लिङ्ग निर्माण गर्ने विज्ञान भित्री अनुभवबाट जन्मिएको विज्ञान हो, जुन हजारौँ वर्षदेखि रहिरहेको छ। तर, पछिल्लो ८/९ सय वर्षमा, विशेषगरी जब यहाँ भक्ति-आन्दोलनको लहर फैलियो, मन्दिर निर्माणको विज्ञान पखालियो।
एक भक्तको लागि आफ्ना भावनाहरूबाहेक अरू केही पनि महत्त्वपूर्ण हुँदैन। उसको निम्ति भावना नै मार्ग हो। ऊ आफ्ना भावनाहरूको शक्तिले सबैथोक गर्न सक्दछ। त्यसैले, उनीहरूले विज्ञानलाई पाखा लगाए अनि जसरी मन लाग्यो त्यसरी मन्दिरहरू निर्माण गर्न थाले। यो एक प्रकारले प्रेम प्रसङ्ग जस्तै हो। एक भक्तले आफूलाई जे ठीक लाग्यो त्यही गर्दछ। उसको लागि सबै उचित हुन्छ, किनकि ऊसँग एउटा मात्र चीज हुन्छ- आफ्ना भावनाहरूको शक्ति।
फलस्वरूप, लिङ्ग निर्माणको विज्ञान धमिलिँदै गयो। यो निकै गहन विज्ञानको रूपमा रहेको थियो । यो एक आत्मपरक (भित्री) विज्ञान हो, र यसलाई कहिल्यै लेखिएन। किनकि, यदि तपाईंले यसलाई लेख्नुभयो भने, यसलाई पूर्णतः गलत रूपमा बुझिइनेछ। लिङ्ग निर्माणको विज्ञानको कुनै ज्ञानबिनै, थुप्रै लिङ्गहरू यसैगरी बनाइएका छन्।
भक्तहरूद्वारा बनाइएको मन्दिर यस्तो स्थान हो, जहाँ मानिसहरूमा भाव उत्पन्न हुन्छ। केही मानिसहरू मात्र साँचो भक्त हुन्छन्। अधिकांश मानिसहरू भक्तिलाई मुद्राको रूपमा प्रयोग गर्दछन्, ताकि आफूले चाहेको कुरा पाउन सकून्। संसारैभरि भइरहेका प्रार्थनाहरूमा, लगभग ९८% जति प्रार्थनाहरू 'यो दिनुस्, त्यो दिनुस्, मेरो रक्षा गर्नुस्' भन्नेबाहेक अरू केही हुँदैन- यो जीवन निर्वाह गर्ने चाल मात्र हो, यसमा कुनै भक्ति भाव हुँदैन। यसमा प्रार्थनाको कुनै भाव हुँदैन । यो केवल जीविको-पार्जनको सहारा हो; तपाईंले जीविकाको लागि अर्को तरिका अपनाउनु भएको मात्र हो।
सामान्यतया, विज्ञानमा आधारित लिङ्गहरू तिनै हुन्, जसलाई सिद्धहरू र योगीहरूले वैज्ञानिक प्रकियाले निर्माण गरेका थिए, अनि यसको एउटै अभिप्राय थियो- मुक्ति। ती लिङ्गहरूको स्पन्दन अनन्त-कालसम्म रहिरहन्छ। ती लिङ्गहरू विशेष प्रयोजन र निश्चित गुणहरूको लागि प्रायः मन्त्र-जपद्वारा प्राण-प्रतिष्ठा गरिएको हुन्थ्यो। सम्भवतः तपाईंलाई यो थाहा नहुन सक्छ कि दक्षिण भारतमा पञ्च-तत्त्वहरूको लागि पाँचवटा लिङ्गहरू निर्माण गरिएका छन्। यी पाँचवटै लिङ्गहरू साधनाको निम्ति निर्माण गरिएका हुन्, कुनै पूजाआजाको लागि होइन।
योग पद्धतिमा भएको सबैभन्दा मूलभूत साधना भनको भूतशुद्धि हो। पञ्चभूत भनेको प्रकृतिमा हुने पाँच तत्त्वहरू हुन्, जसबाट तपाईंको शरीर बनेको हुन्छ। यी हुन्- जल, धर्ती, अग्नि, वायु र आकाश। यी तत्त्वहरू एक निश्चित तरिकाले एकसाथ आएर भौतिक शरीरको रूपमा प्रकट हुन्छन्। आध्यात्मिक साधनाको लक्ष्य भनेकै भौतिक प्रकृतिभन्दा पर जानु हो, यी पञ्च-तत्त्वहरूभन्दा पर जानु हो। तपाईं जे-जति अनुभव गर्नुहुन्छ, ती सबैमा यी तत्त्वहरूको गहिरो प्रभाव रहेको हुन्छ। यी प्रभावहरूबाट पर जानको निम्ति योगमा एउटा मूलभूत अभ्यास रहेको छ, जसलाई भूतशुद्धि भनिन्छ। हरेक तत्त्वको लागि एउटा विशेष साधना हुन्छ, जसको अभ्यासमार्फत तपाईं त्यसबाट मुक्त हुन सक्नुहुन्छ।
