प्रधानमन्त्री ओलीको सम्बोधन र मुख्यमन्त्री केजरीवालको सम्बोधन

प्रधानमन्त्री ओलीको सम्बोधन र मुख्यमन्त्री केजरीवालको सम्बोधन


विश्व समुदाय कोरोना भाइरस (कोभिड १९) सँग लड्दैछ । यसले विश्वका ‘मै हुँ’ भन्ने मुलुकहरूलाई समेत ‘आच्छु’ ‘आच्छु’ पारेको छ । यो सामग्री तयार पार्दा सम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ भने संक्रिमतको संख्या  १४ लाख नाघिसकेको छ । चीनबाट फैलिएको यो भाइरसले यतिबेला युरोप केन्द्रित भएर विश्वभर आतंक मच्चाइरहेको छ ।

सुरूवाती दिनमा ‘चिनियाँ भाइरस’ भन्दै खेलाँची गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत अहिले चीनको सहयोग स्विकार्न बाध्य भएका छन् । कोरोना भाइरसको एपिसेन्टर नै अमेरिकाको न्युयोर्क बनिरहेको छ । अमेरिकाले यो हालत भोग्न पर्नुको एउटा कारण सुरूवाती चरणमा गरिएको खेलाँची नै हो भन्छन् विश्लेषकहरू ।

विश्व समुदाय कोरोना भाइरससँग लडिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गुमनाम बसेको आरोप लाग्यो । आरोप यतिमै सिमित रहेन । प्रधानमन्त्री ओलीकै संलग्नतामा स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको आरोप समेत लाग्यो उनीमाथि । सरकारी सुस्तता र भ्रष्टाचारको आरोपपछि प्रधानमन्त्री ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गरे ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा सोमबार नै सार्वजनिक भइसकेको थियो । प्रधानमन्त्री र राष्ट्रपतिको सम्बोधन खास र विशेष हुनुपर्छ । यसै मानेमा आम सर्वसाधारणले प्रधानमन्त्रीबाट केही न केही आश राखेका थिए । तर, सम्बोधन सकिनासाथ सर्वसाधारणले सोसलमिडियामा टिप्पणी गरे ‘हात्ती आयो हात्ती आयो फुस्सा’ ।

उनीहरूको टिप्पणी यत्तिमै सिमित भएन । उनको ‘सम्बोधन शैली’को पनि चर्काे आलोचना भयो । विपक्षी र सर्वसाधारणले मात्रै होइन सत्तारुढ दलकै केही नेता कार्यकर्ता र बुद्धिजिवीहरूले प्रधानमन्त्रीको सम्बोधनको कुनै महत्व नरहेको टिप्पणी गरे । वाहवाही हुनुपर्ने प्रधानमन्त्रीको सम्बोधनप्रति किन यस्तो टिप्पणी भयो त ? विपक्षीलाई त प्रधानमन्त्रीको सम्बोधन विरोधका लागि स्वादिलो मसला नै  बन्यो । उनीहरु भन्दैछन्, ‘संकटका बेला राष्टवादी प्रधानमन्त्रीको सम्बोधन खत्रै लाग्यो ।’

खासमा प्रधानमन्त्री ओलीको सम्बोधनको सार के हो त्यसमै अलमल देखियो । सम्बोधन सुनिरहेका स्रोता दर्शकहरूले प्रधानमन्त्रीले किन सम्बोधन गरे भनेर ‘भेउ’ नै पाउन सकेनन् । किनकी प्रधानमन्त्रीले यसअघि नै सार्वजनिक भइसकेका समाचारहरु वाचन गर्ने र असन्तुष्टी पोख्ने भन्दा अरू आकर्षक कार्ययोजना सुनाएनन् ।

