मिसेस नेपाल वर्ल्डका लागि आवेदन खुला

मिसेस नेपाल वर्ल्डका लागि आवेदन खुला

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । विवाहित महिलाहरूकाे सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्डका लागि आवेदन खुला गरिएको छ । रिबन इन्टरटेन्मेन्टको आयोजनामा हुने मिसेस नेपाल वर्ल्डको यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरिएको हो।

महिला सशक्तिकरण, आत्मविश्वास, सामाजिक सहभागिता र प्रतिभा प्रदर्शनको सशक्त मञ्चको रूपमा देश–विदेशमा नेपाली महिलाहरूको पहिचान विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम निरन्तर आयोजित हुँदै आएको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले बताए। यस वर्षको प्रतियोगिता विगतको भन्दा अझ वृहत् र व्यवस्थित ढंगले आयोजना गरिने उनले बताए।

प्रतियोगिताको ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको पहिलो चरणको अडिसन श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा सम्पन्न हुने र त्यसपछि छनोट भएकाहरूलाई विभिन्न प्रशिक्षणमार्फत फिनालेसम्मको यात्रा तय गराइने आयोजकले जनाएको छ।

मिसेस नेपाल वर्ल्ड २०२४ डेनिला कार्कीले मिसेस नेपाल वर्ल्डमा भाग लिएर विजेता बनेपछि आफूले धेरैलाई केहि न केहि ढंगले सकरात्मक रुपमा प्रभावित पार्न सकेको जनाउँदै विवाहपछि पनि आफूलाई अगाडि बढाउन चाहने महिलाका लागि यो निकै राम्रो अवसर रहेकाले अंगाल्न आग्रह गरिन्।

एमएस नेपाल इन्टरनेसनल २०२४ रेश्मा घिमिरेले आफू एकल आमा र लायन्स क्लबको महत्वपूर्ण भूमिकामा समेत आवद्ध भएको खुलाउँदै आफूमा भएको इच्छा उजागर गर्दै अगाडि बढ्नका लागि प्रतियोगीता निकै उपयुक्त रहेको र विजेता भैसकेपछि आफूले विभिन्न अवसर पाएको बताइन्। मिसेस नेपाल इन्टरनेसनल २०२४ सुयशा राउतले यो प्रतियोगिता विवाहित महिलाका लागि व्यक्तित्व विकास तथा सामाजिक हिसाबमा अघि बढ्ने राम्रो माध्यम भएको बताइन्।

बोर्ड डाइरेक्टर आरुषी अग्रवालले मिसेस नेपाल बाहिरी सौन्दर्यको प्याजेन्ट नभई उनीहरुको सपनालाई साकार पार्ने माध्यमसमेत रहेको बताइन्। कोरियोग्राफर आश्विनीकान्त झाले मिसेस नेपाल वर्ल्डलाई केवल राष्ट्रिय सीमाभित्र सीमित नराखी अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन विशेष योजना बनाइएको बताए।

‘हामीले यो प्रतियोगितालाई वैश्विक स्तरमा स्थापित गर्नका लागि आवश्यक पूर्वाधार र अन्तर्राष्ट्रिय समन्वयमा विशेष ध्यान दिएका छौँ। अमेरिकालगायतका देशमा रहेका नेपाली समुदाय र साझेदार संस्थासँगको समन्वयबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा अझ मजबुत बनाउने हाम्रो उद्येश्य छ’ उनले भने।

प्रतियोगितामा सहभागी हुनको लागि उचाइ र तौलको मापदण्ड राखिएको छैन, तर इच्छुक प्रतियोगी न्यूनतम एसएलसी उत्तीर्ण भने हुनुपर्नेछ। प्रतियोगितामा एकल महिलाले पनि सहभागिता जनाउन सक्नेछन्। आवेदन खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिनेछ। प्रतियोगिता अवधिभर विभिन्न क्षेत्रका विज्ञ प्रशिक्षकद्वारा व्यक्तित्व विकास, प्रस्तुति कला, आत्मविश्वास अभिवृद्धि, सञ्चार सीप लगायतका विषयमा विशेष प्रशिक्षण प्रदान गरिनेछ।

प्रतियोगितामा कोरियोग्राफर आश्विनीकान्त झा रहनेछन् भने नृत्य कोरियोग्राफी सन्दीप भुजेल, सहायक कोरियोग्राफर आईना गजुरेल रहने छन्। प्रतियोगिताको समन्वय सम्राट शाह र गंगा महर्जनले गर्नेछन्। मिसेस नेपाल वर्ल्डसँगै मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेता पनि सोही मञ्चबाट घोषणा गरिनेछ।

विजेता मिसेस नेपाल वर्ल्डले आगामी वर्ष अमेरिकामा हुने मिसेस वर्ल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।

Logo