रंगीन दुनियाँको पर्दा पछाडि हुर्किएका भरतको ‘भिजुअल डिजिटल जर्नी’

रंगीन दुनियाँको पर्दा पछाडि हुर्किएका भरतको ‘भिजुअल डिजिटल जर्नी’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं – समय र सन्दर्भ अनि मिहिनेतले काँचो माटोले आकार लिन्छ । उसैगरि भरत रेग्मीको जीवनले पनि आकार लियो । आरजे/भिजे अर्थात् रेडियो/टेलिभिजन प्रस्तोता बन्ने ठूलो रहर बोकेर काठमाडौं आएका रेग्मी आज एक ‘डिजिटल आर्टीष्ट’ अर्थात् भिडियो सम्पादक, रंग संयोजकका रूपमा परिचित छन् ।

पाल्पाको गोठादीमा जन्मिएर, नवलपरासीमा हुर्किएका रेग्मी रेडियो सुन्न खुवै सौखिन थिए । ‘घरमा अचम्मै मान्नु हुन्थ्यो, ऊ बेला मेरो रेडियोसँग खुब दोष्तीयारी चल्थ्यो’ केन्द्रविन्दुसँगको कुराकानीका क्रममा भरतले सनाए, ‘बुबा आमा अनि साथीभाई पनि अच्चम्म मान्नुहुन्थ्यो कि, कति रेडियो सुनेको होला भनेर, म पनि त्यस्तै जतिबेला पनि रेडियोमै रमाउँथे ।’

विद्यालय शिक्षा सकिएसँगै भरतको उद्देश्य थियो सफल रेडियोजोकी (आरजे) बन्ने । नवलपरासीबाट काठमाडौं आएर औपचारिक अध्ययनसँगै उनले सञ्चारकर्मी बन्न ठूलो मिहेनत गरे । रेडियो नेपालमा सञ्चारकर्मीका लागि लिईने स्वर परीक्षामा पनि उनी पास भए । तर, उनको सपनाले सार्थकता लिन सकेन । ‘सोचेको थिएँ, रेडियो नेपालमा स्वर परीक्षा पास गरेपछि जागिर पनि पाइन्छ होला, तर अहँ होइन रहेछ ।’ उनी झस्किए । रेडियो नेपालमा स्वर पास गरेपछि पनि केही रेडियोमा उनी पुगे तर, अहँ कहिँ पनि उनी छनौटमा परेनन् । यतिन्जेल सम्ममा भरतको सञ्चार जगतमा आफ्नो आवाज बिकाउने महत्वाकांक्षी सपनामा पूर्णविराम लागै झैं भयो । ऊ बेला, अहिलेको जस्तो प्रशस्त रेडियो, एफएम अथवा अनलाईनका प्लेटर्फमहरू पनि थिएनन् । सञ्चारकर्मी बनेर रेडियोमार्फत स्रोतासम्म आफ्नो आवाज पुर्याउन सहज पटक्कै थिएन ।

सञ्चारकर्मको ढोका एकहिसाबले उनका लागि साँघुरो भयो । यसरी एउटा ढोका साँघुरिएकाले नै आज भरत रेग्मी एक सफल ‘ ‘भिजुअल डिजिटल आर्टीष्ट’ (भिडियो संम्पादक, रंग संयोजक)का रूपमा परिचित छन् । मल्टिमिडियाको क्षेत्रमा रमाइरहेका छन् ।

महत्वाकांक्षी सपनाले कोल्टो फेरेको त्यो दिन
काठमाडौंमा जीवन चलेकै थियो, रत्नराज्य क्याम्पस (आरआर) कलेज आउने जाने क्रम चलेकै थियो । सोही क्रममा उनले आफ्नै कलेजमा मल्टिमिडिया र यससँग जोडिएको पेशागत पृष्ठभूमीका बारेमा थाहा पाए । भारतको मल्टिमिडिया स्कुल ‘पेन्टासफ्ट’ फ्रेन्चाइजका रूपमा नेपालमा भर्खर खुलेको रहेछ । त्यही कम्पनीले आरआरमा मल्टिमिडियाको परिचय गरायो । भरत सम्झन्छन्, ‘मिडियाको भूत चढिरहेका बेला मल्टिमिडियाको परिचयले मलाई आकर्षित ग¥यो । मैले तत्काल आफ्नो महात्वाकांक्षी सपनामा पूर्णविराम लगाएर मल्टिमिडियाको कक्षा लिन सुरु गरेँ ।’

काठमाडौंको जमलमा रहेको पेन्टासफ्टतर्फ जुन दिनदेखि भरतका पाइला अघि बढे त्यही दिन उनको महत्वाकांक्षी सपनाले कोल्टे फेर्यो, भविष्यको डेस्टिनेसन परिवर्तन गरिदियो । जहाँ उनले एडिटिङ, ग्राफिक्स अनि थ्रिडी एनिमेसनका बारेमा भारतीय प्रशिक्षकहरूबाट कक्षा लिए र उनी भारतको पेन्टासफ्टबाटै सर्टिफाइड भए ।

