम गर्न थालेँ । किनकी मैले जानेको र आफूसँग भएको सिप पनि त यही थियो । अरु काममा भौतारिनु भन्दा बरु यही काम गरौँ जस्तो लाग्यो । त्यसैले यहीँ काम गरेँ । अहिले यहीँ ठाउँमा यहीँ काम गरेको १५ वर्ष भैसक्यो । ’
उनी पहिले जडिबुटीको सिलौटो बनाउने ठाउँमा बस्थे भने ६ महिनायता जडिबुटी पुल नजिकै बस्दै आएका छन् । त्यही नजिकबाट नजिकै सर्नुको पनि कारण छ । उनलार्ई त्यहाँ बस्दा नगर प्रहरीले खेदेको खेदै गरेर बसाई सर्न बाध्य भए । त्यहाँ पनि घरीघरी त पुग्छन् तर सँधै झै उठेर भागिहाल्नु चाहिँ परेको छैन । घाम अथवा पानी आएको बेला छेक्नको लागि छाता लगाएका छन् । त्यति गरेर उनी आफ्नो काममा निरन्तर लागि रहन्छन् । उनी भन्छन्, ‘पहिले पर बस्दा प्रहरीले लखेटेको लखेटै गथ्र्यो । त्यसैले यहाँ म ६ महिना भयो यहाँ सरेको । मानिसले सिलाउनको लागि दैरा सुरुवाल ल्याइदिए भने १ दिनमा नै सकिन्छ सक्छु पनि । १ जोर सिलाइदे वापत ८ सय रुपैयाँ ज्याला लिन्छु । २ जोर नै सक्थे होला तर, बुढो भैसके अब त धेरै टिप्नुपर्छ त्यहीँ भएर सक्दिन एक जोर मात्र सिलाउँछु । दौरा सरुवाल सिलाउँन नल्याए पनि म कहिल्यै खाली बस्नु पर्दैन ।’
उनी १५ वर्षसम्म त्यहाँ बसिरहदा जीन्दगीमा धेरै कुराको अनुभव गरे । सडकमा हिड्ने मानिसदेखि लिएर सवारी चलाउनेसम्मका मानिसलाई नियाल्दै बसिरहन्छन् । अनि कहिले सडकमा मागेर हिड्ने मानिसलाई हेर्छन् अनि सोच्छन् के गर्ने जे गरेर भए पनि बाच्नै पर्यो, त्यही भएर पनि माग्न बसेका होलान् । अनि आफैँ चित्त बुझाउँछन् । उनका २ जना छोरा र ४ छोरी छन् सबैजनाको विवाह भैसक्यो । एउटा छोरो विदेशमा छ भने एउटा गाडी चलाउँछ । उनीहरु कोही गाउँमा बस्दैनन् । आमा एक्लैलाई छोडिदिएका छन् । भन्छन्, ‘गाउँमा उसलाई हामीले एक्लै छाडिदिएका छौँ किनकी आफ्नै वुद्धिले त हो । सँधै रक्सि खाएर आउने केही गर्दा पनि नभएर हामी यहाँ आएर आफ्नै काम गर्न थाल्यौँ । अहिले हामी यहीँ बसेका छौँ । मेरो दिनमा १ हजार देखि १५ सय रुपैयाँसम्म हुन्छ । खाली बस्नु परेको छैन । अलिअलि भए पनि हुन्छ । काम गर्दा गाह्रो त हुन्छ नी खातमा घाउँ हुन्छ । सानो सानो धागो हातले टिप्नुपर्छ । तर गाह्रो भएपनि कमाई राम्रै हुन्छ । ’
उनलाई आफ्नी श्रीमतीको याद आएपनि फेरी त्यहीँ ठाउँमा जान चाहदैनन् । किनकी उनी घरबाट बाहिर निस्किदाको पल एकदम नराम्रो थियो । घरबाट उनी श्रीमतीसँग झगडा गरेर आएका हुन् । त्यो दिन उनका लागि नसम्झिनु नै राम्रौ हुन कुरा बताउँछन् । भन्छन्, ‘ मलाइै अझै पनि उसको माया लाग्छ । तर उसले मेरो मायालाई बुझिन सँधै आफ्नो खुशी गरी । जाँड रक्सि नखा भनेको कहिल्यै मानीन त्यहीँ कारणले मैले घर छाड्न पर्यो सधैका लागि । घर छोडेको दिन सम्झिदा रुन मन लाग्छ तर के गर्नु भाग्यको लेखा न हो । लेखेको मटिदैन भन्छन् । अहिलेसम्म यहाँ आएर मैले पनि विहे गरिन । उसले पनि गरेकी छैन । उ आफ्नै दुनियाँमा रमाएकी होली । म पनि यहाँ आफ्नै दुनियामा रमाएको छु । छोरीकी छोरी (नातिनी) छुट्टी भएको बेला मसँग आउँछे । नत्र त एक्लै बस्छु सँधै । ’
४५ वर्षको उमेरमा काठमाडौं छिरेका उनी अहिले ६० वर्षका भैसके । यो समयसम्म उनले कमाएर छोराछोरी पढाउनुका साथै आफ्नो घर खर्च धानेका छन । विगतको एक मानचित्रका बिच जिवनको उत्तरार्धको यात्रा लम्कीरहेकै छन् ।





























प्रतिक्रिया