रुपचन्द्र विष्टका अनौठा स्वभावहरू

रुपचन्द्र विष्टका अनौठा स्वभावहरू


  • शन्तराम विडारी- 

उत्तरी मकवानपुरको उर्वर माटोमा जन्मिएका रुपचन्द्र बिष्ट एक राजनीतिक र दार्शनिक व्यक्तित्व त हुँदै हो, उनको व्यवहार, आचरण, कार्यशैली लगायतका सबै पक्ष बिचार गर्दा उनी उद्भुत क्षमता र विलक्षण प्रतिभाको धनी रहेको स्पष्ट हुन्छ ।

‘सादा जीवन उच्च विचार’का अनुयायी रुपचन्द्र बिष्ट अर्थात रुदाने असली कम्युनिष्ट र व्यवहारवादी नेताका रुपमा समेत परिचित छन्  ।उनका जीवनकालभरी सुनिएका, पढिएका र जनमुखी सहकर्मीहरुद्धारा भोगिएका पक्षहरुलाई दृष्टिगत गरी एक वृहत खोज तथा अध्ययन गर्नु आवश्यक छ । जुन खोजबाट रुदाने को हो ?

उनले किन त्यस्ता व्यवहारहरु प्रदर्शन गरे र ती सबै व्यवहारको सार तथा निचोड के थियो भनेर नयाँ पुस्तालाई रुदानेबारे चेतना जागृत गर्न र पढाउन मद्दत पुग्छ ।

एकाध पटक आमुन्ने–सामुन्ने भएर प्रत्यक्ष रुपमा उनलाई देखभेट गरेको र उनको भाषण सुनेको सम्झना, त्यस घटनापछि रुदानेबारे मेरो बाल मस्तिश्कमा परेको प्रभाव र त्यस आधारमा उनकाबारे गम्भिरतापुर्वक थालिएको खोज अध्ययनका आधारमा मेरो दावी छ–‘रुदाने सामान्य मानव होइनन्, महामानव हुन् । रुदाने सामान्य होइन असामान्य व्यक्तित्व हुन् ।’

उनका जीवनसंग जोडिएका अपत्यारिला तर यर्थाथ केही प्रसंगहरुको चर्चा गर्न चाहन्छु । जसको विभिन्न व्यक्तिहरुले उधृत गर्न र पुष्टी गर्न समेत सहमति जनाएका छन् । हुन त रुदानेसंग सम्वन्धीत अविश्मरणीय र मिथकीय प्रसंगहरु अनगिन्ती छन् तर पनि ति सबै यर्थाथताको धरातलमा जँचिनु भन्दा मिथक बनेर जनमानसमा घुमीरहेको पाइन्छ ।

जिँउदो छँदै मरेको हल्ला

रुदाने विशिष्ट प्रकारको मान्छे हुन् । उनले त्यतिबेला तत्कालिन शाशकहरु र शासन व्यवस्थालाई चुनौती दिइरहेका थिए । त्यसो भएको हुनाले उन का पछाडि विभिन्न तहका राष्ट्रिय र अन्तराष्ट्रिय सिआइडीहरु पछि लाग्ने गर्न थाले । यही क्रममा २०२८ साल माघ १ गते माघे संक्रान्तीको अवसरमा देवघाटमा मेला लागिरहेको थियो । त्यहाँ उनका माइलाबाको छोरा र साँइलाबाको छोराहरुको व्रतवन्ध थियो ।

त्यहाँ एक्कासी झुल्किए रुदाने शायद त्यतीबेला पनि सिआइडीहरुले घेरिएको जानकारी पाएर होला अचानक केहि वर्ष हराए । त्यो दिन अधिकांश मान्छे ब्रतवन्ध तिरै लागिरहेका थिए । उनी नारायणीको त्यत्रो ठूलो भेलमा एक्कासी हामफालेर डुबुल्की मार्दै तलसम्म पुगेछन् । मान्छेहरुले ज्यान बच्ने आशा मारे, शायद नारायणीले निल्यो भन्ने अनुमान गरियो । उनका बारेमा कयौं वर्षसम्म ‘मरेको हल्ला’ चल्यो ।

तर उनी पौडदैं नारायणघाट सम्म पुगेर त्यहाँबाट भारतका विभिन्न स्थानमा पुर्वीय दर्शनहरुको प्रयोग र अभ्यास गर्दै केही वर्षपछि सिधै जन्मथलो पालुङमा दाह्री कपाल पालेर साधुको भेषमा आइपुगेको र सबैभन्दा पहिले पंडितहरुको र दोस्रो चरणमा दलितहरुको भेला आयोजना गरेर पुर्वीय दर्शनको सवल र दुर्वल पक्षबारे व्यापक चर्चा परिचर्चा गरेको स्थानीय बुढापाकाहरु बताउँछन् ।