रहरसँगै जोडिएको करियर
रहरको काम गर्न पाउँदा कसको मन आनन्दित नहोला र ! भरत पनि मल्टिमिडियो ट्रेनिङ पश्चात गायक दीपक बज्राचार्यसँग जोडिए । उनले बज्राचार्यको एक इभेन्टको भिडियो सम्पादन गर्ने मौका पाएका थिए । ‘मेरो प्रोफेसनल करियर नै दीपक दाईको प्रोजेक्टसँग जोडिएपछि सुरु भएको हो ।’ उनी गर्भ गर्दै सुनाउँछन्, ‘हुन त मैले दीपक दाईको काम निःशुल्क गरिदिएँ तर पछुतो छैन । किनकी त्यो बेला दाम होइन कामको हुटहुटी थियो । अझ ट्रेनिङ सेन्टर बाहिर आएर कम्युटरमा आफ्नो सीप देखाउन पाउनुको मज्जा पनि बेग्लै ।’

यसपछि भने उनको करियरले नयाँ यात्रा तय गर्‌याे। उनी च्यानल नेपाल टेलिभिजनमा आवद्ध भएर काम गर्न थाले । ऊ बेला भरतको तलव ५ हजार मात्र थियो । बुबा आमाको भरमा बाँचेरहेका भरतले अब, काठमाडौंमा हात मुख जोर्ने स्रोत जुटाउन थाले । केही समय च्यानल नेपालमा काम गरेपछि उनी चर्चित भिडियो सम्पादक तथा फिल्म निर्देशक सिमोस सुनुवारसँग जोडिए ।

च्यानल नेपालमा दिएको सेवा सुविधा मयाँ मार्दै, जोखिम मोल्दै उनी प्राइभेट व्यक्तिसँग जोडिएर काम गर्न थाले । ‘च्यानल नेपालमा जागिर खाँदा खाँदै सिमोस दाईसँग काम गर्न थाले, त्यो पनि कम पारिश्रमिकमा । धेरै ले प्रश्न पनि गरे तर, मलाई टेलिभिजनले सृजनशिल बनाउन सकेन’ ती दिन सम्झँदै भन्छन् भरत,‘मैले टेलिभिजनमा गर्न नपाएका काम सिमोस दाईसँग गर्न मौका पाएँ, कयौं कलाकारहरूसँग जोडिने अवसर पाएँ अनि आफ्नो मिहेनत र सृजनात्मकता प्रस्तुत गर्न पाएँ ।

यही यात्राका क्रममा कान्तिपुर मिडिया ग्रुपसँग जोडिन पुगे भरत । कामकै शिलशिलामा सञ्चारकर्मी भुषण दाहालसँगको सामिप्यता र मिहेनतका कारण कान्तिपुर जोडिन गएपछि भने भरतको करियर केही फराकिलो बन्दै गयो । अर्कातर्फ सिमोस सुनुवारसँग काम गर्दै जाँदा तयार भएको म्युजिक भिडियो ‘म हुँ प्रकृती’को सम्पादनले पनि थुप्रैको मन जितेको थियो । त्यसको प्रभावले पनि भरतको व्यस्तता बढ्दै गयो । आर्थिक अवस्था मजबुद बन्दै गयो । घरमा आफ्नै सम्पर्कका काम अनि अफिसमा आउने जिम्मेवारीले भरतलाई झन् झन् बलियो बनाउँदै लग्यो । उनको परिचयको परिधि व्यापक बन्दै गयो । यही क्रममा उनले १४ वर्ष लामो कान्तिपुर टेलिभिजनको यात्रा समाप्त गर्दै आफ्नै प्रोडक्सन हाउस खोलेका छन् । ‘लामो समयको अनुभवलाई संगालेर अबको समय आफ्नै प्रोडक्सन हाउसलाई दिने योजनामा छु, केही टिभिसी एडहरूमा निर्देशनको पनि गरिरहेकै छु’ आशावादी भावमा भन्छन्, ‘उच्च लगनशिलता र मिहेनत गर्ने हो भने धेरै गर्न सकिन्छ र गर्ने सोचमा पनि छु ।’ हाल उनी निर्माणाधिन फिल्म ‘परदेशी–२’को काममा व्यस्त छन् ।

