प्रधानमन्त्रीसँग स्रष्टाहरूको आशा

प्रधानमन्त्रीसँग स्रष्टाहरूको आशा


सम्माननीय प्रधानमन्त्रीसमक्ष अहिले आफ्नो हक अधिकारको पक्षमा आवाज उठाइरहेका कलाकारहरू आफ्नो दुखेसो बिसाउन बालुवाटारमा जम्मा भएका छन् । हुन त नेताहरू, मन्त्रीहरू र अन्य उच्चपदस्थ कर्मचारीहरूसँग कलाकारहरूले धेरै पटक भेटघाट गरे । धेरै पटक त्यस्ता डेलिगेसनका समाचारहरू बाहिर आए र सेलाए पनि ।

खास गरी कलाकारहरू पनि राजनैतिक व्यवस्था परिवर्तनसँगै नेतृत्वसँग धेरै नै आशावादी हुँदै गए । हरेक पटक नेतृत्व परिवर्तनसँगै नेताहरूलाई भेट्न जाने यौटा लहर नै सुरु भयो ।

जो नेता शक्तिमा आउँछ उसको नजिक रहेको कलाकार शुभकामना आदान प्रदानको लागि मात्र जाने तर गम्भीर किसिमका मुद्दाहरूमा खास छलफल नहुने गरेको विगतका भेटघाटका नतिजाले पनि देखाउँदै आइरहेको हो । अहिले अवस्था अलि फरक छ । किनभने यस पटक अग्रज कलाकार यादव खरेलको नेतृत्वमा कलाकारको समूह प्रधानमन्त्री लाई नै भेट्न गएको छ । उच्च तहको यो भेटघाटले स्रष्टा अधिकारको पक्षमा केही सकारात्मक प्रभाव पार्छ कि भन्ने अपेक्षा गर्न सकिन्छ ।

आजसम्म जति पनि कलाकारले आफ्नो अधिकारको लागि आवाज उठाए ती सबैलाई आश्वासन बाहेक सरकारले केही दिन सकेको छैन । केही कानुनहरू बने पनि त्यसमा बिचौलियाहरूको कारण कलाकारले उठाएका मुद्दालाई सही तरिकाले समेट्न नसकिएको अवस्था देख्न सकिन्छ । प्रतिलिपि अधिकार र बौद्धिक सम्पत्तिको प्रयोग को बारेमा बनेको कानुनमा अन्य औद्योगिक ब्रान्डहरूलाई राम्रैसँग सम्बोधन गरिएको भए पनि गीत सङ्गीतको बारेमा कानुन प्रस्ट बोल्न सकेन ।

सङ्गीत रोयल्टी सङ्कलन र वितरणको लागि कानुनको तर्जुमा भएर कार्यान्वयन भइसक्दा समेत उठेको रोयल्टीको समुचित वितरण हुन सकेको छैन । रोयल्टी सम्बन्धी काम गर्ने संस्था भित्रै पनि कतिपय नीतिगत अव्यावहारिकताका कारण आपसमा किचलो हुने गरेको छ । अनुदानमा आउने केही रकमको लागि कलाकारहरू नै आपसमा मिल्न नसकेको गुनासो बाहिरिने गरेको हामी सबैले देख्दै सुने आइरहेका छौँ । त्यसमाथि संस्थाभित्र हुने राजनैतिक हस्तक्षेप र आस्थाको आधारमा हुने उतार चढावले संस्थालाई निष्क्रिय जस्तै बनाएको छ । कलाकारको नाममा पैसा त उठेको छ तर त्यो समानताका आधारमा कलाकारको हात सम्म पुगेको छैन भन्ने कलाकारहरूको गुनासो सुनिन्छ ।

