मृत आमाको काखमा सुतेका छोराको वियोगान्त दृश्य चित्रमा कोरियो

मृत आमाको काखमा सुतेका छोराको वियोगान्त दृश्य चित्रमा कोरियो


केही समयअघि मृत आमा र तिनै आमाको काखमा सुतिरहेका दुधे बालकको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको थियो। रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनकै ३२ महिने छोराको सो तस्बिरले दुनियाँलाई भावुक बनायो/बनाइरहेको छ। 

आफ्नै उपचारका लागि ३ भदौमा दुधे बालकसहित नाइट बस चढेर नेपालगञ्ज जानेक्रममा काखमा बच्चा च्यापेकै अवस्थामा प्राण त्यागेकी धर्माकुमारी र उनकै काखमा बसिरहेका बालकको तस्विरलाई कलाकार चार्ली बानियाँले चित्रमा उतारेका छन्। 

भक्तपुर निवासी कलाकार बानियाँले खोटाङका युवा नेता बम बानियाँको आग्रहमा मृत धर्माकुमारी र उनकै काखमा सुतिरहेका बालकको तस्विरको चित्र कोरेका हुन्। छवाली आर्टमा दख्खल राख्ने कलाकार बानियाँले बसको सिटमा प्राण त्याग गरिसकेकी आमा र उनकै काखमा सुतिरहेका बच्चाको तस्बिरलाई चित्रमा दुरुस्त उतारेका छन्। 

‘मेरो अनुरोधमा प्रिय भाई चार्ली बानियाँले यो इतिहासकै दुर्लभ र संवेगात्मक दृश्यलाई चित्रमा उतार्नु भएको हो,’ बम बानियाँले भने, ‘अरु केही गर्न नसके पनि म यो चित्र कोठाको भित्तामा सुरक्षित राख्ने छु। यो सार्वजनिक र भाइरल कथा भए पनि सामान्य मान्छेको कथा भएको हुनाले छिटो स्मरणमा हराउने सोचेर मैले राख्न खोजेको हुँ।’ 

नेपालगञ्जमा रहेका श्रीमान दलबहादुरलाई भेट्ने र उपचार गर्ने सल्लाह अनुसार धर्माकुमारी दुधे बालक बोकेर बसको यात्रामा निस्केकी थिइन्। तर, उनले श्रीमानलाई भेट्न पाइनन्। रातको समयमा गुडिरहेकै बसको सिटमा उनको प्राणपखेरु उड्यो। उनको काखबाट खसेका बच्चा रुन थालेपछि मात्र अन्य यात्रुले धर्माकुमारीको मृत्यु भएको थाहा पाएका थिए। फकाउँदा पनि नमानेपछि अन्य यात्रुले बालकलाई मृत आमाकै काखमा राखिदिएको समाचार सार्वजनिक भएको थियो।न्युज कारखानाबाट

Logo