सन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

सन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । वसन्तपुर शिवपार्वती डवलीमा तान्त्रिक बौद्ध नृत्यमा आधारित चर्या नृत्यहरुको प्रदर्शनी गरिएको छ । काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले विश्व सम्पदा दिवसको अवसर पारेर ध्यान, अनुष्ठान र उत्सवका अवसरमा प्रदर्शन गरिने नृत्य प्रस्तुत गरेको हो ।

यस्ता नृत्यहरु बज्राचार्यहरुले गुप्त रुपमा गर्ने गरेका छन् । महानगरपालिकको सांस्कृतिक महानगर स्वर्णिम योजनाका फोकल पर्सन धर्म मुनिकारका अनुसार अमूर्त सम्पदाको प्रवर्धन र पुस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको हो ।

देवीदेवताको भावमा देव कलाकारहरुले प्रस्तुत गरेको नृत्यमा स्वयम्भूराज शाक्य र सुमन कपालीले गायन प्रस्तुत गरेका थिए । उनीहरुको गायनमा षोडष लास्य, अन्नपूर्ण देवी, महामञ्जुश्री, आर्यतारा देवी, बज्रयोगिनी देवी, रक्त गणेश, अबलोकितेश्वर, वज्रपाणी बोधिसत्व र पञ्चवुद्ध स्तोत्र नृत्य प्रदर्शन गरिएको थियो ।

षोडष लास्य नृत्य पञ्च बीजाक्षर (मन्त्रको पहिलो अक्षर)बाट उत्पत्ति भएका १६ देवीहरुको भाव नृत्यको हो । देवीहरु मण्डलाकारमा बसेर बाद्यबादनको धुनसँगै मुख्य देवताको पञ्चोपचार पूजा यस नृत्यको कथा हो ।

नृत्यमा समेटिएको अन्नपूर्ण देवीको मन्दिर काठमाडौंको असनमा छ । आठ वटा हातमा शक्ति लिएकी तीनवटा नेत्रले दृष्टि प्रदान गर्ने देवीको महिमा समृद्धि प्रदान गर्ने शक्तिका रुपमा प्रख्यात छ ।

उनले आफूसँग भएको शक्तिलाई प्राणीहरुको अहित गर्नेहरुको नाश गर्न प्रयोग गर्छिन् भन्ने विश्वास गरिन्छ । अन्नले भरिएको कलश अन्नपूर्णको बिम्ब हो ।

उपत्यकामा भएको पानीको ठूलो दहलाई चन्द्रहास आकारको खड्गले काटेर उपत्यकालाई बस्ती योग्य बनाउने महामञ्जुश्रीलाई नेपाल मण्डलको स्थापनासँग जोडेर हेर्ने गरिन्छ । पहेँलो वर्ण भएका, चारवटा हातमध्ये दायाँ हातमा चन्द्रहास खड्ग र धनुष, वायाँ हातमा प्रज्ञा पुस्तक र वाण लिएका महामञ्जुश्रीलाई वुद्ध ज्ञान प्रदान गर्ने शक्तिका रुपमा हेर्ने गरिन्छ ।

Logo