रोयल्टी सङ्कलन समाजले अपारदर्शी किसिमले स्रष्टा को पैसा खर्च गरेको, नियम र कानुनले तोकेको मापदण्ड भन्दा बाहिर गएर रोयल्टी को रकम संस्था सञ्चालनमा नै खर्च गर्ने गरेको भए पनि तालुक वाला निकाय र त्यहाँ आउने रजिस्ट्रार मूक दर्शक बनिदिएको गुनासो समेत कलाकारहरूले लगाउँदै आइरहेका छन् । बीस प्रतिशत खर्च गर्न पाउने रोयल्टी सङ्कलन समाजले कलाकारको असी प्रतिशतसम्म सङ्कलित रोयल्टी संस्था सञ्चालनमै खर्च गर्ने गरेका कुराहरू समेत बाहिर आउने गरेका छन् ।

यथेष्ट सम्भावना हुँदाहुँदै पनि अहिले कलाकारहरू जीवन यापनको लागि बिदेसिनु पर्ने बाध्यता रहेको छ । साङ्गीतिक कार्यक्रम गर्न विदेश गएका कलाकारहरू उतै लुकेर मजदुरी गर्नुपर्ने अवस्था आइपरेको छ । जीवन यापनको लागि पुराना स्रष्टाहरू सन्तानको भर पर्नु परिरहेको छ । बुढेसकालमा बिमारी हुँदा या कोही कलाकार दुर्घटनामा पर्दा चन्दा उठाएर उपचार गर्नुपर्ने बाध्यतामा कलाकारहरू बाँचिरहेका छन् । जब कि अग्रजहरू कै सम्पत्तिको अनधिकृत व्यापार बाट बिचौलियाहरूले करोडौँ कमाइरहेको आरोप कलाकारहरू नै लगाइरहेछन् ।

अहिले कलाकारहरूको आवाज सुन्दा नेपालमा प्रतिलिपि अधिकार हननको अवस्था निकै विकराल र भयावह देखिन्छ । सामाजिक सञ्जालमा अग्रज कलाकारले उठाएका कुराहरूमा सत्यता छ भने सरकारले तत्कालै यसमा हस्तक्षेप गरेर यो अवस्थाबाट नेपाली गीत सङ्गीतको प्रतिलिपि अधिकारको रक्षा गर्न तुरुन्तै कुनै ठोस पहल गर्नुपर्ने देखिन्छ ।

कलाकारको हितमा आवश्यक कानुन बनाउनको लागि प्रधानमन्त्रीको निर्देशनले निकै ठूलो महत्त्व राख्दछ । प्रधानमन्त्री केपी शर्मा ओली निकै नै कलाप्रेमी र कलाकार प्रेमी छन् । हिजोको भेटघाटमा पनि प्रधानमन्त्रीले जेलमा बस्दा समेत आफूले कलाकारका गीत सुनेर समय बिताएको स्मरण गरे ।

घरमा तबला हार्मोनियम लगायत वाद्य यन्त्रहरू सङ्ग्रह गरेका प्रधानमन्त्रीले कलाकारको मर्म बुझेर विद्यमान समस्या समाधानको लागि यौटा उच्चस्तरीय छानबिन समिति गठन गर्न निर्देशन दिनुपर्दछ जसबाट प्रतिलिपि अधिकार उल्लघनका घटनाहरू छानबिन गर्ने र कलाकारको हितमा कानुनहरू बन्ने प्रक्रिया अगाडि बढ्न सकोस् ।

कलाकारको हितमा कुनै ठोस कदम चाल्नको लागि प्रधानमन्त्री स्त बाटै अलि बलियो निर्देशन प्राप्त हुने हो भने पक्कै पनि नेपाली कलाकारिताको स्तर उकालो लाग्न समय लाग्ने छैन । आशा गरौँ यस पटक प्रधानमन्त्रीले कलाकारको समस्यालाई गम्भीर रूपमा मनन गरेर केही न केही पक्कै गर्नेछन् ।

सधैँ झैँ यस पटक पनि कलाकारहरूबालुवाटार वाट निकै धेरै आश्वासन बोकेर फर्केका छन् । यस पटक को ‘प्रधानमन्त्री–कलाकार’ भेटघाट कत्तिको फलदायी होला त्यो हेर्न भने केही दिन पर्खनु पर्ने छ ।

Logo