भूतशुद्धि अभ्यास गर्नको लागि पाँचवटा फरक-फरक लिङ्गहरू निर्माण गरिएका थिए। धर्ती, जल, अग्नि, वायु र आकाश तत्त्वको लागि छुट्टाछुट्टै लिङ्गहरू बनाइएका छन्। ती लिङ्गहरूको लागि भव्य र विशाल मन्दिरहरू निर्माण गरिएका छन्, जहाँ तपाईं आफ्नो साधना गर्न सक्नुहुन्छ। यदि तपाईं जल तत्त्वको लागि साधना गर्न चाहनुहुन्छ भने, तपाईं थिरुवनाइकवल जानुपर्नेछ, आकाश तत्त्वको साधनाको लागि चिदम्बरम जानुपर्नेछ। भिन्न-भिन्न साधनाहरूका लागि फरक प्रकारका मन्दिरहरू निर्माण गरिएका थिए। वास्तवमा, मन्दिर यस्तै हुनुपर्ने हो, जहाँ निश्चित उद्देश्यको साधनाको लागि विशेष रूपले उर्जा निर्माण गरिएको हुन्छ। यी मन्दिरहरू साधनाको निम्ति बनाइएका हुन्, कुनै पूजाआजाको लागि होइन।
खासमा भन्नुपर्दा, यस संस्कृतिमा मन्दिरहरू कहिल्यै प्रार्थनाको लागि बनाइएका थिएनन्, त्यहाँ कुनै पूजा हुँदैनथ्यो। अचेल मात्रै मानिसहरूले यस्तो गर्न थालेका हुन्- उनीहरू पाँच रूपैयाँ भेटी चढाउँछन्, अनि भगवान्लाई 'यो गर्दिनुस्, त्यो गर्दिनुस्' भनेर अनुनय-विनय गर्छन्। परम्परागत रूपमा, तपाईंलाई यो भनिन्थ्यो कि यदि तपाईं मन्दिर जानुहुन्छ भने, त्यस स्थानमा केही समय बस्नैपर्छ, किनकि मन्दिर उर्जाको केन्द्र हो। यो एक किसिमले सार्वजनिक स्थानमा राखिएको चार्जिङ्ग प्वाइन्ट जस्तै हो। हरेक बिहान आफ्नो सांसारिक कामहरू सुरु गर्नुअघि, तपाईं नुहाउनु हुन्छ, मन्दिरमा गई केही समय बस्नुहुन्छ, त्यहाँको उर्जा ग्रहण गर्नुहुन्छ अनि आफूलाई उर्जाशील बनाउनुहुन्छ। त्यसपछि मात्र, तपाईं राम्रो तरङ्ग बोकेर संसारमा पाइला चाल्नुहुन्छ। यहाँ, यही परम्परा रहेको थियो।
अविश्वसनीय कुरा के छ भने, ससारैभरि विभिन्न स्थानहरूमा लिङ्गहरू निर्माण भएका छन्। अफ्रिकामा टेराकोट्टा लिङ्गहरू छन्, जसलाई तन्त्र साधनाको लागि प्रयोग गरिन्छ। ग्रिसमा लिङ्गसहित एउटा मन्दिर छ, जसलाई 'धर्तीको नाभि' भनिन्छ। यो पूर्ण रूपमा मणिपूरक हो। यसलाई पक्कै पनि भारतीय योगीहरूले बनाएको हुनुपर्छ । कसैले त्यहाँ मणिपूरक लिङ्गको प्रतिष्ठा गरे, किनकि सायद त्यहाँका राजाले विजय, समृद्धि र कल्याण चाहेका हुनुपर्छ। त्यसैले, उनीहरूले सोही उद्देश्यको लागि एउटा साधन तयार गरे। अधिकांश मन्दिरहरूको निर्माणको खर्च राजाबाट प्राप्त हुने भएकाले, अधिकांश लिङ्गहरू मणिपूरक प्रकृतिका छन्।
