बालकुमारी घटनाबारे गठित आयोगको म्याद थप गर्न प्रस्ताव
ललितपुरको बालकुमारीमा गत पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शनमा सुरक्षाकर्मीको अअबाट दुई जना युवकको मृत्यु भएको घटना जाँचबुझ गर्न गठित आयोगको म्याद थप गर्न प्रस्ताव गरिएको छ । पुस १६ मा मन्त्रिपरिषद्ले पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अरुण बिसी र सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन् । आयोगलाई मन्त्रिपरिषद्ले एक महिनामा प्रतिवेदन पेश गर्न कार्यादेश दिएको थियो । तर, समय अपुग भएको भन्दै आयोगको तर्फबाट म्याद थप्नुपर्ने प्रस्ताव आएको हो । साथै आयोगले घटनाबारे बयान दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई पनि बोलाएको छ ।
सरकारले गर्यो स्वास्थ्य बीमा बोर्डका निर्देशकलाई हटाउने निर्णय
सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई हटाउने निर्णय गरेको छ । ९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले डा. बसौलालाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सर्वोच्च अदालतको आदेश विपरीत स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई हटाउनका लागि २४ पुसमा हटाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए । सोही सिफारिस अनुसार डा. बसौलालाई हटाइएको हो ।
देशभरका हल सञ्चालकले माघ २२ गते सबै हलहरु बन्द गर्ने
चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् । हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा उक्त दिन देशभरका हल बन्द गर्ने जनाएको हो । सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको संघको दाबी छ ।
आर्थिक वर्षको पुस मसान्तसम्म ५१ हजार बढी विद्यार्थीले लिए एनओसी पत्र
चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५१ हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा मन्त्रालयको एनओसी शाखाको तथ्यांक अनुसार १ साउनदेखि पुस मसान्तसम्म ५१ हजार ६३७ जनाले एनओसी लिएका छन् । शाखाका अनुसार क्यानडाको लागि सबैभन्दा धेरै १२ हजार ७५ एनओसी लिएका छन् । त्यसपछि अष्ट्रेलियाको लागि ९ हजार ७८७ जनाले, जापानको लागि ८ हजार ५६७ जनाले, युकेको लागि ६ हजार ६८७ जनाले अमेरिकाको लागि ५ हजार ३१८ जनाले, दक्षिण कोरियाको लागि २ हजार ३७२ जनाले, भारतको लागि एक हजार ३१२ जनाले एनओसी लिएका छन् ।
भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा नेपालको झिनो सुधार
व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा रहेको नेपालले यो वर्ष त्यसमा झिनो सुधार गरेको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको हो । ३५ अङ्कसहित एक सय आठौँ स्थानमा देखिएको छ । गत वर्ष अर्थात् सन् २०२२ मा नेपाल ३४ अङ्कसहित एक सय १०औँ स्थानमा थियो । त्यस्तै, सन् २०२१ मा ३३ अङ्कसहित एक सय १७औँ स्थानमा थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका एक सय ८० मुलुकको भ्रष्टाचारको अवस्था विश्लेषण गरेकामा कम भ्रष्टाचार हुने मुलुकमा ९० अङ्कसहित डेनमार्क पहिलो स्थानमा छ भने सोमालिया ११ अङ्कसहित एक सय ८०औँ स्थानमा छ ।
पोखरा महानगरपालिकाले बाँदर नियन्त्रण गर्न रुख काट्न रोक लगायो
बाँदर नियन्त्रणका लागी रुख काट्ने वडा कार्यालयको अभियानमा पोखरा महानगरपालिकाले रोक लगाएको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले एक सूचना जारी गर्दै लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको भन्दै नियन्त्रणका लागि १० दिनभित्र आफ्नो घर वरपरका रुखहरू कटान गर्न आग्रह गरेका थिए । तर, बाँदर नियन्त्रणको लागि अरू धेरै उपाय रहँदा रहँदै रुख नै काट्ने सूचनाप्रति वातावरण संरक्षविद्हरुले आपत्ति जनाएपछि चोतर्फी विरोध भएको थियो । त्यसपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरपालिकाबाट कुनै निर्णय नभएको भन्दै रुख काट्ने, फाँड्ने नगर्न, नगराउन निर्देशन दिएका हुन् ।
