जब गायिका सरिता प्रजापतिले पहिलो पारिश्रमिक ३ हजार पाईन

जब गायिका सरिता प्रजापतिले पहिलो पारिश्रमिक ३ हजार पाईन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालगञ्जका वरिष्ठ पत्रकार जे पाण्डेले पहलवानपुरमा पर्यटन महोत्सव भईरहेको गीत गाउँन जाउँ भन्दा भक्तपुरकी सरिता प्रजापति एकदमै खुशी देखिईन् । पत्रकार पाण्डेको भनाईलाई स्वीकार गर्दै उनी २०६८ सालमा कैलालीको पहलवानपुर आयोजित पर्यटन महोत्वसमा गीत गाउन नेपालगञ्जबाट आईन् । त्यहाँ उनले जीवनमै पहिलो पटक स्टेज प्रफर्मेन्स गरिन् ।

त्यही कार्यक्रमबाट उनले थप हौसला पाईन् । त्यसपछि लाग्न थाल्यो, ‘अब मैले गर्न नसक्ने के छ र ?’ जहाँ उनले ३ हजार रुपैयाँ पारिश्रमिक पनि पाईन् । त्यो नै उनको गीतबाट आएको पहिलो कमाई थियो । उनले आर्थिक रुपमा थोरै पैसा पाएपनि दर्शकको अपार मायासँगै उनको कन्फिडेन्स लेभल निकै हाई भयो । त्यहीबाट आफ्नो सांगीतिक विधालाई अगाडि बढाईन् ।

उनी नेपालगञ्जलाई आफ्नो जीवनको टर्निङ प्वाईन्टका रुपमा लिन्छिन् । सरिताको एसएलसीसम्मको पढाई, हुकाई भक्तपुरमा भयो । आफ्नो घर परिवारका धेरै भन्दा धेरै जना नर्सिङ फिल्डमा थिए । एसएलसी सकाएर उनी नर्सिङ पढ्न नेपालगञ्ज गईन् । नेपालगञ्जमा तीन वर्ष पढेपछि २०५९ सालमा लोकसेवामा नाम निस्कियो । त्यसपछि उनको यात्रा सुदूरपश्चिमतिर लाग्यो । उनले सुरुमा डोटीको केदारआखडा स्वास्थ्य केन्द्रमा १८ महिना सेवा गरिन् ।

त्यहाँ रहँदा कर्मचारी भएर सेवा त गर्न पाईन अर्को कुरा उनले त्यहीबाट सानैदेखि रुचीको विषयलाई पनि अगाडि बढाईन् । त्यो रुचीको विषय थियो, गायन । उनलाई जहाँ गयो त्यहिको लोकभाका एकदमै मन पर्छ । उनी सुदूरपश्चिमप्रति विशेष झुकाव राख्छिन् । एक त उनको करियरको सुरुवात सुदूरपश्चिमबाटै भयो । अर्कोतिर त्यहाँका मानिसले दिएको माया प्रेमले मन तानेको हुन्छ ।

उनलाई सुदूरपश्चिमतिरको ठाडी भाका, देउडा गीत सुन्नुका साथै गाउँने पनि मौका मिल्यो । उनले केही डोटेली भाकाका गीतहरु पनि गाएकी छन् । सुदूरपश्चिम उनको भाग्यको क्षेत्र पनि हो । एक त लोकसेवामा नाम निकालेर त्यही सेवा गर्ने मौका पाईन् अर्को महत्वपूर्ण कुरा भनेको गीत संगीतको सुरुवात पनि त्यहि क्षेत्रबाट सुरु गरिन् ।

उनले पहिलो एल्बम ‘सुनिधि’ ल्याईन् । जसमा पाँच वटा गीत समावेश थिए । उनले लोक पप, देउडा, आधुनिक, तीज लगायतका गीतमा स्वर दिईसकेकी छन् । उनले भजनहरु पनि गाएकी छन् । अहिलेसम्म ५ दर्जनभन्दा बढी गीतमा आफ्नो आवाज दिईसकेकी छन् । उनलाई गाउन सबै गीत मन पर्ने भएपछि अलिकति बढी नै झुकाव ‘लोक पप’ तिर छ । उनी आफुलाई यो विधाको गायिका भन्दा पनि गायिका मात्र भनेको बढी रुचाउछिन् ।

यहाँ सम्म पुग्न उनलाई घरपरिवारको साथ पनि मिलेकै छ । घरपरिवारको साथ र सहयोगविना कुनै पनि कलाकारलाई अगाडि बढ्न सम्भव नभएको उनको भनाई छ । उनी पनि त्यहि गाह्रो साह्रोको बीचबाट अघि बढिरहेकी छन् । उनको बाल्यकाल उपत्यकामै रमाइलोको साथ बित्यो । घरमा जिम्मेवारी लिनुनपर्ने सदस्यको रुपमा थिईन् उनी । दाई, दिदीहरु हुँदा उनले घरको कुनै पनि जिम्मेवारी बहन गर्नै परेन् । अर्थात उनको बाल्यकाल निकै सुखसयलका साथ बित्यो ।

मनोरञ्जन क्षेत्रमा लागेका महिलाहरुलाई निकै गाह्रो हुने गरेको उनको भनाई छ । त्यो पीडा कुनै गायिका, नायिकाहरुले व्यक्त गर्छन कोहीले गर्दैनन् । समग्रमा भन्ने हो भने मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुलाई घरपरिवार, समाज, सबैलाई मिलाएर हिड्न एकदमै गाह्रो छ ।

यदि श्रीमान कुनै रात घरभन्दा बाहिर बस्यो र राति ढिला घरमा आयो भने कसैले प्रश्न उठाउँदैन तर श्रीमती त्यसरी ढिला आयो वा राति घरभन्दा बाहिर बस्यो भने उसको चरित्रमाथि नै प्रश्न चिन्ह खडा गरिन्छ । समाजबाट अझै पनि महिलालाई त्यतिधेरै सहज छैन् । समाजको यो सोच परिवर्तन गर्न धेरै वर्ष लाग्छ ।

उनले आफ्नो जागिरसँगसँगै सिङ्गिङलाई पनि निरन्तरता दिईरहेकी छन् । उनको अर्को मनपर्ने विषय भनेको फेसन डिजाईन हो । आफुलाई लगाउन मन परेको लुगाको डिजाईन सरिता आफैं गर्छिन् । उनी जागिरसँग सँगै गायन पेशालाई पनि निरन्तर अघि बढाउने सोचमा छिन् । त्यसैको लागि रातदिन सक्रिय भएर लागिरहेको उनको भनाई छ ।

सरिताले सम्झनालाई जाले रुमाल, ढाको टोपी, हेर्दा हेर्दै, बुढा बुढी एक्सप्रेस लगायतका गीत निकालेकी छन् । उनले नेवारी भाषाको लाप्चा थें बोया जुइगु, थारु भाषाको कञ्चनपुरमै माघी मेला जस्ता विशेष संस्कृतिका गीतमा पनि आफ्नो स्वर दिईसकेकी छन् । उनले गाएको ‘सम्झनालाई जाले रुमाल, मेरो मनमा चोखो माया गाँठो पार’ निकै रुचाईएको गीत हो ।

 

(गायिका सरिता प्रजातिसँग केन्द्रबिन्दुकर्मी कृष्णसिंह धामीले गरेको कुराकानीका आधारमा)

Skip This
Skip This
Logo