तर, केही राजाहरू यस्ता पनि थिए, जो यी कुराहरूभन्दा पर केही पाउन चाहन्थे । तसर्थ, अनाहत लिङ्गहरू निर्माण गरिए, यिनलाई आत्म-लिङ्ग पनि भनिन्छ। यी आत्म-लिङ्गहरू प्रेम र भक्तिको लागि, अनि पूर्ण रूपमा विलिन हुनको निम्ति बनाइएका हुन्। सामान्यतया, अनाहत लिङ्ग सबै किसिमका मानिसहरूको पहुँचमा हुन्छ । केही तान्त्रिक लिङ्गहरू पनि छन्, जस्तै कि मूलाधार लिङ्ग। यी निकै आधारभूत र बलवान् हुन्छन् अनि यिनलाई तन्त्र विद्याहरूका लागि प्रयोग गरिन्छ। भारतको असाम र कर्नाटकका केही भागहरूमा यस्ता लिङ्गहरू देख्न सकिन्छ। केही गुप्त मन्दिरहरू समेत छन्, जुन साना छन्, तर तान्त्रिक प्रक्रियाको दृष्टिले गहिरो क्षमता राख्दछन्। समग्रमा हेर्ने हो भने, अधिकांश लिङ्गहरू मणिपूरक प्रकृतिका छन्।
अहिले, भारतमा अधिकांश लिङ्गहरू एक वा दुईवटा चक्रका छन्। प्रायः एउटा चक्रको मात्रै छन्, किनकि निश्चित उद्देश्यको लागि एउटा चक्रको प्रयोग गरी शक्तिशाली लिङ्ग निर्माण गरिएको हुन्छ। यिनलाई मन्त्रहरूद्वारा प्राण-प्रतिष्ठा गरिएको हुन्छ।
ध्यानलिङ्ग, यस्तो लिङ्ग हो, जसमा सातवटै चक्रहरू पूर्ण रूपमा स्थापित छन्। अनि, यसको प्राण-प्रतिष्ठा गरिएको हो, अर्थात् जीवन-उर्जाको माध्यमले प्राण-प्रतिष्ठा गरिएको हो। सातवटै चक्रहरूलाई एकसाथ ल्याउनु आफैँमा विशाल चुनौती थियो । यदि मैले सातवटा चक्रहरूका निम्ति सातवटा छुट्टाछुट्टै लिङ्गहरू बनाउन चाहेको भए, यो काम निकै सहज हुने थियो। तर, त्यस किसिमको प्रभाव हुने थिएन। ध्यानलिङ्ग, सबैभन्दा अधिक विकसित जीवको उर्जा शरीर हो, अथवा तपाईं यो भन्न सक्नुहुन्छ- ध्यानलिङ्ग सबैभन्दा महान् देव, शिवको उर्जा शरीर हो।
अर्को कुरा के हो भने, सम्भवतः संसारमै पहिलो पटक लिङ्गको रेखदेखमा स्त्री र पुरुष संलग्न छन्। यसअघि, कसैले पनि स्त्रीहरूलाई यस्तो काम गर्ने अनुमति दिएका थिएनन्। तर, आज महिनामा चौध दिन- पूरै शुक्ल पक्ष अर्थात् पूर्णिमासम्म- महिलाहरूले ध्यानलिङ्गको हेरचाह गर्छन्। अर्को चौध दिन- पूरै कृष्ण पक्ष अर्थात् औँशीसम्म- पुरुषहरूले ध्यानलिङ्गको हेरचाह गर्छन्। मेरो विचारमा यो समाजको लागि विशाल उपहार हो, ताकि हामी रूढी परम्पराहरूबाट माथि उठ्न सकौँ।
यदि कोही आध्यात्मिक साधना गर्न चाहन्छन् भने, उनलाई एक जीवित गुरुको सान्निध्य मिल्न सक्दछ। यही अभिप्रायले ध्यानलिङ्ग निर्माण गरिएको हो। मानिसहरू आउँछन्, केही क्षण बस्छन् अनि जान्छन्… ठीकै छ । तर, जो साधना गर्न चाहन्छन्, उनीहरू त्यस उर्जासित यस्तो आत्मियता पाउन सक्छन्, जुन सामान्यतया मानिसहरूको पहुँचमा हुँदैन। मानिसहरूका निम्ति त्यस्तो अवसर उपलब्ध हुनु भनेको एकदमै दुर्लभ कुरा हो।न्युज कारखाना
–सदगुरुको प्रवचनमा आधारित





























प्रतिक्रिया