भ्रष्टाचार मुद्दामा शाखा अधिकृतविरुद्ध मुद्दा दायर
गैरकानुनी सम्पत्ति आर्जन आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना शाखा अधिकृतविरुद्ध ४ करोड ४० लाख १५ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल मधेस सरकारको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयका शाखा अधिकृत (आठौं) मिनबहादुर भट्टराईविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।अधिकृत भट्टराईले गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा सार्वजनिक सेवामा प्रवेश गरेको अवधिको वैध आय र सम्पत्तिको हिसाब निकाल्दा स्रोत नखुलेको रकम बिगो मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.प्रह्लाद कार्की माथी दुर्व्यवहार
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई मंगलबार दुर्व्यवहार भएको छ । उनलाई आफ्नै कार्यकक्षमा एउटा समूहले मोसो दल्ने प्रयास गर्दै दुर्व्यवहार गरेको हो । प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएको भन्दै मोसो दलिएको मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट क्रान्तिकारी युवा संगठनले जनाएको छ । मोसो दल्ने संगठनका कार्यकर्ताहरु सदिप सिर्पाली, निशान कटवाल र खेम थापालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिबन्धित अनलाइन जुवा र क्रिप्टो करेन्सी कारोबार गिरोह पक्राउ
नेपालमा प्रतिबन्धित अनलाइन जुवा र क्रिप्टो करेन्सीको कारोबार अझै डरलाग्दो रहेको तथ्य फेला परेको छ । काठमाडौं अपराध अनुसन्धान कार्यालयले मंगलबार अनलाइन जुवा खेल्नेहरूका लागि अवैध रुपमा रकम ट्रान्सफर गरिदिने गिरोहलाई पक्राउ गरेको हो । प्रहरीले अनलाइन जुवा खेल्न र ठगीका लागि विभिन्न माध्यमबाट रकम लोड गरिदिने सप्तरीको राजविराज नगरपालिका १० डुम्री निवासी २६ वर्षीय डम्बर साहलाई पक्राउ गरेको हो। साहले मात्रै आफ्नो कम्पनीमार्फत सन् २०२१ देखि हालसम्मको दुई वर्षबीचमा अनलाइन जुवा र अन्य अवैध कारोबारका लागि १ अर्ब ४९ करोड रुपैयाँ ट्रान्सफर गरेको तथ्य कार्यालयको अनुसन्धानबाट खुलेको छ।
मंगलबार पनि सेयर बजारमा सुधार
नेप्से परिसूचकमा मंगलबार तेस्रो दिन पनि सुधार छ । परिसूचक १४.८८ अंकले बढेर (०.७० प्रतिशत) सेयर बजार २११९.६१ विन्दुमा बन्द भएको छ । आज पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ३०८ कम्पनीको कारोबार भएकोमा १५२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
दक्षिण सुडान आक्रमणमा परि ५२ जनाको मृत्यु
दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा रहेका एक सदस्यसहित ५२ जनाको ज्यान गएको छ । आक्रमणमा अरु ६४ जना घाइते भएका छन् । सुडानको वारेप राज्यका हतियारधारी समूहले छिमेकी दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण गरेका अबेईका सरकारी अधिकारीलाई उद्धृत गरी रोयटर्सले जनाएको छ । जग्गाका कारण विवाद बढ्दै जाँदा आक्रमणको घटना भएको खबरमा उल्लेख छ ।साम्प्रदायिक दङ्गा भइरहने अबेई क्षेत्रमा नेपाली शान्ति सैनिकको ९७ जनाको टोली पनि खटिएको छ । तर यो आक्रमणमा नेपाली टोली सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।
प्रधानमन्त्री कपमा कोशी प्रदेशको पहिलो जित
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा भएको नवौं खेलमा कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले पराजित गरेको हो । यसअघि प्रधानमन्त्री कपमा भएका ८ खेलमा कोशी प्रदेश पराजित भएको थियो । टियु क्रिकेट मैदानमा कोशीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४६ ओभर ५ बलमा १५६ रनमा समेटिएको हो । कोशी प्रदेश प्रतियोगिताबाट बाहिरीसकेको छ ।





























प्रतिक्रिया