हिमालयन टेलिभिजनबाट प्रसारण हुने तयारीमा रहेको ‘द भ्वाइस अफ नेपाल सिजन–२’ मा दुई जना कोच फेरिएका छन् । सिजन २ मा गायक अनुप पौडेलको स्थानमा गायक राजु लामा र गायिका अभया सुब्बाको स्थानमा गायिका आस्था रावतलाई नयाँ कोचको रुपमा भित्र्याईएको आयोजनाले जनाएको छ ।
‘द भ्वाइस अफ नेपाल २’ ले राजु लामा, आस्था रावत, दीप श्रेष्ठ र प्रमोद खरेलसहित ४ जना कोच अनुबन्धन गरेको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । ‘युवा पुस्ताका चर्चित अनुहारहरुलाई हामीले कोचका रुपमा भित्राएका छौँ’ कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले भने ‘नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभाहरु जन्माउन उहाँहरुको योगदान महत्वपुर्ण हुनेछ ।’
सिजन २ को ब्लाइण्ड अडिसनको सुटिङ आगामी बुधबारबाट सुरु हुनेछ । झन्डै २३ हजार प्रतिभाहरुले डिजिटल अडिसनमा सहभागिता जनाएकोमा विभिन्न छनौट चरण पार गरी एक सय भन्दा बढी प्रतिभाहरु ब्लाइण्ड अडिसनका लागि चुनिएको निर्देशक पौडेलले बताए ।
‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन पहिलो साताबाट हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार साँझ ८ बजे प्राइम टाइममा हुनेछ । पहिलो सिजनको उपाधी सिडी बिजय अधिकारीले जितेका थिए ।
सिजन २ मा युनाइटेड सिमेन्ट्स टाइटल स्पोन्सर रहेको छ । एनआईसी एशिया बैंक र आइएनजी ग्रुप सहप्रायोजकको रुपमा रहेका छन् । भने भोटिङ पेमेन्ट पार्टनरका रुपमा प्रभु पे अनुबन्धन भएको पौडेलको भनाई छ । केएनपी जापान पेन्ट्स र हिमालय हर्बल सहायक प्रायोजनको रुपमा रहेका छन् ।





























प्रतिक्रिया