सप्तकोसीले उदयपुरमा कटान थाल्यो, राहत र उद्धारमा जुट्न सरकारको निर्देशन

सप्तकोसीले उदयपुरमा कटान थाल्यो, राहत र उद्धारमा जुट्न सरकारको निर्देशन

केन्द्रबिन्दु
0
Shares

उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ । पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्। 

सप्तकोसीको पानीको बहाबले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेकाले नजिकै रहेका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम गृहमन्त्री खाणको निर्देशनमा सुरु भइसकेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहोराले जानकारी दिए।

गृहमन्त्री खाणले बेलकामा सप्तकोसी कटानबारे परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग पनि छलफल गरेका छन्। कटानबाट प्रभावित हुने बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भएको बताइएको छ। परराष्ट्रमन्त्री डा. खड्काको गृहजिल्ला उदयपुर हो। 

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, प्रदेश १ का नेपाल प्रहरीका प्रमुख नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख उपरीक्षक कृष्ण अधिकारी र सिँचाई विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरेर तत्काल उद्धार, राहत र तत्कालका लागि अस्थायी बासस्थानको व्यवस्था गर्न र त्यसका लागि के के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएका छन्। 

गृहसचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिएका हुन्। कटानले सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचमा प्रभावित बनाएको छ।  

विपद्मा परेकाहरूलाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकाय सबैलाई निर्देशन दिएका हुन्।  

कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने प्रहरीका प्रदेश ज्ञ प्रमुख डिआइजी गिरीले जानकारी दिए। अहिले जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक स्थान र आफन्तकोमा पठाउने काम भइरहेको उनले बताए। 

Skip This
Skip This
Logo