काठमाडौं । रंगकर्मी घिमिरे युवराजद्वारा लिखित र निर्देशित नाटक ‘लस्ट एण्ड फाउन्ड’ काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा जेठ ३ गतेदेखि मञ्चन भइरहेको छ ।
यो नाटकले वर्तमान समाजका जटिल मुद्दाहरूलाई इतिहासको कालखण्डसँग जोडेर संवेदनशील ढंगले प्रस्तुत गरेको छ। यो नाटक केवल मनोरञ्जनको माध्यम नभई सामाजिक, मनोवैज्ञानिक र ऐतिहासिक सवालहरूमा गम्भीर विमर्शको मञ्च पनि हो।
नाटकले पहिचान, नागरिकताबिहिनता, पितृसत्तात्मक संरचना र व्यक्तिगत संघर्षलाई बुद्धकालीन जीवनको सन्दर्भसँग जोडेर प्रस्तुत गरेको छ।
नाटकको कथावस्तु काठमाडौंको एक क्याफेबाट दुई मुख्य पात्र भूमि (पवित्रा खड्का) र सागर (सुमित भण्डारी)—को भेटबाट सुरु हुन्छ । भूमि, एकल आमाले हुर्काएकी अनागरिक युवती, लुम्बिनी क्षेत्रमा टुरिस्ट गाइडको रूपमा काम गर्छिन्। उनको जीवनमा बाबुको पहिचानको अभाव र समाजप्रति उनको गुनासोले उनलाई एक जटिल र बहुआयामिक पात्र बनाउँछ। अर्कोतर्फ, सागर क्यानडाबाट नेपाल फर्किएका पात्र हुन्, जो आफ्नो वैवाहिक जीवनमा सन्तुष्ट छैनन्। यी दुई पात्रको संवादले नाटकको कथा अगाडि बढ्छ, जहाँ उनीहरूको वर्तमान जीवन र बुद्धकालीन समयको समानान्तर कथा बुनिन्छ।
भूमिको चरित्रले नेपाली समाजमा पितृसत्ताको गहिरो जरा र त्यसको ऐतिहासिक निरन्तरतालाई प्रश्न गर्छ। उनको बाबुको पहिचान खोज्ने यात्रा र बहुव्यक्तित्वको मनोवैज्ञानिक संघर्षले नाटकलाई गहिरो बनाएको छ। सागरको चरित्रले भने विदेशमा बिताएको समय र व्यक्तिगत असन्तुष्टिको कथा मार्फत् आधुनिक जीवनको खोज र हराइरहेको पहिचानको विषयलाई उजागर गर्छ।
नाटकमा यशोधराको मातृत्व संघर्ष र बुद्धको कथालाई पनि संवेदनशील ढंगले समेटिएको छ। भूमि सागरलाई बुद्धको कथा सुनाउँदै जाँदा उनले आफ्नै जीवनको सङ्घर्षलाई समाज र राज्य प्रणालीसँग जोडेर प्रश्न उठाउँछिन्। यो कथाले दर्शकलाई इतिहास र वर्तमानको अन्तरसम्बन्ध बुझ्न प्रेरित गर्छ।
‘लस्ट एण्ड फाउन्ड’ को सौन्दर्य यसको भव्य सेट डिजाइन, प्रभावकारी लाइटिङ र कलाकारहरूको सशक्त अभिनयमा निहित छ। पवित्रा खड्का, सुमित भण्डारी, सुहाना आचार्य, र गोविन्द ओलीलगायतका कलाकारहरूले आफ्नो अभिनय र शारीरिक हाउभाउमार्फत् कथालाई जीवन्त बनाएका छन्। नाटकको प्राविधिक पक्षमा देव न्यौपाने र निरज चौधरीले पनि महत्त्वपूर्ण योगदान दिएका छन्।
नाटकको सेट र लाइटले कथालाई समय र स्थानको सीमाभन्दा माथि उठाएर इतिहास र वर्तमानको संवादलाई थप प्रभावकारी बनाएको छ। बुद्धकालीन सन्दर्भ र आधुनिक जीवनको मिश्रणले दर्शकलाई एकैसाथ विगत र वर्तमानमा डुब्न बाध्य बनाउँछ।
रंगकर्मी घिमिरे युवराजले यस नाटकलाई चरितार्थ गर्न ३ महिनाभन्दा बढी समय रिहर्सलमा खर्चिएको बताए । नाटकमार्फत सहरमा बस्ने मानिसहरुको मनोविज्ञान, चुनौती, सहरिया मानिसको सम्बन्धको सुन्दर र शंकट देखाउन चाहेको पनि उनले बताए ।
जेष्ठ १७ गतेसम्म चल्ने यो नाटक हरेक साँझ सवा ५ बजे र शनिबारको दिन दिउँसो १ र सवा ५ बजे काठमाडौंको शिल्पी थिएटरमा हेर्न सकिन्छ ।





























प्रतिक्रिया