मन्त्रिपरिषदका निर्णय यसअघि नै सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले सुनाइसकेका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय संयन्त्र समितिको निर्णयहरू पनि यसअघि नै सार्वजनिक भइसकेको थिए । प्रधानमन्त्रीले आफ्नो बेग्लै योजनाहरूसहित यसअघिका सरकारी निर्णयहरु सुनाएको भए सुनमा सौन्दर्य हुन्थ्यो । तर उनले यसअघि कै निर्णयहरू दोहोर्याउदा आलोचित बने।

भ्रष्टाचार नगर्न सचेत तुल्याएका प्रेसजगत र विपक्षीलाई घुमाउरो शैलीका ‘किक’ हाने । को नजिक को पराइ, को पक्ष को विपक्ष सबै एकजुट भएर संकटको सामना गर्नुपर्ने बेलामा पक्ष र विपक्षको अभिव्यक्ति दिएर प्रधानमन्त्रीले आफ्नो सम्बोधनलाई फिक्का बनाइ दिए ।

हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधन

 प्रधानमन्त्रीबाट के चाहन्थे जनता ?

अभिभावकको खाँचो त्यतिबेला महशुस हुन्छ जतिबेला संकट आइपर्छ । यतिबेला जनताले प्रधानमन्त्री (सरकार) बाट केही न केही आश गरेका छन् । सरकारले पटक पटक गरी बैशाख ३ गतेसम्मलाई लकडाउन लम्ब्याएको छ ।

एकातिर लकडाउनको प्रभावकारी कार्यान्वयन भएको छैन, अर्काेतिर लकडाउनमा सरकारले गर्नुपर्ने टेष्टलगायतका कामहरु चित्तबुझ्दो तरिकाले भएका छैनन् । यसरी लकडाउन लम्ब्याउदैमा कोरोना भाइरसको संक्रमण रोकिन्छ भनेर बस्नु मुर्खतासावित हुन्छ ।

सरकारले जति जति लकडाउन लम्ब्याउदै गयो त्यतिकै आम सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको छ । कष्टकर दैनिकी बिताइरहेको सर्वसाधारणले प्रधानमन्त्रीको सम्बोधनबाट केही राहतको आश गरेका थिए । काम गरेर खान नपाएका जनताले खानेकुराको राहत चाहेका थिए ।

सीमा क्षेत्रमा अलपत्र नागरिकले उद्धार चाहेका थिए । विदेशमा अलपत्र नागरिकले उद्धारको आश राखेका थिए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र प्रेसजगतले आफूहरूको जीवन सुरक्षाको आशा राखेका थिए । लकडाउनले अस्तव्यस्त व्यावसायीहरू सरकारीबाट राहतको प्याकेज चाहन्थे ।

खेतबारीमा तरकारी सुकेर खेर गएको छ । आफैले हुर्काएको कुखुरा आफैले मार्नुपर्ने अवस्था आएको छ । उनीहरूले क्षतिपुर्ती चाहन्थे । सामान्य बिरामीको समेत उपचार नगरी फर्काइरहेको निजी अस्पतालहरूविरुद्ध केही न केही उद्घोष होला भन्ने धेरैले सोचेका थिए ।

त्यस्तै करिव २ अर्ब भन्दा बढी रकम जम्मा भइसकेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषको रकम प्रयोग गर्ने कार्यविधि धेरैले चाहेका थिए । विश्व बैंकलगायतका अन्तरार्ष्ट्रिय संघसंस्थाबाट आएको रकम कहिले कसरी प्रयोग हुन्छ ? त्यो खोजेका थिए ।

अहिले स्वास्थ्यकर्मीहरुले अत्यावश्यक पिपिईलगायतका स्वास्थ्य उपकरण पाएका छैनन् । जनप्रतिनिधिहरू पिपिई पहिरिएर ‘फोटो शेसन’ गरिरहेका छन् । चीनबाट ल्याइएको स्वास्थ्य सामाग्रीहरु गोदाममा थन्किएका छन् । गुणस्तरहीन सामान महंगो मूल्यमा ल्याएको आरोप लागेका मन्त्री र सल्लाहकारहरुका विषयमा ‘बोल्ड डिसिजन’ आउने धेरैको अपेक्षा थियो । तर, प्रधानमन्त्रीको आँखाले भ्रष्टाचार प्रकरणमा उल्टै मिडिया र विपक्षीलाई दोषी देखे ।

