प्रदीप गिरिको बौद्धिक पाटो

प्रदीप गिरिको बौद्धिक पाटो

केन्द्रबिन्दु
0
Shares

भदौ ४ गते शनिबार राति समाजवादी चिन्तक एवं दार्शनिक व्यक्तित्व प्रदीप गिरिले भौतिक देह त्यागेर महाप्रस्थान गरेपछि उनका बारेमा सामाजिक सञ्जालका भित्ताहरू रंगिएका मात्र छैनन्, सिंगो देश नै ‘बौद्धिक शून्यता’ मा प्रवेश गरेजसरी स्तब्ध भएको छ ।

उनका जीवनका विभिन्न रोचक कुराहरुलाई समेत उठान गरिएको छ । आजको अंकमा हामी उनका केही व्यक्तिगत तथा रोचक प्रसंगहरुबारे चर्चा गनेर्छौँ । प्रदीप गिरिको निधनपछि शास्त्रीय चिन्तन र छलफलको एउटा महत्वपूर्ण खम्बा ढलेको महसुस गरिएको छ । यो रिक्तता तत्कालै पूरा होला भन्नेमा कसैको पनि विश्वास देखिँदैन । त्यति मात्र होइन, यो रिक्तता अब कहिल्यै पनि पूर्ति हुँदैन भन्ने विश्वास गर्नेको संख्या पनि ठूलै छ । नेपालको संसद्मा समाजवादी कोणबाट राज्यको नीति, कार्यक्रम र बजेटको समीक्षा गर्ने अनि बिना आग्रह त्यसलाई ठीक बेठीक भन्न सक्ने आत्मविश्वासी स्वर पनि अब कमजोर हुने निश्चित रहेको महसुश गरिएको छ । 

प्रदीप गिरिले आफ्नो लामो राजनीतिक जीवनमा समाजवादको अध्ययन, विश्लेशण, चर्चा–परिचर्चा र संस्लेषण गरे । यसैमा उनी रमाए । उनी सक्रिय राजनीतिबाट विश्राम नलिएरै दर्शनको महत्वको प्रचार गर्दै हिडिरहे । कांग्रेसको नेता, सांसद तर कम्युनिष्टहरुलाई माक्र्सवाद र साम्यवाद पढाउँदै हिड्ने पात्र एउटै १ राजनीतिक रुपमा विभक्त नेपाली समाजमा यो कुरा असम्भव लाग्छ ।

तर प्रदीप गिरि त्यस्तो ‘असम्भव पात्र’ बनेर पनि आफ्नो थप परिचय स्थापित गर्न सफल भए । समाज विकासको क्रममा मार्क्सवादलाई स्वभाविक दर्शनका रुपमा उनले व्याख्या गर्दै हिड्थे । उनले भने,–‘माक्र्सको दर्शनप्रतिका मेरा असहमतिहरू छन्, तर त्यो एउटा स्वभाविक दर्शन हो ।’ उनको अध्ययन, आत्मविश्वास र स्पष्ट दृष्टिकोणपछिको अभिव्यक्ति थियो यो ।

तराईको सम्पन्न परिवारमा जन्मिएर पनि विलासी जीवन अवलम्बन नगर्नु उनको समाजवादप्रतिको सम्मोहको एउटा बलियो उदाहरण हो । दर्शनको व्याख्या गर्नेहरु प्रायः एकांकी, सामूहिक गफगाफमा रुचि नदिने स्वभावका हुन्छन् । एकोहोरो बोलिरहन रुचाउँछन् । तर गिरि फरक थिए । गाउँमा गएर संवाद गर्ने, सुन्ने उनको रुचि नै थियो । युवाहरुलाई अभिप्रेरित गर्ने उनीहरुसँगको संवादमा जोड दिने उनको क्षमता र स्वभाव थियो ।

