इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सम्पन्न, १४ विधामा अवार्ड वितरण

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सम्पन्न, १४ विधामा अवार्ड वितरण


सातौं संस्करणको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ द सोल्टी काठमाडौंमा सम्पन्न भएको छ। 

एक हजार बढी विशिष्ट व्यक्तिहरूको उपस्थितीमा आयोजना भएको ग्राण्ड फिनाले कार्यक्रममा साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड सहित १४ विधामा सर्वोत्कृष्टहरूलाई अवार्ड वितरण गरिएको छ। लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड कार्यक्रमको रूपमा परिचित छ।

यस वर्ष पहिलो पटक दक्षिण एशियाली देशहरूलाई लक्षित गरेर साउथ एशिया स्टर्टाअप आइसिटी अवार्ड २०२२ को आयोजना गरिएको थियो।

उक्त विधामा भारत बैंङ्लोरको टेक फोर बिलियन कम्पनीले अवार्ड प्राप्त गरेको छ। विभिन्न ५ देशहरुबाट उत्कृष्ट ५ स्टार्टअपहरू अवार्डमा सहभागी हुन नेपाल आएका थिए। 

यस वर्ष इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ अन्तर्गत नेपाली डायस्पोरा आइसिटी अवार्ड डा.वेद काफ्लेले प्राप्त गरे भने आन्टरप्रेनर अवार्ड मंगेशलाल श्रेष्ठले जितेका छन्। 
 
त्यसैगरी, नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड विजयकृष्ठ श्रेष्ठ र एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२ शिला कंसकार कार्कीले प्राप्त गरेकी छन्। यस वर्षको डिजिटल गर्भनेन्स आइसिटी अवार्ड वैदेशिक रोजगार विभागले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२२ फोनपे डिजिटलले प्राप्त गरेको छ। 

डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर) ज्ञानोदय विद्यालय वाफलले प्राप्त गरेको छ भने डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर) ज्ञानोदय बालबाटिक विद्यालय, खोकनाले जितेको छ। 

यस वर्षको ह्वावे स्टार्टअप आइसिटी अवार्ड मोनाल टेकले प्राप्त गरेको छ। प्रडक्ट आइसिटी अवार्ड गल्ली म्याप्स र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२ मेरो कारोबार एपले प्राप्त गरेको छ। 

यसैगरी, यस वर्षको पब्लिक च्वाइस आइसिटी अवार्ड बिआइसी टेक्नोलोजी (टिग)ले प्राप्त गरेको छ। यस वर्ष जुरीले कक्षा १० मा अध्ययनरत विद्यार्थी दिक्षान्त पाण्डेलाई जुरी मेन्सन आइसिटी रिकग्निसन २०२२ बाट सम्मान गरेका छन्।

आइसिटी अवार्ड २०२२ को क्रममा आयोजकले सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्टको आयोजना गर्दै प्रदेशका उत्कृष्ट ७ स्टार्टअपहरूलाई अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा सम्मान गरेको छ।

जस अनुसार, प्रदेश १ बाट क्युरा हेल्थ, मधेश प्रदेशबाट इजिइट्स, बागमती प्रदेशबाट नलेज एक्सचेन्ज, गण्डकी प्रदेशबाट स्वस्तिक न्युट्री फुड, लुम्बिनी प्रदेशबाट फरिद डटकम, कर्णाली प्रदेशबाट सुर्खेत सफ्ट र सुदूरपश्चिम प्रदेशबाट पाथिभरा सेन्सर सोलुसन उद्योगलाई प्रदेशका उत्कृष्ट स्टार्टअपको रूपमा सम्मान गरिएको हो। 

अवार्ड वितरण कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागी, सचिवहरु डा. बैकुण्ठ अर्याल, केवल प्रसाद भण्डारी, मधु मरासिनी, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले विजेतालाई अवार्ड वितरण गरेका थिए। 

यसैगरी, राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुयाल, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, संघिय सरकारका सांसदहरू ठाकुर गैरे, महेश बर्तौला, शिशिर खनाल, मनिष झाको पनि उपस्थिती रहेको थियो। 

आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, डिप्युटी गर्भनर बम बहादुर मिश्र, पूर्वमन्त्री गणेश शाह लगायतका विशिष्ट व्यक्तिहरूले विजेतालाई अवार्ड प्रदान गरेका थिए। 

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका मुख्यसचिव बैरागीले आइसिटीको क्षेत्रमा अझ धेरै गर्न बाकि रहेको भन्दै दुरदराजसम्म प्रविधिलाई सहज पहुँच पुर्‍याउँदै विकास र उन्नत जिवनशैलीको लागि काम गर्नुपर्ने बताए। 

त्यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.अर्यालले आइसिटी क्षेत्रको विकासका लागि आवश्यक सहयोग तथा सहकार्य गर्न मन्त्रालय सधै तयार रहेको भन्दै विजेतालाई सिंहदरवार निमन्त्रणा गरेका छन्। 

आइसिटी अवार्डले नयाँ-नयाँ इनोभेसनलाई प्रेरणा मिलेको बताउँदै आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले डिजिटल इकोसिस्टम विकास गर्न सरकारले पूर्वाधारमा लगानी गर्नुपर्ने बताए। 

त्यस्तै, इन्फोडेभलपर्सका ग्रुप अध्यक्ष सञ्जिब राजभन्डारीले नेपालले इन्टेलुक्चुअल प्रर्पटीमा पनि काम गर्नुपर्ने सुझाव दिए। उनले पुपरी सफ्टवेरलाई इन्फोडेभलपर्सको सहकार्यमा नयाँ ढंगले विस्तार गर्ने तयारीमा रहेको जनाए। 

यसैगरी, काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिला डंगोलले स्थानीय तह पनि अब डिजिटल रूपमा अगाडि बढ्न पर्ने बताइन्। काठमाडौं महानगरपालिका सोही अनुसार अगाडि बढेको समेत जानकारी दिइन्। 

प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले डिजिटल पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउँदै त्यसका लागि नीति निर्माण तहबाट आफूले पहल गर्ने बताए। 

यस वर्ष इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एसोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनसमा ५५० बढीको अनलाइन नोमिनेश प्राप्त भएको थियो। 

१३ जना स्वदेशी र ३ जना अन्तर्राष्ट्रिय विज्ञ जुरीले २५ वटा बढी मिटिङहरू सञ्चालन गदै छनौट प्रकृयालाई सम्पन्न गरेका थिए।

विगत ६ महिनाको आइसिटी अवार्डको छनौट प्रकृयाको क्रममा आयोजकले १० भन्दा बढी प्रि इभेन्ट क्याम्पियनहरू आयोजना गरेको अध्यक्ष राजन लम्सालले बताए। 

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२ का विजेता र उत्कृष्ट ५ ले माइक्रोसफ्ट र ह्वावेबाट क्लाउड सेवाको लागि लाखौं रुपैया बराबरको क्रेडिट प्राप्त गरेका छन्। 

नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षको लागि हाई स्पिड इन्टरनेट सेवा दिएको छ भने एनसेलले वुमन आइकन आइसिटी अवार्ड विजेतालाई ३ लाख रूपैयाँ नगद पुरस्कार दिएको छ। यसैगरी, सिल्भर लाइनिङले डिजिटल सर्भिसेस विधामा २ लाख रुपैयाँको क्लाउड सर्पोट प्याकेज दिएको छ।  

Logo