नागरिकता संशोधन विधेयकले परिवर्तन गरेका नौं बुँदा (भिडियोसहित)

नागरिकता संशोधन विधेयकले परिवर्तन गरेका नौं बुँदा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाले शुक्रबार नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक पारित गरेको छ ।

अब राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुग्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यसले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्दै कार्यान्वयनमा आउने छ । नयाँ विधेयकमा नेपाल नागरिकता ऐन २०६३ कै केही प्रावधानमा संशोधन गरिएको छ । प्रतिनिधि सभाबाट विधेयकमा नेपाली नागरिकसँग विदेशी महिलाले विवाह गरेमा नागरिकता पाउने पुरानै व्यवस्थालाई यथावत् राखेको छ ।

नयाँ विधेयक आएसँगै कानुनको अभावमा नागरिकताबाट वञ्चित करिब पाँच लाख नागरिकले नागरिकता लिने बाटो खुल्नेछ । नागरिकता विधेयक पारित भएसँगै नेपाल नागरिकता ऐनमा अब मुख्यतया ९ वटा परिवर्तन आउने छ । पहिलो, जन्मसिद्धका सन्तानले नागरिकता पाउनेछन । विधेयकले जन्मको आधारमा नागरिकता पाएका (जन्मसिद्ध नागरिक) हरूका सन्तानलाई नागरिकता प्राप्त गर्न बाटो खोल्ने व्यवस्था गरेको छ ।

२०४६ सालको चैत मसान्तभित्र नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिलाई यसअघि जन्मको आधारमा नागरिकता दिइएको थियो ।
नेपालमा झन्डै १ लाख ७० हजारले जन्मसिद्ध नागरिकता पाएका छन् । जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था अहिलेको संविधानमा छ । तर कानुन नभएकाले जन्मसिद्धका सन्तानले नागरिकता पाएका छैनन् । लामो समयसम्म नागरिकतासम्बन्धी कानुन संसदबाट पारित नहुँदा राज्यको सुविधाबाट उनीहरु बन्चित हुँदै आएका थिए ।

नागरिकता नभएकै कारण बैंकमा खाता खोल्न, उच्च शिक्षा हासिल गर्न, रोजगारी गर्न नपाएकाहरुको समस्या अब समाधान हुनेछ । दोस्रो, आमाको नामबाट मात्र पनि नागरिकता पाइने छ । यद्यपि यसरी नागरिकता पाउन चार वटा शर्त भने विधेयकले उल्लेख गरिएको छ । नेपाली नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट वंशजको नागरिकता पाउने छ ।

नेपालको नागरिकता सम्बन्धी ऐन २०६३ ले कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक भएको अवस्थामा वंशजको नागरिकता प्राप्त गर्न व्यवस्था गरेको थियो । तर यो व्यवस्था सरकारले कार्यान्वयन गरेको थिएन । यसपालिको संविधानले भने आमाको नामबाट मात्र नागरिकता पाउन बावुको पहिचान नभएको हुनुपर्ने व्यवस्था गर्‍यो । उक्त व्यवस्था कार्यान्वयन गर्न यो विधेयकले बावुको पहिचान हुन नसकेको घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तो स्वघोषणा गरी वंशजको नागरिकता लिएका व्यक्तिको बाबु विदेशी ठहरिएमा भने नागरिकता खिचिनेछ । त्यस्तो व्यक्तिलाई सकारले वंशजको साटो अंगीकृत नागरिकता दिनेछ। किनभने नेपाली महिला नागरिकले विदेशी पतिबाट जन्माएका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था संविधानले गरेको छ । विधेयकले पनि संविधानको यो व्यवस्था कार्यान्वयन गर्ने व्यवस्था गरेको हो। विदेशी पतिबाट नेपाली आमाले जन्माएका सन्तानले अंगीकृत नागरिकता पाउन पनि नेपालमै बसोबास गर्नुपर्ने र बावुको देशको नागरिकता नलिएको हुनुपर्ने छ ।

विदेशी नागरिक र नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नागरिकता प्राप्त गर्दा उसको बुवा र आमा दुबैले नेपाली नागरिकता लिएको अवस्थामा भने वंशजको आधारमा नागरिकता दिने व्यवस्था छ। तेस्रो, विधेयकले पहिलोपटक गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ । विदेशमा रहेका कुनै पनि नेपालीका बावु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय  नागरिकता प्राप्त गर्नेछन् ।

तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरूले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।  नागरिकता विधेयकले गैरआवासीय नेपाली नागरिकता लिन चाहने कागजात र पालना गर्नुपर्ने शर्तहरु तोकेको छ । 

(क) निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण 

(ख) सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण

(ग) विदेशी मुलुकको नागरिकता नभएको प्रमाण

(घ) दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र सार्क बाहेकको देशमा बसोबास गरेको प्रमाण

(ङ) नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धतापत्र

(च) झुटो विवरण दिई गैर आवासीय नेपाली नागरिकता लिएमा, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हित विपरीत कार्य गरेको ठहरेमा त्यस्तो नागरिकता रद्द हुनेछ ।

चौथो, प्रतिनिधि सभाबाट स्वीकार गरेको संशोधनले अब नागरिकता प्राप्त गर्न चाहने व्यक्तिले आमा वा बाबुको थर र ठेगाना रोज्न पाउने भएका छन्।
पाँचौ, सरकारले ल्याएको नागरिकता ऐनको संशोधन विधेयकमा लैंगिक पहिचानको विषय उल्लेख थिएन। तर गृहमन्त्री बालकृष्ण खाणले सरकारको तर्फबाट लैंगिक पहिचान भएको व्यक्तिले रोजेर राख्न पाउने संशोधन स्वीकार गरेका छन्।

छैठौं, नागरिकता दिँदा अब सरकारले बावु र आमा दुबैको विवरण अभिलेखमा राख्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले दुबैको विवरण राख्ने संशोधन स्वीकार गरेका हुन् । अहिलेसम्म बावु वा बाजेको विवरणको आधारमा नागरिकता प्रदान हुने गरेको थियो । योसँगै अब आमाको विवरण पनि नागरिकता प्रदान गर्दा अभिलेखमा राखिने भएको छ ।

सातौं, विधेयकले विदेशी नागरिक पुरुषसँग विवाह गरी नेपाली नागरिक महिलाबाट विदेशमा जन्म भएका सन्तानलाई पनि नेपाली नागरिकता दिने व्यवस्था गरेको छ। कतिपय नेपाली महिलाको विदेशमा विवाह भएर श्रीमानसँग छुट्टिएको अवस्थामा नागरिकता पाउन समस्या भएका घटना घटेका थिए ।

आठौं, नेपालमा फेला परेका आमा बाबु ठेगान नभएका व्यक्तिले नागरिकता प्राप्त गर्ने व्यवस्थामा विधेयकले स्पष्टता कायम गरेको छ  । अब मातृत्व र पितृत्व ठेगान भएको अवस्थामा नागरिकता प्राप्त गर्न बालमन्दिर, अनाथालय जस्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सोको आधारमा सम्बन्धित स्थानीय तहले गरेको सिफारिस पेश गर्नुपर्नेछ । यदि कानुनी संरक्षकले हुर्काएको भए संरक्षकले सनाखत गर्नुपर्नेछ। साथै स्थानीय तहको सिफारिस पनि आवश्यक हुनेछ। त्यस्तै अन्य तरिकाले हुर्केको भए सम्बन्धित स्थानीय तहको सिफारिस भए पुग्नेछ ।

नवौं, सरकारले स्वीकार गरेको संशोधनले कुनै व्यक्तिलाई नागरिकता दिलाउन परिवारका सदस्यले कागजात र प्रमाण नदिएको अवस्थामा नागरिकता दिने अधिकारीले परिवारका सदस्यलाई सम्बन्धित कार्यालयमा उपस्थित हुन म्याद जारी गरी झिकाई सनाखत गर्न लगाउने व्यवस्था गरेको छ। यसरी सनाखतका लागि परिवारको सदस्य आउनुपर्नेछ। सनाखत गर्न बावु, आमा, पति, पत्नी, हजुरबुवा, हजुरआमा, दाजु, दिदी, काका, काकी, जेठाजु र देवरलाई झिकाउन सक्नेछ। परिवारले सनाखत नगर्दा बसोबार गर्ने वडामा कम्तीमा दुई जना नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका व्यक्ति र स्थानीय तहका एक जना पदाधिकारीले सनाखत गर्न सक्ने व्यवस्था गरेको छ ।
 

Skip This
Skip This
Logo