बढ्दो व्यस्तता अनि सफलता र उपलब्धि

जतिबेला भरतको सम्पादन रहेको म्युजिक भिडियो ‘म हुँ प्रकृती’ ले सफलता प्राप्त ग¥यो, यो सफलता उनकोे जीवनकै यूर्टन सावित भयो । ‘यो गीत नै मेरो जीवनको यूटर्न मोड बन्यो, त्यस यता मैले मल्टिमिडियाको यात्रामा पछि फर्केर हेर्नु परेको छैन, ’ भरत ती दिन सम्झिएर रोमान्टिक बन्छन् । उनको सम्पादनमा बनेका ‘वनमा फूल्यो फुल..’, ‘बाचुँन्जेलीलाई’, ‘गुराँस फूल्यो…’ लगायतका म्युजिक भिडियोले पनि बजारमा चर्चा पाए । भरतको काम सम्पादनमा मात्र सिमित थिएन । उनी टिभिसी एड, कलरिङ हुँदै ग्राफिक्सका काममा पनि उतिक्कै सृजनशील थिए भने ठूलो ब्यानरका फिल्म निर्माताले पनि उनलाई सम्झन थालेका थिए ।

हुन त भरतले सुरुमा आफ्नै निर्देशनमा घरेलु हिंसामा आधारित ‘एफेक्ट्स’ शीर्षकको छोटो चलचित्र निर्देशन गरेका थिए । पछि यो निकै सफल र अन्तर्राष्ट्रिय अवार्ड फेस्टिभलमा पुरस्कृत समेत भयो । तर, फिल्म ‘जलजला’बाट भने उनले ठूलो पर्दाको चलचित्र सम्पादनको काम पनि सम्हाल्न थाले । फिल्म ‘अन्दाज’, ‘कलिउड’, ‘ऋतु’, ‘कथा काठमाडौं’, ‘सुश्री सम्पति’, ‘चौका दाउ’ जस्ता फिल्ममा उनको भिडियो सम्पादकीय कौशल हेर्न सकिन्छ ।

यसरी भरतले नेपाली मनोरञ्जनसँगे मल्टिमिडियाको क्षेत्रमा उत्कृष्ट काम मात्र गरेका छैनन्, उनले आफ्ना कामबाट थुप्रैको मन जितेर एवार्ड समेत हात पारेका छन् । उनले हालसम्म भिजुअल इफेक्टमा दुई तथा एडिटिङतर्फ दुई वटा पुरस्कार पाइसकेका छन् भने, बिन्ध्यवासिनी म्युजिक एवार्ड २०१३ मा ‘म पग्लिन्छु’ गीतको भिडियोबाट सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादकको अवार्ड जितेका थिए । यस्तै नेपाली म्युजिक भिडियो अवार्ड २०१८ मा सेल्फि क्विन गीतको भिडियोबाट बेस्ट पप म्युजिक भिडियो एडिटर अवार्ड समेत भरतले आफ्नो पोल्टोमा पारेका थिए ।

मल्टिमिडिया करियर, सन्तुष्टी र सुझाव

रेडियो, टेलिभिजनको दुनियाँमा आवाजका माध्यमबाट करियरलाई अघि बढाउने सपनाको असफलता अनि मल्टिमिडिया क्षेत्रमा बढेको रुचि र सफलताले आज भरत ‘डिजिटल आर्टिष्ट’ को रूपमा परिचित छन् । अथक मिहेनत र धैर्यताका साथ सृजनशील बनेका भरत मल्टिमिडियाभित्र थुप्रै सम्भावना देखेर नै यसक्षेत्रमा होमिएका थिए । जहाँ उनी सन्तुष्टीका साथ रमाईरहेका छन् ।

‘सुरुवाती दिनलाई नजरअन्दाज गर्ने हो भने, आर्थिक हिसाबमा म सवल छु । जे सोचेर करियर सुरु गरेको थिएँ, त्यसमा सन्तुष्ट छु,’ मल्टिमिडिया क्षेत्रमा थुप्रै सम्भावना देख्छन् भरत, ‘विधागतरूपमा भन्दा पनि आफ्नो सीप र क्षमताको परिधिलाई केही फराकिलो बनाउने हो भने, नेपालमा मल्टिमिडियाको क्षेत्रमा रहेर करियर बनाउने प्रशस्त आधार छन् । नयाँ पुस्ताले अझ नयाँ–नयाँ प्रविधिको प्रयोग गर्न सके भविष्य सुन्दर छ । तर, धैर्यतासँगसँगै अथक मिहेनतका लागि भने कुनै सम्झौता गर्नु हुँदैन ।’

मल्टिमिडियाको क्षेत्रमा भिएफएक्सको बढ्दो प्रयोगलाई ठूलो अवसरका रूपमा ग्रहण गर्न सक्नु पर्ने भरतको बुझाई छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका काम नेपालमा उपलब्ध हुने भएकाले नयाँ पुस्ताले यी अवसरको सदुपयोग गर्नुपर्ने सुझाव दिन्छन् उनी ।

Logo