अरू जनजिविकाको सवालमा ‘जहाँको त्यही बस’ भन्नु सिवाय केही राहत दिलाउने कोसिस भएन । जहाँको त्यही बस भनेर मनले मानेपनि पेटले मान्दैन । त्यो पेट भरिदिने चेष्टा सरकारले गर्लान् भनेर आशा राख्नेहरुको आशा टुषारापात भयो ।

विश्वका विभिन्न देशहरूले विदेशमा रहेका आफ्ना चिकित्सकहरूलाई स्वदेश बोलाएर उपचारमा खटाएका छन् । तर नेपाल सरकारले बिना स्रोतसाधन उपचारमा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई समेत धम्कीपूर्ण शैलीमा ‘काम गरेन भने…’ भन्ने जस्ता आदेशहरु दिइरहेका छन् । हातमा पन्जा र मुखमा मास्क समेत नदिई काममा खटाएर उनीहरूको २५ लाखको बिमा गर्नुको के अर्थ भयो र ?

प्रधानमन्त्री ओलीले सम्बोधन गरेकै दिन छिमेकी मुलुक भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक वक्तव्य दिए । हुन त भारत र नेपालबीच तुलना गर्नुलाई कतिपयले अस्वाभाविक पनि मान्लान् तर एउटा मुख्यमन्त्रीको सम्बोधनमा जे जति कार्ययोजना थिए । उनको सम्बोधनको शैली जे थियो । त्यसबाट हाम्रो सरकारले धेरै कुरा सिक्नुपर्ने देखिन्छ ।

केजरीवालको ५ टी

पहिलो टी : टेष्टिङ

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको एउटै माध्यम हो- टेष्ट, टेष्ट अनि टेष्ट । जति धेरै टेष्ट गर्‍यो त्यति नै संक्रमण फैलिने दर जोखिम कम हुन्छ । यसको प्रमाण दक्षिण कोरिया हो । दक्षिण कोरियाले संक्रमित देखिनासाथ र्‍यापीड टेष्ट बढायो जसले गर्दा अहिले त्यहाँ संक्रमण न्यून छ ।

प्रारम्भिक चरणमै सतर्कताका साथ र्‍यापीड टेष्ट गरिएको दक्षिण कोरियामा अहिलेसम्म ४ लाख ७७ हजार टेष्ट भएका छन् । त्यहाँ अहिले ४ सय जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १० हजार पुगेको छ । जबकी शुरुमा वास्ता नगर्दा अमेरिका संक्रमितको संख्या नै ४ लाख नाघेको छ भने मृतकको संख्या १२ हजार नाघेको छ ।

केजरीवालले दक्षिण कोरियाको उदाहरण दिँदै तत्काल ५० हजार जनाको टेष्ट र एक लाख जनाको र्‍यापीड टेष्ट गर्ने बताएका छन् । उनले आफैलाई प्रश्न गरेका छन्, ‘टेष्ट नै नगरिकन को संक्रमित छन्, छैन कसरी थाहा हुन्छ ?’

दोश्रो टी : ट्रेसिङ

केजरीवालले संक्रमितको ट्रेसिङलाई महत्वपूर्ण हुने बताएका छन् । संक्रमित व्यक्ति १४ दिनमा कहाँ कहाँ गएर को कोसँग भेटघाट गरे उनीहरु सबैलाई क्वारेन्टाइनमा राख्ने उनको कार्ययोजना छ । यो कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रहरीको सहयोग लिइने उनको कार्ययोजनामा उल्लेख छ ।