सो माघे संक्रान्त्रीको ब्रतवन्धमा आफु रुदानेसंगै भएको र उनी नदीमा डुबुल्की मारेर केही बेरपछि आई आफुसंगै पुर्वीय दर्शनको अध्ययनको लागि सगैं भारत लान खोजेको तर आफ्नो परीक्षा परेका कारण जान नसकेको रुदानेका सहोदर कान्छा भाई तथा वरिष्ठ व्यवसायी गुणचन्द्र विष्ट बताउछन ।

साँढेसंग कालिमाटीमा नियमित जुधाई

रुदाने कालिमाटी बस्दा पहलमान कहालिन्थे  । उनी रापस नहुँदै चर्चित व्यक्तित्व थिए । एक बलियो साँढेसंग नियमित जुझ्ठे उनी । एकसे एक गुण्डाहरु उनीसंग तर्सन्थे पनि । शरीरलाई शक्ती सन्तुलनमा राख्न यो आवश्यक भएको उनको तर्क थियो ।

हालको बिष्णुमती पुलबाट सोल्टीमोडसम्म रुदाने र साँढेको जुधाइको व्यवस्थापन गर्ने काम केदार मानन्धरले गर्थे । एक फेर रुदानेलाई साँढेले घचेट्दै घचेट्दै सोल्टीमोड पु¥याउने र सोल्टिमोेडबाट रुदानेलाई साँढेलाई घचेट्दै–घचेट्दै विष्णुमती पुलसम्म पु¥याउने काम गर्थे  ।

यो क्रम पाँच पटकसम्म गरेपछि मान्छेहरुको जात्रासरी भिड लाग्थ्यो । साँढेलाई त्यसरी थकाएपछि उनले साँढेको भुँडीमा आफ्नो खुट्टा राखेर साँढेको दुइवटा सिङ समातेर पर्लक्क पल्टाएर साँढेलाई भूँइमा सुताइदिन्थे । साँढे र उनको प्रेमभाव हुन्थ्यो । रुपचन्द्र आएपछि त्यो साँढे पनि पुच्छर हल्लाउदै, मुन्टो बटार्दै रुपचन्द्र भएको ठाँउमा आइपुथ्यो ।

पछि साँढेलाई एक पाथी चना र आफुलाई एक कुरुवा चनाको व्यवस्थापन हुन्थ्यो । चना खाइसकेर उनीहरु छुट्टीने गरेको रुपचन्द्रका विद्यार्थी समेत रहेका जनमुखी सहकर्मी रामनारायण बिडारी बताउछन् ।

 

बिडारीले २५ पैसा नतिर्दा सार्वजनिक सभा

मकवानपुर स्थित जनकल्याण माविमा रुदाने हेडमास्टर हुँदा त्यतीबेला ३८ वटा विहानी स्कुल चलाइएको थियो । हाइस्कुल पढ्ने ९ र १० कक्षाका विद्याथीहरुले ति विहानी कक्षामा गएर अनिवार्य पढाउनुपथ्र्यो । सोही क्रममा जनमुखी सहकर्मी तत्काल ९ कक्षमा पढने रामनारायण बिडारी पनि पालुङ–अंगारे भन्ने गाँउमा पढाउन जाने गर्थे । दिँउसो पढ्न नपाउने बालवालिकाहरु त्यो विहानी कक्षामा पढ्थे । त्यस वापत प्रतिमहिना प्रति व्यक्ती ७५ पैसा तलव पाइन्थ्यो । त्यस तलव सबै एकै ठाँउमा जोडेर हिसाव निकालेपछि पढाउन जानेहरुबीच बाँढ्ने काम हुने रहेछ ।

त्यसरी बाँड्दा बिडारीले अर्को कुनै व्यक्तिलाई २५ पैसा दिनुपर्ने देखिएछ । उनले ‘२५ पैसा त हो नि’ भनेर त्यो हिसावलाई खासै महत्व नदिइ बस्नुभएछ । तर रुदानेले त्यो २५ पैसाको लागि शिखरकोट बजारमा सभा नै राखेछन् ।

