वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ प्रदर्शनमा

वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ प्रदर्शनमा

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्ज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ आजदेखि सार्वजनिक प्रदर्शन भएको छ ।

उज्ज्वल थापा फाउन्डेसनले तयार गरेको उक्त वृतचित्रमा स्व थापाले राष्ट्र निर्माणका लागि राजनीतिक, सामाजिक, आर्थिक पक्षमा गरेका योगदान, परिकल्पना, अभियान र युवा नेतृत्वको भूमिकालाई समावेश गरिएको छ । स्व थापाका शुभेच्छुकहरूबाट रकम सङ्कलन गरेर तयार गरिएको उक्त वृत्तचित्रलाई सुदीप भाजुले निर्देशन गर्नुभएको छ । निर्देशक भाजुले वृतचित्र सुरू गर्दा र सकिनेबेलासम्ममा स्व थापाको जीवनीले आफूलाई प्रभाव पारेको बताए ।

“वृत्तचित्र सुरु गर्दा सामान्य मान्छेको असामान्य यात्रा भनेर सुरुआत गरेका थियौँ, तर उज्ज्वल दाइले गर्नुभएको कार्य कुनै सामान्य मान्छेले गर्न सक्दैन, उहाँको भौतिक शरीर हामीसँग नभए पनि उहाँको विचारले अझै हाम्रो दिमाग घोचिरहेको छ, यो नै उहाँको सफलता हो, यसमा हामीले उज्वल दाईलाई नजिकबाट चिन्ने र बुझ्नेको भनाइ समेट्ने प्रयास गरेका छौँ”, निर्देशक भाजुले भने ।

आइटी उद्यमी, सामाजिक अभियन्ता हुँदै विवेकशील नेपाली दलको नामबाट राजनीति यात्रा सुरुवात गरेका स्व थापाको प्राथमिकताको पहिलो नम्बरमा सधैँ देश नै रहेको उहाँकी श्रीमती एरिका अधिकारीले बताए । “आफ्नो परिवारलाई दोस्रो नम्बरमा राख्ने उज्ज्वलले देशलाई धेरै माया गर्नुहुन्थ्यो, उहाँले आफ्नो कमाइ नै ‘सोसल क्यापिटल’ रहेको बताउनुहुन्थ्यो, मैले त्यो उहाँ बिरामी हुँदा अस्पतालमा उपचारका लागि र यो वृत्तचित्र निर्माण गर्न स्वःस्फूर्त रुपमा आर्थिक सहयोग सङ्कलन भएको देखेर बुझेँ”, उहाँको विचारलाई अपनाएर केही गर्नसके मात्र पनि उहाँलाई शान्ति मिल्नेछ”, अधिकारीले भने।

‘आन्टरप्रेनर्स’ फर नेपाल एवं वर्डप्रेस नेपाल कम्युनिटीका संस्थापकसमेत रहनुभएका स्व थापा स्याङ्जाको सामान्य परिवारमा जन्मिए तापनि मल्टीमिडियामा स्नातक गरेर चर्चित सर्च इञ्जिन याहु डटकमसम्म पुग्नुभएको थियो । आइटी उद्यमशीलता सुरू गरेर नेपाली राजनीतिमा होमिनुभएका थापालाई कोरोना र निमोनियाले च्यापेपछि २०७८ जेठमा निधन भएको थियो । वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ मा उहाँको बाल्यकालदेखिकै कथालाई समेटिएको छ ।

एक घण्टा ५० मिनेट अवधिको उक्त वृत्तचित्रलाई सार्वजनिक प्रदर्शन अगाडि बुधबार बेलुकी आयोजना गरिएको विशेष प्रदर्शनी (प्रिमियर) मा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्री प्रदीप पौडेल, सुमना श्रेष्ठ, डाक्टर गोविन्द केसी, गायिका आनी छोइङ डोल्मा, राजनीतिज्ञ रवीन्द्र मिश्रलगायतले हेर्नुभएको थियो । 

Skip This
Skip This
Logo