उनले संक्रमितको सम्पर्कमा गएका २७ हजार ७ सय २ जनाको सम्पर्क नम्वर समेत पत्ता लगाइसकेका छन् । उनीहरूलाई खोजीखोजी क्वारेन्टाइनमा राख्ने उनको योजना छ । फोन नम्वरका आधारमा उनीहरु घरमै छन् कि बाहिर निस्किए भनेर पत्ता लगाउने उनले बताएका छन् । क्वारैन्टाइन, सिल र मनिटरिङ उनको प्राथमिकतामा राखेर काम गर्ने उनको योजना छ ।

तेस्रो टी : ट्रिटमेन्ट

केजरीवालले सम्बोधन गर्दासम्म दिल्लीमा ५२५ पोजिटिभ केस देखिएका थिए । उनले दिल्लीका ६ वटा हस्पिटललाई कोरोना विशेष हस्टिलमा रुपान्तर गरि दुई हजार ९५० बेड तयारी अवस्थामा राखेका छन् । यदि बिरामीको संख्या ३ हजार नाघेको अवस्थामा अन्य हस्पिटललाई पनि कोरोना विशेष हस्पिटलमा रुपान्तरण गर्ने उनको योजना छ ।

कति केस पुग्दा कुन हस्पिटललाई कोरोना हस्पिटल बनाउने भन्ने खाका तयार पारेका छन् उनले । त्यहाँका होटल, बैंक्युट र धर्मशालालाई समेत हस्पिटलमा रुपान्तरण गर्ने उनको योजना छ । मुटु, मिर्गाैला, क्यान्सर, स्वासप्रस्वास, मधुमेह जस्ता रोगका रोग भएका र ५० वर्षभन्दा माथिका विरामीलाई हस्पिटलमा राख्ने र सामान्य विरामीलाई धर्मशाला, होटलहरुमा राखेर उपचार गर्ने कार्ययोजना बनाएका छन् उनले ।

यति मात्रै होइन कति विरामीका लागि कति भेन्टिलेटर र कति अक्सिजन आवश्यक पर्छ भनेर समेत उनले खाका प्रस्तुत गरेका छन् । ‘३० हजार विरामी भएमा हामीलाई ४ सय भेन्टिलेटरको जरुरी हुन्छ, १२ सय अक्सिजनको बेड आवश्यक हुन्छ ।’ सम्बोधनका क्रममा उनले भने । कति विरामीका लागि कति पिपिई किट्स आवश्यक पर्छ त्यो पनि खाका बनाएका छन् ।

चौथाे टी – टिम वर्क

कोरोनासँग लड्न टिम वर्क प्राथमिक कुरा भएको उनले बताएका छन् । अहिले राजनीति भन्दा माथि उठेर, केन्द्र राज्य सबै एक भएर काम गर्नुपर्ने उनको बुझाइ छ । एउटा राज्य र देशबाट सिकेर अरूले काम गर्नुपर्ने उनले बताए । स्वास्थ्यकर्मीहरूलाई उनले सबैभन्दा ठूला सिपाही भन्दै प्रशंसा गरेका छन् । “डाक्टर र नर्स हाम्रो यो टिमको अहम हिस्सा हुन् । कुनै पनि हालतमा हामी उनीहरुलाई बचाउँछौं । उनीहरु सबैभन्दा ठूला सिपाही हुन् । हामी उनीहरुका परिवारका ख्याल राख्छौं ।” उनले भनेका छन् । उनले भाजपाका नेता तथा सांसदहरूसँग पनि संवाद गरेर अघि बढ्ने बताएका छन् ।

पाँचौं टी : ट्रयाकिङ एण्ड मनिटरिङ

माथिका ४ वटा टी प्रभावकारी ढंगले सम्पादन हुन ‘ट्रयाकिङ एण्ड मनिटरिङ’ अत्यावयक हुने उनको बुझाइ छ । त्यसका लागि आफू  २४ सै घण्टा खट्ने उनले बाचा गरेका छन् ।

हेर्नुहोस् सम्बोधन

Logo