‘अहिले मैले यो बारेमा उनलाइ सच्याउन सकिन भने भोलि पदमा हुँदा ठूलै रकम पनि गोलमाल गर्ने बानी हुन सक्छ भनेर उसलाई बुझाउनका लागि नै यो सभा राखिएको हो, उसले आज दिनभरीमा २५ पैसा जहाँबाट ल्याएर भएपनि हिसाव समायोजन गर्नु’ भनेर समय दिनु भयो । त्यो सार्वजनिक प्रचारपछि बिडारी भने लाजले भुतुक्कै भएर २५ पैसा ल्याएर हिसाव समायोजन गरेको अनुभव हाल राष्ट्रिय सभा सदस्य रहेका बिडारीले सुनाए ।

मुख्यमन्त्री पौडेलको तन्ना लिलामी

अहिलेका ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल एकताका विद्यालयको शिक्षक थिए भने रुपचन्द्र विष्ट त्यतीबेला राष्ट्रिय पञ्चायतको सदस्य थिए । रुदाने त्यतिबेला हेटौंडाको महेन्द्र चोकमा पर्चा बेच्दै थिए । रुपचन्द्रलाई देखेपछि पौडेल पनि आए, उनीहरुबीच कुराकानी भयो । पौडेलले पर्चा लैजाने कुरा गर्नुभएछ । रुदानेले शायद हिसाव गरेर पैसा पछि दिने शर्तमा डोरमणी पौडेललाई ३५ रुपैंयाको पर्चा दिए  । पैसा दुइ चार दिन भित्र दिने प्रतिवद्धतापछि डोरमणी पौडेल त्यहाँबाट हिँड्नुभयो ।

तर बीच बीचमा भेट्दा पनि डोरमणी पौडेलले पैसा नदिएपछि रुपचन्द्रलाई शायद रिस उठेछ क्यारे । ३–४ महिनासम्ममा पनि रुदानेले पैसा नपाएपछि उनी डोरमणी पौडेलको नवलपुर स्थित घरमा नै पुगे ।

उतिबेला पौडेल न्युन आय भएको सामान्य मान्छे नै हुनुहुन्थ्यो । घरमै पुगेर रुदानेले ‘खै ले त भाते, त्यो ३५ रुपैंया भनेर हप्काएछन् । त्यती बेला पौडेलले पैसा दिन आलटाल गरेपछि रुदाने आफैं घरभित्र छिरेर खाटमा हालिराखेको राम्रो तन्ना टिपेर हिडेछन् । रुदानेले सो तन्ना ल्याएर चौतारोको वर पिपलको रुपमा झुन्ड्याउनुभएछ र कागजको टुक्रामा ‘यो डोरमणीको तन्ना हो, रु ३५ मा लिलाम बढाबढ छ ’ भनेर लेखिदिएछन् ।

त्यसपछि त्यहाँ धेरै मान्छे आएर हेर्न थाले । एकछिनपछि पौडेल आफैं आएर आफ्नो गोजीबाट ३५ रुपैंया तिरेर घरको तन्ना लिएर गएको रोचक प्रसंगको चर्चा छ । ‘जुन कुरा डोरमणीजी आफैंले रुदानेको १३ औं स्मृति दिवशको दिन आयोजित श्रद्धाञ्जली कार्यक्रममा आफैंले भाषण गरेको कुरा हो ।’ (यो कुरा डोरमणी जिले रुपचन्द्रको मृत्यु पछि आफैले स्मृति सभामा वोल्नु भयो ।)

बिडारीका अनुसार त्यसपछि रुदानेले पौडेललाई पनि त्यँही राखेर करिव दुई सय जनाको बीचमा भाषण गरे  । भाषणमा उनी कडा तर्क समेत दिए  । रुदानेको भनाई उधृत गर्दै बिडारीले भन्नुभयो, ‘पिपलको गेडोभित्र विशाल वृक्ष हुन्छ । तर मुर्खले भने त्यो गेडोलाई चिरेर साँच्चै रुख छ कि छैन भनेर हेर्छ, अर्को मुर्खले सिलौटोमा राखेर पिनेर हेर्छ । रुख त भेट्दैन । अनि कस्तो फटाह रैछ भन्ने ठान्दछ । तर वास्तवमा  त्यै पिपलको गेडोभित्र विशाल पिपलको वृक्ष छ । त्यो सुक्ष्मरुपमा छ । मौका पायो, वातावरण मिल्यो र घामपानी मिल्यो, माटोमा प¥यो भने त्यो विशाल हुन्छ । त्यस्तै, डोरमणी पौडेलको मनभित्र भ्रष्ट्रचारको त्यस्तै विउ सुक्ष्मरुपमा रहेछ । मौका पाएपछि त्यो हुर्केर, बढेर विशाल भ्रष्ट्राचारी बन्न सक्छ ।