उनी सांसद रहँदा अरु बेला नबोले पनि सरकारको नीति तथा कार्यक्रम र बजेटमा अनिवार्य बोल्थे । सरकार उनको पार्टीको होस् वा नहोस्, उनको समाजवादको आलोकमा त्यसको समीक्षा गर्थे । उनी संसद्मा बोल्दै गर्दा प्रजातान्त्रिक समाजवादको शिविरजस्तै बन्थ्यो संसद् । कार्यकारीहरु त्रसित हुन्थे । संसदले अब त्यो विशिष्ट क्षण प्राप्त गर्ने छैन । नेपाली समाजले प्रजातान्त्रिक समाजवादको कसीमा नेपाली अर्थतन्त्रलाई डो¥याउनका लागि गरिने खबरदारीको उचो स्वर सुन्न पाउने छैनन् । राजा, पञ्चायत, कांग्रेस, कम्युनिष्ट र विश्व राजनीतिक पात्र अनि तिनको प्रवृत्तिसँग वर्तमान राजनीतिलाई तुलनात्मक अध्ययन गर्न सक्ने खुबीकै कारण युवा पंक्तिमा उनी प्रिय रहे ।

गिरि नेपाली कांग्रेसका नेता एवम् सांसद भन्दा बढी आमस्वीकार्य चिन्तकका रुपमा स्थापित थिए । त्यसैले उनको निधनअघि नै अनेक क्षेत्रका दिग्गज व्यक्तिहरुले स्वास्थ्य लाभसहित उनको योगदान सम्झन थालेका थिए । धेरैले सामाजिक सञ्जाल र कतिपयले आमसञ्चार माध्यममार्फत स्वास्थ्य लाभको कामनामा लेख नै प्रकाशित गरे ।गिरिलाई अनेक तप्काबाट उच्च श्रद्धाका साथ सम्झनुमा उनले बाँचेको जिन्दगी र बाँडेको चेतना नै हो । सिराहाको एउटा सम्पन्न परिवारमा २००४ मा जन्मिएका गिरि आजीवन समाजवादी निष्ठामा अडिग रहे । सम्पत्ति, शक्तिको प्रलोभन र भयबाट टाढा रहेर बोले, लेखे र चिन्तन गरे । जिवीत रहँदा उनको बारेमा कमै लेखिएपनि उनको देहान्तपछि उनका जीवनका रोचक कुराहरु पनि सार्वजनिक भइरहेका छन् । उनीनिकट लेखक खगेन्द्र संग्रौला लेख्छन्,“पठन प्रदीपको सोख थियो, लत थियो, नशा थियो ।

प्रदीपका लागि पठन जीवनको पनि जीवन थियो, नित्य आलोकदायी जीवन । दिनचर्या र जीवनशैलीमा प्रदीप हुनसम्म अव्यवस्थित थिए । तर, उनको मस्तिष्कमा पठनद्वारा सञ्चित सूचना, तथ्य र ज्ञानको व्यवस्थापन मानौँ अद्भुत थियो । जुन बेला जे चाहियो, सहजै त्यो हात लाग्ने । प्रदीपको चुम्बकीय स्मृति–शृङ्खला, उनको स्वरको मनमोहक लालित्य, उनको प्रस्तुतिको अविच्छिन्न प्रवाह र उनको वक्तृत्वको चामत्कारिक शिल्प, यी सबैको सुन्दर योगले उनको प्रवचन जादुमय हुन्थ्यो ।”

त्यस्तै पारिवारिक सम्बन्ध भएकी नेतृ सरिता गिरिले प्रदीपले आफुलाई विवाहको प्रस्ताव राखेको बताएकी छिन् । प्रदीपका सहोदर भाइ लक्ष्मण गिरि तथा उनकी भाइबुहारी गिरिले आफू १६ वर्षकी हुँदा प्रदिपले भागेर विवाह गर्न प्रस्ताव गरेको तर आफुले नमानेको बताइन् । पछि उनका भाइसँगै बिहे भए पछि बिहेमा समेत उपस्थित नभएको सरिताको दाबी छ । आफ्नो फेसबुक वालमा प्रदीप दाई र म नामको स्टाटस पोष्ट गर्दै उनले लेखेकी छन्,
“प्रदीप दाइसँगको धेरथोर संगतमा उनको विद्वतासँग प्रभावित न हुने त कुरा नै थिएन । जेठाजु र बुहारीको सम्बन्ध यस्तो हुन्छ कि मैले वहाँसँग सीख्ने अवसर वा समय पाईन । तर टाढा भए पनि राजनीतिमा वहाँ मेरो प्रेरणाकोस्रोत जहिले पनि रहनु भयो ।

