आयल निगमको प्रदेश १ कार्यालयले सिरहा र सप्तरीका सबै पम्पमा तेल वितरण रोक्यो

आयल निगमको प्रदेश १ कार्यालयले सिरहा र सप्तरीका सबै पम्पमा तेल वितरण रोक्यो


नेपाल आयल निगमको प्रदेश १ कार्यालय विराटनगरले सिरहा र सप्तरीका सबै पम्पमा तेल वितरण गर्न रोकेको छ । आइतबार राति अपहरणमा परेको भनिएको ट्याङ्कर धनुषामा रित्तै भेटिएको थियो । त्यसैको  छानबिनका लागि  त्यस क्षेत्रका पम्पहमा तेल वितरण रोकिएको आयल निगम प्रदेश १ डिपो प्रमुख अशोक साहले बताए । साह ट्याङ्कर अपहरण प्रकरण छानबिन गर्न निगमले बनाएको छानबिन समितिका अध्यक्ष हुन् ।

‘तेल जथाभावी खन्याउने वस्तु होइन, पक्कै कुनै पम्पमा खन्याइएको हुनुपर्छ, जाँच्नका लागि वितरण रोक्नुपरेको हो,’ साहले भने ।

तेल वितरण रोकेर निगमको टोली प्रहरीसहित सप्तरी र सिरहाका सबै पम्प अनुगमन गर्न निस्केको साहले बताए । उनका अनुसार थप अनुसन्धानका प्रक्रियाबारे सप्तरी जिल्ला प्रशासनमा छलफल भइरहेको छ ।

ट्याङ्कर अपहरण प्रकरणमा भइरहेको अनुसन्धानमा सहयोग गर्न आयल निगमको केन्द्रीय कार्यालयबाट चार सदस्यीय टोली विराटनगर प्रस्थान गरेको छ । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइत नेतृत्वको टोली विराटनगरतर्फ बुधबार दिउँसो प्रस्थान गरेको निगमले जनाएको छ ।

Logo