त्यसकारण त्यो सुछ्म विजलाई मैले झिकिदिनुपर्ने मेरो कर्तव्य थियो । मैले खोतली खोतली झिकीदिएको मात्र हुँ । तपाँइहरु जम्मैलाई चिनाइदिएको छु । यति कारणले उसको त्यो बिज सखाप भयो कि भएन भन्ने कुरा पछिका व्यवहारबाट पुष्टी हुँदै जाला । यसरी मानिसहरुका बीचमा रुदानेले बोलेको बिडारी बताउँछन् । हाल राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापनि समेत रहनुभएका रामनारायण बिडारीले जानकारी दिनुभयो ।

पौडेलले भनेको भन्दै बिडारीले भन्नुभयो, ‘रुपचन्द्रको यो कार्यले गर्दा म अहिले पनि पदमा पुगेपछि झलक्क त्यो कुरा सम्झन्छु होसियार हुन्छु ।’

यसअघि हेटौंडा नगरपालिकाको दुई कार्यकाल मेयर र हाल ३ नम्बर प्रदेश सरकारको मुख्यमन्त्री पौडेलसंगका यि प्रसंगहरु अत्यन्तै रोचक लाग्छन् ।

महिलाको घाँसको भारी बोकेर टाप

रुदाने रापस हुँदा पनि पटक पटक अभियान लिएर गाँउ जानुहुन्थ्यो । यही क्रममा इपा पुग्नुभएछ । मकवानपुरको इपा भन्ने स्थान अत्यन्त विकट ठाँउ हो । घनघोर उकालो बाटोमा एउटा अधवैंशे महिला सकी–नसकी घाँसको भारी बोक्दै तर्तरी पसिनाको धारा चुहाँउदै अगाडि बढ्दै रहिछिन् । रुदाने अजंङको बलियो भएकाले त्यो अपरिचित महिलाको डोको दाहिने हातले समातेर लुरुलुरु माथितिर जानुभयो । त्यो बिचरी महिला को अपरिचित व्यक्तिले आफ्नो घाँसको भारी हड्पयो भन्दै कराउँदै, रुदानेलाई सराप्दै पछि पछि लागिन् ।

जब रुदाने उकाले सकेर थाप्लोमा पुगे, तब घाँसको भारी भूइमा राखिदिए । महिलाको गालि गर्ने क्रम अझै रोकिएको थिएन । अरु व्यक्तिहरुले उनी माननीय भएकाले गालि नगर्न भने । रुदानेले आफुले ‘सामान्य काम गरेको’ जवाफ दिए  । ‘म पनि यतै आँउदै थिए । उसलाई साह्रै गाह्रो भएको देखें ।’ रुदानेले भने, त्यसकारण मलाई यति ल्याउन सामान्य भयो ।

महिलाले आफ्ना भाषा शैलिमा जसरी रुदानेसंग सवाल जवाफ गरिन्, त्यो गालीबाट रुदाने खुसी भए । रुदानेले गर्न खोजेकै वास्तवमा त्यही थियो । नारीहरु जतिसुकै थिचोमिचोमा पर्दा पनि सहने गर्छन,उनीहरु जाग्नुपर्छ भन्ने रुदानेको भनाई थियो । अन्याय पर्दा महिलाले यसैगरी विद्रोह गर्नुपर्छ भन्ने उदाहरण दिँदै त्यसै विषयमा त्यो बेला उनले दुइघण्टा जनमुखी सभा चलाएको उनीसंगै इपा पुगेका रामनारायण बिडारीले बताए ।

उनी गाँउ सभा आयोजना गर्दा गाँउका दलित, विधुवा महिलाहरुलाई नै सभापतिका रुपमा प्राथमिकता दिन्थे  ।

मनमोहनका पसलमा छिर्दा….

