काठमाडौं ।
नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको आज २५ औं स्मृति दिवस हो । कोरोनाका कारण यस वर्ष उनको स्मृतिमा कुनै कार्यक्रमहरु गरिएनन् भने उनको माउ पार्टी नेपाली काँग्रेसले समेत उनलाई विर्सिएको आभास गर्न थालिएको छ ।
जन्म विसं. १९८१ मा काठमाडौंको न्हैकन्तलामा उनको भएको हो । वि.सं. १९९७ असार महिनामा उनको विवाह गणेशमान सिंहसँग भयो । वि.सं. १९९७ कात्तिकमा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहानियाँ राणाशासन विरोधी आन्दोलनमा सक्रिय भइन् । २००४ सालमा उनी काठमाडौं म्हैपीमा भूमिगत सङ्गठनको रूपमा नेपाल महिला संघको स्थापना गरी आजन्म अध्यक्ष रहिन् ।
विसं २००५ सालमा पद्मशमशेरद्वारा गरिएको सुधारप्रति असन्तोष प्रकट गर्दै उनी महिलाहरूको जुलुस लिएर राणाहरूको दरबार पुगेकी थिइन् । सिंहले २००७ सालको क्रान्तिमा पनि ठूलो भूमिका निर्वाह गरिन् । श्रीमती सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरियो । २०२५ सालपछि ८ वर्ष प्रवासमा रहिन् ।
२०४२ सालमा सत्याग्रह र २०४६ सालको आन्दोलनमा उनी सक्रिय रहेकी थिइन् । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी पराजित भइन् । उनले नारी संघर्षका पाइलाहरू’ नामक संस्मरणात्मक पुस्तक लेखेकी छिन् । २ छोरा र ३ छोरीकी आमा श्रीमती सिंहको २०५३ साल भदौ १० गते निधन भएको थियो ।































प्रतिक्रिया