उहाँको  प्रभावमा मैले आध्यातिमकतालाई पनि बुझें । प्रेमको आध्यत्मिक स्वरुप के हुन्छ, मैले वहाँको संगतमा बुझें । जीवनमाजस्तो सुकै कठोर मोडमा उहाँको र उहाँको भाइ  लक्ष्मण गिरीको प्रेम र संरक्षण पाउने भाग्यमानी मध्येको एक म पनि हुँ । मेरो जीवनमा पिता बाहेकप्रभाव राख्ने दुई पुरुष लक्ष्मण गिरि र प्रदीप गिरि हुन । आज उहाँहरु तीनै जना यस संसारमा हुनुहुन्न । तीनै जना मान्यजनप्रति असीमश्रद्धा र प्रेम व्यक्त गर्दछु ।”

राजनीतिका अग्ला मान्छे प्रदीप गिरि भौतिक सुखसयलका भन्दा पनि ज्ञानका भोका थिए । यदि शक्तिको आशक्ति हुँदो त, वैभवको जिन्दगी जिउने अवसर अनेकपटक गिरिको जिन्दगीमा आयो । उनका दुई काका प्रधानमन्त्री र गृहमन्त्री जस्तो शक्तिशाली व्यक्ति बने । पञ्चायतमा तुलसी गिरी प्रधानमन्त्री र रुद्र गिरी गृहमन्त्री भए । २०१५ सालमै तुलसी र रुद्र सांसद थिए ।तर काकाहरू हिंडेको बाटो उनी हिंडेनन् । पिता मित्रलालले रोजेको राजनीति, कांग्रेस र समाजवादको मार्गमा आजीवन रहे । राजनीतिक परिवारमा हुर्किएकाले गिरि त्यही क्षेत्रमा रहिरहे ।

कुलदीप गिरिका सन्तानहरूमध्ये प्रदीप गिरिका हजुरबुवाको भागमा अंशबन्डा न्यायपूर्वक भएको थिएन, जिउनी पनि यथोचित थिएन । हजुरआमा सावित्री गिरिले राणाहरूसँगको पहुँचका आधारमा ससुरासँग ४४ सय बिघा; ४४ मौजाबाट जम्मा ८० बिघा मात्र हात पारिन् । क्रान्तिकारी हजुरआमासँग शाकाहारी भान्सा गर्ने सुविधा प्रदीप गिरिलाई थियो, जुन छुट परिवारका अरू सदस्यलाई थिएन । यसरी उनको बागी, विद्रोहको र समाजमा संघर्ष गरेपछि अधिकार र न्याय पाउन सकिन्छ भन्ने कुराको प्रेरणा हजुरआमा सावित्री थिइन् । कुलदीप गिरिले गिरि, नेवार, गुरुङ र छेत्री कन्यासँग विवाह गरेका थिए ।