२०४७।४८ तिर मनमोहन अधिकारी नेकपा माक्सवादी पार्टी खोलेर टेकुमा बसेका थिए । शहीद शुक्र वृक्ष नजिकै चारतला माथी उनको कार्यालय थियो । रुपचन्द्रले अक्सर मनमोहन अधिकारीलाई भेट्ने गर्दो रहेछ  । एकदिन रामनारायण बिडारी र रुपचन्द्र विष्ट मनमोहनलाई भेट्न पुगेछन्।

सुरुमा मनमोहनलाई रुदानेले नमस्कार गरे । मनमोहनले ‘ओहो रुपचन्द्र आएछौ, ल ल बस’ भन्नुभयो । त्यतिबेला संगै रहनुभएका रामनारायण बिडारी भन्छन, ‘उहाँले मलाई मनमोहन अधिकारीसंग चिनाउने क्रममा भन्नुभयो, ‘यो रामनारायण बिडारी, जनमुखी अभ्यास गर्छ, यसले आवश्यक पर्दा विरोधीलाई यसरी नास गरिदिन्छ की त्यो धेरै लामो समयसम्म उठ्न सक्दैन । ’

त्यसैगरी बिडारीलाई मनमोहन चिनाउने क्रममा भनेछन, ‘उहाँ आफ्नो वर्गभित्रै विद्रोह गरेर कम्युनिष्ट राजनीतिमा लागिपरेको मान्छे मनमोहन अधिकारी हुनुहुन्छ, त्यो नै उहाँको त्याग हो । त्यसकारणले म भेट्न आउने गर्छु ।’

त्यसपछि मनमोहन अधिकारीले भन्नुभयो, ‘पसल थापेर बसेको छु, यो व्यापार नै हो । आफ्नो सामान राम्रो छ त भन्नै पर्छ । पार्टी मेरै राम्रो भन्छु, कसको के विक्री हुन्छ, कति कसले किन्न सक्छन्, त्यो आफ्नो कुरा हो । यो मेरो पसल हो ।’

अनि रुपचन्द्रले बिडारीसंग भने, ‘देखिस्, कति इमान्दार, कति प्रष्ट, गरेकै यही हो त ।’

रुदानेको प्रसिद्ध नाम ‘बहुला’

एमनेस्टी इन्टरनेशनलको अन्तराष्ट्रिय म्यागजिनको लागि अन्तवार्ता लिन भनेर एकपटक रुदानेको कालिमाटीस्थित घरमा विदेशी सहितको नेपाली टोली आइपुग्यो । अन्तरवाार्ता नेपालीमा लिए तर अन्तरवार्ता सकिएपछि रुपचन्द्रले त्यो विदेशीसंग भने अंग्रेजीमै कुरा गरे ।

औपचारिक रुपमा अन्तरवार्ता सुरु भयो । उनीहरुले पहिलो प्रश्न गरे, ‘तपाइको खास नाम नै रुपचन्द्र विष्ट होइन त ?’ उनले भने, ‘मेरा धेरै नाम छन्, प्रसिद्ध नाम चाँही त्यो होइन ।’ फेरि सोधियो, ‘प्रसिद्ध नाम के हो त ?’ उनले भने, ‘मेरो प्रसिद्ध नाम चाँही बहुला हो । सबैले बहुला भन्छन्’ फेरि सोधिएछ, ‘तपाँइ बहुलाएकै हो त ? उहाँले भन्नुभयो, ‘मेरो चाँही नाँउ बहुला हो, अरुको बुद्धी नै बहुला हो ।’

फेरि अर्को प्रश्न तेर्साइयो , अनि तपाँइको परिवार ? उनले जवाफ दिए, ‘त्यो चासो नपरेको विषय । ’ फेरि सोधियो, तपाइको शैक्षिक योग्यता ?, उनले भने , ‘थाहा पाउन खोज्ने ।’ पुन: प्रश्न जारी थियो, ‘तपाँइको ठेगाना ?’ जवाफ थियो ‘जिउको ढ्याक ।’

यस्तो प्रकारको लामो रोचक कुराकानी भएको अन्तरवार्तामै संगै रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारी बताउछन् । बिडारीले सुनाए , ‘रुपचन्द्र स सना पर्चा वेच्ने रापस हो । रापस हुदा तत्कालिन सूर्य वहादुर थापा जल्दोवल्दो राजनितिमा थिए । रुदानेले एक पर्चा दिए । उनले यो त बुझिएना भन्नु भयो । वुझ्ने पर्चा पनि छ भनेर खल्ती भित्र हात हालेर रु १० को नोट दिनु भयो र भन्नु भयो यस्ता नोट मात्र वुझ्नेहरुले जनताको भोट सैद्धान्तीक पर्चा वुझ्न कठिन छ । भनेपछि हुल सांसद हललल हाँसे । यो कत्रो व्यङ्ग थियो सम्झौं त ।’

 

(लेखक, पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष हुनुहुन्छ)

Logo