प्रत्येक नेपालीको टाउकोमा ४७ हजार २१३ रुपैयाँ ऋणभार

प्रत्येक नेपालीको टाउकोमा ४७ हजार २१३ रुपैयाँ ऋणभार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु व्यापार घाटा १६.८ प्रतिशतले घटेको छ ।

सरकारले महँगा तथा विलासी वस्तु आयातमा कडाई गरेका कारण व्यापार घाटामा सुधार आएकोे हो । त्यसका साथै कोरोनाका कारण गत चार महिनादेखि आयातमा पनि कमी आएको छ ।

आयातमा कमी आउनु तथा निर्यात बढ्नुले पनि व्यापार घाटा कम गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष व्यापार घाटा १३.५ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, गत वर्ष शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेको थियो । आयातमा आएको कमीका कारण शोधानान्तर पनि बचतमा रहेको हो । गत वर्ष आयात १५.६ प्रतिशतले घटेको देखिएको छ । गत वर्ष ११ खर्ब ९६ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो भने ९७ अर्ब ७१ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।

त्यस्तै, कोरोनाका कारण गत वर्ष रेमिट्यान्स आयमा पनि असर परेको छ । यस अवधिमा रेमिट्यान्स ४ अर्ब २४ करोडले गिरावट आएको छ । गत वर्ष रेमिट्यान्स ०.५ प्रतिशतले घटेको छ । यस अवधीमा ८ खर्ब ७५ अर्ब ३ करोड रुपैँया रेमिट्यान्स नेपाल भित्रिएको छ । वैदेशिक रोजगारीका लागि नेपाली कामदार पुगेका विभिन्न श्रम गन्तव्य लामो समयदेखि बन्द भएका कारण रेमिट्यान्स प्रभावित भएको हो ।

त्यस्तै, अब नेपालीको टाउकोमा ४७ हजार २ सय ३ रुपैयाँ ऋणभार परेको छ । राष्ट्र बैंकका अनुसार राष्ट्र ऋण ३५.४५ प्रतिशतले बढेको देखाएको हो । नेपालको राष्ट्र ऋण बढेर १४ खर्ब १९ अर्ब पुगेको छ । अघिल्लो वर्ष यस्तो ऋण १० खर्ब ४७ अर्ब मात्रै थियो । यस्तो ऋण अघिल्लो वर्ष भन्दा ३ खर्ब ७१ अर्बले बढी हो ।

त्यसैगरी, गत वर्ष वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो । यस अवधीमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ८.१६ प्रतिशत रहेको छ ।

त्यसैगरी, गत वर्ष बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १८.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १८ प्रतिशतले बढेको थियो । त्यस्तै,बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १९.४ प्रतिशतले बढेको थियो ।

त्यस्तै, गत वर्ष सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा ७ अर्ब ४९ करोड रुपैँया प्रवाह भएको छ । यस अन्तर्गत साधारण पुनार्कर्जा ५ अर्ब ८८ करोड र भूकम्प पीडितलाई प्रवाह गरिएको पुनार्कर्जा १ अर्ब ६१ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

Skip This
Skip This
Logo