सयथरि बाजा एउटै ताल

सयथरि बाजा एउटै ताल

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । केन्द्रीय मानन्धर संघले काठमाडौँको वसन्तपुरमा बृहत् धाः बाजा प्रदर्शनी ११४४ सम्पन्न गरेको छ । मौलिक बाजा संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले संघले केही वर्षयतादेखि काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी युवा पुस्तामार्फत बाजा प्रदर्शनी गर्दै आएको छ । मरु गणेशस्थानको पछाडि अवस्थित माजु देगःको खुड्किलामा उभिएर सयौँ कलाकारहरूले एकै पटक, एउटै चालमा सयौँ बाजा बजाएका हुन् ।

‘मानन्धर समुदायको सघन बसोबास रहेका विभिन्न टोल मध्ये काठमाडौँका ८ वटा टोलबाट बाजा प्रदर्शनीमा सहभागी थिए,’ कार्यक्रम संयोजक सन्देश मानन्धरले बताए । कार्यक्रममा लाय्कूसाः मानन्धर समाज, भिंद्यः गुथि कालिमाटी, चस्वांद्व मानन्धर सनाःगू खलः, थँहिटी मानन्धर गुथि, दैसाः टोल मानन्धर समाज, न्यागःमणि फेदी मानन्धर संघ, मानन्धर सनाःगू खलः न्हूसाः तथा पाक्व पुखूद्यां सनाः खलःबाट आठआठ जना कलाकार सहभागी गराएको प्रदर्शनीमा १५ जना व्यावसायिक म्यूजिकल अर्केस्ट्राका कलाकारले साथ दिएको उनले जनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मानन्धर समाजले बाजा संरक्षणमा दिँदै आएको योगदानलाई प्रशंसा गरिन् । फरक प्रसङ्गमा डंगोलले सामाजिक र सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएका खलः, पुचः र गुठीको लागि चालू आवमा महानगरले यथोचित बजेट विनियोजन गर्न नसकेको स्वीकार गरिन् ।

मेयर बालेन शाहप्रति इँगित गर्दै डंगोलले महानगरबासीकै करको योगदानबाट निर्माण भएको बजेटमा थुप्रै संघसंस्थाको अधिकार विमुख भएको बताइन् । हुन पनि आव २०८१–८२ को बजेटमा केन्द्रीय मानन्धर संघ, उदाय समाज, बज्राचार्य समाज, सिस्य समाज लगायतका थुप्रै सामुदायिक संस्थाको कार्यक्रम शिर्षक कटौती भएको छ । गत वर्ष विनियोजित बजेटलाई चालू आवमा निरन्तरता दिने सवालमा मेयर शाह र कार्यपालिकाका अन्य सदस्यहरूबीच असमझदारी सिर्जना भएको बताइएको छ ।्

चस्वांद्व मानन्धर सनाःगू खलःका सचिव उत्तम मानन्धरले सञ्चालन गरेको कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर डंगोल, महानगरका प्रवक्ता नवीन मानन्धर, जनसेवा प्रहरी प्रमुख, विभिन्न बाजा खलःका गुरुहरू तथा हजारौँ दर्शकहरू सहभागी थिए ।

Logo