‘स्वास्थ्यकर्मीले पाउने सुविधामा विभेद हुँदैन’ : मन्त्री ढकाल

‘स्वास्थ्यकर्मीले पाउने सुविधामा विभेद हुँदैन’ : मन्त्री ढकाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता सुविधाका विषयमा आएका गुनासो सम्बोधन गरिने बताएका छन्।

कोरोना रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउने विषयमा आज विभिन्न संस्थाका प्रतिनिधिसँग मन्त्रालयमा छलफल गर्दै उनले भने, “कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद गरिने छैन ।”

मन्त्री ढकालले काम गर्ने क्रममा केही कमजोरी भएका भए त्यसलाई सुधार गरेर अघि बढ्न सकिने बताउँदै कतिपय अवस्थामा बनिसकेको कार्यविधि वा निर्देशिकामा पनि त्रुटि रहेको र त्यस्ता विषय सच्याइने जनाए । उनले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउन आफ्नो ठाउँबाट योगदान गर्नु पर्ने बताउँदै यस अघि नै मन्त्रिपरिषद्ले जोखिमको अवस्था हेरी एक सय प्रतिशत, पचहत्तर प्रतिशत र पचास प्रतिशत भत्ता तथा २५ लाख रुपैयाँको बीमाको व्यवस्था गरिसकेको जानकारी दिए।

मन्त्री ढकालले आज नेपाल चिकित्सक सङ्घ, नेपाल स्काउट, उच्च मावि सङ्घ (हिसान), नर्सिङ एसोसिएसन, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, स्वास्थ्य प्राविधिक सङ्घ, स्वास्थ्य प्रयोगशालाकर्मी सङ्घ लगायत संस्थाका प्रतिनिधिसँग छलफल गरेका थिए ।

छलफलमा चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भयो भने महामारी विरुद्धको लडाइँ कठिन हुने बताए । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव एवं (हिसान) का अध्यक्ष रमेश सिलवालले सरकारको अभियानमा आवश्यक सहयोग गरिने बताए।रासस

Logo