काठमाडौं । यस वर्षको नाडा अटो शो २०२५ मा परम्परागत सवारीसाधन मात्र नभई भविष्यका अत्याधुनिक प्रविधिहरू पनि देख्न पाइने भएको छ । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १७ औँ संस्करणको नाडा अटो शोमा उड्ने कार र रोबोट प्रमुख आकर्षणका रूपमा रहने भएका छन् ।नाडाले मंगलबार नाडा अटो शो २०२५ बारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो।
चिनियाँ कम्पनी हाङझाउ युशु टेक्नोलोजी कम्पनी लिमिटेडले उत्पादन गरेका युनिट्री रोबोट म्यान र रोबोट डग नाडा अटो शोमा प्रदर्शनीका लागि राखिने भएको छ । युनिट्री यस वर्षको अटो शोको टाइटल स्पोन्सर पनि हो । यसले रोबोटिक्स क्षेत्रमा आएको क्रान्तिलाई नेपाली दर्शकमाझ प्रस्तुत गर्ने विश्वास आयोजकको छ ।
त्यसैगरी, यसपटकको शोको सबैभन्दा ठूलो आकर्षणको रूपमा दिपलको उड्ने कार रहेको छ । एमएडब्लू समूह अन्तर्गतको एमएडब्लू वृद्धि अटो कर्प प्रालिले यो अत्याधुनिक विद्युतीय सवारीसाधन नेपाल भित्र्याएको हो । यसलाई ‘दिपल इभीटीओल युएभी’ भनिएको छ, जसको अर्थ यो सिधै उड्न र ल्यान्ड गर्न सक्ने क्षमताको पूर्ण विद्युतीय गाडी हो ।
यस प्रकारका उड्ने कारहरूलाई ट्राफिक जामको समस्याबाट मुक्ति दिलाउन र सहरी क्षेत्रमा छोटो दूरीको यात्रालाई सहज बनाउन भविष्यको यातायातको रूपमा हेरिएको छ।
अमेरिका र चीनजस्ता विकसित देशहरूले यसका लागि आवश्यक कानुन बनाउन थालेका छन् भने दुबईलगायतका खाडी मुलुकहरूमा यसको परीक्षण पनि भइरहेको छ । यस्तो प्रविधिलाई पहिलोपटक नेपाली दर्शकले शोकेसमार्फत नजिकबाट हेर्ने मौका पाउनेछन् ।





























प्रतिक्रिया