महोत्तरीमा विद्युत् चुहावटको गम्भीर समस्या देखिएको छ । पछिल्लो समय खडेरीका कारण सिँचाइको लागी अत्याधिक उपकरण प्रयोग हुनुले पनि चुहावटका घटनामा वृद्धि भइरहेको विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रले जनाएको छ ।
गौशाला वितरण केन्द्रले जिल्लाको गौशाला नगरपालिका, भंगाहा नगरपालिका, औरही नगरपालिका, बर्दिबास नगरपालिका र सोनामा गाउँपालिका हेर्दै आएको छ । गौशाला वितरण केन्द्रका प्रमुख प्रविन कुमार मिश्रका अनुसार सबैभन्दा बढी चुहावट यही क्षेत्रमा भइरहेको छ । विशेषगरी गौशालाको पर्सा, मगरथाना, खेस्राहा, बिजलपुरा, हात्तिलेट जस्ता ठाउँमा ठूलो मात्रामा चोरी हुने गरेको पाइएको छ ।
प्राधिकरणमा चुहावटका अत्यधिक सूचना आउन थालेपछि नेपाल प्रहरीको सहयोगमा अहिले रात्रिकालीन अप्रेसनसमेत सुरुवात गरिएको प्राधिकरणले जानकारी दियो । गौशाला वितरण केन्द्रका अनुसार पछिल्लो १ हप्तामा १५ भन्दा बढी विद्युत् चोरी गरेर सञ्चालन गरिरहेको मेसिन नियन्त्रणमा लिइएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा विद्युत् चुहावटको दर निक्कै उच्च थियो । वितरण केन्द्रका प्रमुख प्रविन कुमार मिश्रका अनुसार अघिल्लो वर्ष ३२ प्रतिशत चुहावट भएको थियो भने यो वर्ष यसलाई घटाएर २८.८५ प्रतिशतमा झारिएको छ ।
विद्युत् आउने, जाने समस्या खेपिरहेका सेवाग्राहीहरू यसबाट छिट्टै मुक्त हुने प्रमुख मिश्रको दाबी छ । एक वर्षदेखि चुहावटका समस्यालाई पहिचान गरी गहिराइमा पुग्ने प्रयास गरिरहेको उनले जानकारी दिए । यो वर्षमात्र विद्युत् चोरी गर्नेलाई लिएको जरिवानास्वरुप २५ लाख राजस्व उठेको छ ।





























प्रतिक्रिया