काठमाडौं ।
कांग्रेसमा तीन समूह सक्रिय छन्। तीनै समूहबाट गरी ११ नेता आगामी महाधिवेशनमा सभापति पदका आकांक्षी देखिएका छन् । एउटै समूहबाट धेरैले सभापति पद ताकेपछि नेता मिलाउन सकस देखिएको छ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, तेस्रो समूहको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला सम्भावित उम्मेदवार हुन्। देउवा समूहका उपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, पौडेल समूहका महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंह र डा. शेखर कोइरालाले आआफ्नो तयारी थालेका छन् । पौडेल समूहबाटै डा. रामशरण महत र अर्जुननरसिंह केसी सभापति पदका आकांक्षी छन्। सिटौला समूहबाट गगनकुमार थापाले सभापति पदमा उम्मेदवारी दिने बताएका छन् । पौडेल समूहमा नेता मिलाउन सिंह र केसी लागेका छन् । देउवा भने निधि नउठ्नेमा ढुक्क रहेको उनीनिकट स्रोत बताउँछ ।
देउवा, पौडेल र सिटौलाबीच १३ औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा सिटौलाको समर्थनमा देउवा निर्वाचित भएका थिए।
पार्टीको १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने तय भएको छ । ४ वर्षमा हुनु पर्ने महाधिवेशन ‘असाधारण कारण सम्भव नभए एक वर्ष थप गर्न मिल्ने’ पार्टी विधानको सुविधा कांग्रेसले उपयोग गरिसकेको छ। तर, नेताहरूले कोभिड–१९ का कारण महाधिवेशन प्रभावित हुने निश्चित जस्तै रहेको बताउन थालेका छन्।
यसअघि ४ महिना लकडाउनका कारण महाधिवेशन गतिविधि ठप्प भएको थियो । कोरोना संक्रमण तीव्र भएसँगै महाधिवेशन अनिश्चित बन्ने आशंका गर्न थालिएको छ । फागुनमा सम्भव नभए २०७८ भदौभित्र महाधिवेशन गर्नै पर्ने संवैधानिक बाध्यता छ। महाधिवेशन आउन ६ महिना बाँकी रहे पनि चहलपहल भने सुरु भइसकेको छ।
देउवाले नेता÷कार्यकर्तासँगको भेटघाटसँगै पार्टीभित्र प्रभाव बलियो बनाउन विभाग गठन र मनोनयन धमाधम गरिररहेका छन् । संस्थापनइतर समूहको चर्को विरोधका बीच पनि उनले विभागलाई पूर्णता दिने काम रोकेका छैनन् । थप विभाग गठनको तयारीसमेत गरिरहेको उनीनिकट स्रोतले जनाएको छ।अन्नपूर्णबाट





























प्रतिक्रिया