चन्द्रागिरी हिल्स कम्पनी अब केबलकारमा अड्किएका यात्रुलाई निःशुल्क खाने बस्ने व्यवस्था मिलाउने भएको छ । कम्पनीले सञ्चालन गरेको केबुलकारमा यात्राका क्रममा बीच बाटो अथवा कुनै ठाउँमा अड्किए सकुशल अवतरण गर्न सक्ने व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ ।
कम्पनीले शुक्रवार पत्रकार सम्मेलन गर्दै अबका दिनमा केही कारणले केबलकार बीचमै अड्किए इमेर्जेन्सी ड्राइभबाट उद्धार गर्ने जानकारी दिएको छ । चन्द्रगिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले केबलकारमा युरोपियन प्रविधिको प्रयोग भएको बताउँदै केबलकार धेरै सुरक्षित रहेको बताएका छन् । उनले भने , ‘ जस्तोसुकै टेक्नोलोजीमा पनि कहिलेकाहीँ समस्या आउँछ । तर, यस्ता समस्याको छिट्टै समाधान हुन्छ । यो एउटा युरोपियन प्रविधिको केबुलकार हो । ’
यसका साथै, उनले विद्युत् तुरुन्तै सन्चालन भएमा सहजै उद्दार गर्न सकिने, विद्युत अवरोध भएको खण्डमा जेनेरेटरको प्रयोग गरी उद्धार गरिने र जेनेरेटरमा पनि समस्या आएमा इमेर्जेन्सी ड्राइभद्वारा उद्धार गरिने कुरा बताएका छन् । ‘यदि कुनै पनि बेला केबलकार बीचमै रोकिएमा कम्पनीले तीन तरिकाबाट उद्धार गर्नेछ, पहिलो प्रसारण लाइन, दोस्रो जेनेरेटरको प्रयोग र तेस्रो इमेर्जेन्सी ड्राइभबाट उद्धार गरिनेछ । तर त्यसका लागि समय लाग्नेछ ।’ उनले भने
कम्पनीसँग १ मेघावाट सहितको जेनेरेटरको व्यवस्था छ । तर, समस्याको बेला जेनेरेटरले पनि काम नगरेको अवस्थामा इमर्जेन्सी ड्राइभको सहयोगमा उद्धार हुनेछ । उक्त इमर्जेन्सी ड्राइभबाट यात्रीको सहजै उद्धार हुनेछ । यसका लागि केही समय भने लाग्ने कम्पनीको भनाई रहेको छ । कम्पनीका अनुसार तल स्टेशनमा अवतरण गरिसकेका यात्रीलाई केही समस्या नआउने र माथी गएका यात्रीहरुका लागि पनि निःशुल्क रिसोर्टको व्यवस्था गरिएको छ । तर, माथि पुगी घुमिसके पछि बिच बाटोमा लाइन गएर अथवा केही भएर केबलकार सञ्चालनमा नआएको खण्डमा अन्य विधिबाट यात्रुको उद्धार गरिने छ ।
अध्यक्ष ढकालका अनुसार यात्रुलाई माथि खाजा ल्याउने व्यवस्था नभएपनि लामो समयसम्म केलबकार सञ्चालन हुन नसकेको अवस्थामा कम्पनीले यात्रीहरूका लागि खाने, बस्ने लगायत निःशुल्क सुविधा रहेको छ । यस्तै, कुनै यात्री घुमेर छिट्टै जानुपर्ने अवस्था सिर्जना भएमा कम्पनीको गाडीले तलका स्टेशनसम्म पु¥याउने व्यवस्था समेत गरेको बताएका छन् ।
संसारमा २० हजारको हाराहारीमा केबलकार छन् । नेपालमा पनि विश्वको उत्कृष्ट प्रविधिको प्रयोग गरेर बनेको हुनाले यात्रीलाई समस्या नआउने उनले दाबी गरेका छन् । साथै, कम्पनीले समयमै प्रविधिको समस्याबारे सर्वसाधारणलाई जानकारी दिन नसक्दा समस्या आएको उनको भनाइ छ ।
चन्द्रागिरीका संस्थापक सदस्य अम्बिका पौडेलले विश्वकै उत्कृष्ट प्रविधिको प्रयोगले केबलकार निर्माण भएकाले सुरक्षित रहेको बताए भने कम्पनीका इन्जिनियर सरोज चापागाईंले प्रविधिको समस्याबारे सचेत रहेको बताए । उनले केबलकारमा विभिन्न समस्या आउने भएकाले कम्पनीले सोहीअनुसार सुरक्षित र सहज तरिकाले उद्धार गरिरहेको स्पष्ट पारेका छन् ।
चन्दागिरी हिल्स कम्पनीले आउने दिनहरुमा मेम्बरसीप कार्डको पनि व्यवस्था गर्ने भएको छ । कम्पनीले उक्त मेम्बरसिप कार्डमा जीपलाइन गर्ने, रिसोर्टमा बस्ने, खाने लगायतका अन्य धेरै सुविधा उपलब्ध गराउने जनाएको छ ।





























प्रतिक्रिया