आफ्नै पिताले स्थापना गरेको विद्यालयबाट २०१८ सालको ब्याचमा प्रथम श्रेणीमा एसएलसी पास गरेपछि प्रदीप गिरि उच्च शिक्षाका लागि २०१९ सालमा काठमाडौं आएर अस्कलमा भर्ना भए । प्रदीप २०१८ सालमा प्रथम श्रेणीमा एसएसली पास गर्ने देशभरबाटै एक्ला थिए ।  परिवारले उनलाई विज्ञान पढ्नका लागि भर्ना गरिदिएको भए पनि कला संकायमा प्रवृत्त उनलाई विज्ञानले छुने कुरा थिएन । उनको बास कक्षाकोठामा भन्दा तत्कालीन अवस्थामा न्युरोडमा रहेको अमेरिकी पुस्तकालयमा हुन पुग्यो । हिन्दी र नेपाली साहित्यले काम चलाउँदै आएका उनलाई अंग्रेजीको लत बस्यो । उनको परिवारले प्राचार्य अमृत प्रधानसँग अध्ययनबारे सोधनी हुँदा क्याम्पस कम आउने गरेको थाहा भएपछि उनलाई बनारस पठाउने तय ग¥यो ।

प्रदीप गिरिले सिरहामा पिताजीको नाम राखेर ‘मित्र आश्रम’ स्थापना गरे, जसको भव्य उद्घाटन किशुनजी अर्थात् कृष्णप्रसाद भट्टराईले गरे । मित्र आश्रम अहिले ‘स्वराज ट्रस्ट’ बनेको छ । आश्रममा उनका भान्से सधैं स्थानीय दलित जनजाती र मुस्लिम हुन्थे । छुवाछूत मान्ने समाजमा समाजसुधारको हकमा त्यो ठूलो क्रान्ति थियो । उनले संसद् विकास कोषबाट कम्प्युटरको मात्र होइन, डकर्मी र सिकर्मीको तालिम पनि दिलाए । उनी जरासँग जोडिएका बौद्धिक थिए र त्यो अभ्यास पनि गर्थे भन्ने कुराको योभन्दा राम्रो प्रमाण के होला र !

एउटा रोचक कुरा, २०७४ सालको निर्वाचनमा मात्र उनले आफूलाई मतदान गर्न पाएका थिए । कारण, उनलाई २०५१, २०५६ सालमा दिइएको निर्वाचन क्षेत्र उनको घर भएको होइन कि कम्युनिस्ट दबदबा भएको क्षेत्र थियो । उनले झन्डै जादु गरेरै २०५१ सालमा निर्वाचन जितेका थिए । २०५६ सालको कथा अर्कै छ । तर त्यो हारले गर्दा उनलाई कहिल्यै चुनाव नजितेको भ्रम पर्न गएको थियो, त्यसलाई उनले २०७४ सालमा सानदार रूपमा बदर गरिदिए ।उनी २०५१ र २०७४ सालमा प्रतिनिधिसभामा सिराहाबाट निर्वाचित भए भने २०६४ र २०७० को संविधानसभामा समानुपातिक तर्फबाट सांसद भए । 

नेपालको संविधानमा रहेका कतिपय व्यवस्थामा असन्तुष्टिहरु राखेर उनले हस्ताक्षर गरेका थिएनन् । यो प्रश्नको निरन्तर सामना गरेका प्रदीप गिरिले आफनो अन्तिम अभिव्यक्तिमा व्यवस्थाकै चिन्ता गरेका थिए ।‘‘पुराना गीत गाएर, पुराना तन्त्र गाएर, पुराना शास्त्र भट्याएर र शास्त्रका किमतमा लोकलाई बुझ्न हामीले छाड्यौं भने इतिहासमा हाम्रो नाम मात्र रहनेछ ।

यसपटक यो सरकार असफल भयो भने शेरबहादुर मात्र असफल हुनुहुन्न, संविधान असफल हुन्छ । संविधान असफल भएर पनि केही बिग्रिँदैन । व्यवस्था असफल हुन्छ । व्यवस्था असफल हुने भनेको सोच्दा मात्र पनि कहाली लाग्छ । संविधानमा हस्ताक्षर नगरेको म एक व्यक्ति भन्दैछु– बाटो अर्को देख्दिनँ म । त्यसैले यस संविधानको रक्षा गर्न अग्रपंक्तिमा आएर बोलेको हुँ, लेखेको हुँ ।’

Logo