संसदीय समितिले सार्वजनिक सवारीमा यात्रुहरुसँग मनलाग्दी भाडा असुल भइरहेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समितिले उक्त निर्देशन दिएको हो ।
सभापति कल्याणीकुमारी खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताउँदै सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिएको बताइन् । सभापति खड्काले बाढीपहिरो पन्छाएर बन्द रहेका सडक तत्काल सञ्चालनको वातावरण बनाउन पनि निर्देशन दिइन् ।
राष्ट्रिय गौरव तथा अन्य राष्ट्रियस्तरका सडकहरुको निर्माण तथा स्तर उन्नतीको काममा भइरहेको ढिलासुस्ति तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखी निर्माणाधिन नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको स्तरोन्नतीको कार्य निर्धारित समयमा सम्पन्न गर्न समितिको निर्देशन थियो ।
सभापति खड्काले वातावरण, प्रविधिमैत्री र गुणस्तरीय विकास निर्माणसहित दीर्घकालिन समाधान सहितको विकास निर्माणको विषयमा तत्काल अध्ययन गरी कानून ल्याउन सरकारलाई निर्देशन पनि दिएको जानकारी दिइन् ।





























प्रतिक्रिया