७० करोड टेप प्रकरणको फाइल खुल्दै, सिंहदरबार र बानेश्वरको फुटपाथमा हिँड्न पनि निषेध [ भिडियाेसहित]

७० करोड टेप प्रकरणको फाइल खुल्दै, सिंहदरबार र बानेश्वरको फुटपाथमा हिँड्न पनि निषेध [ भिडियाेसहित]

केन्द्रबिन्दु
98
Shares

मन्त्रीद्वय मोहनबहादुर बस्नेत र प्रकाश ज्वालालाई कारबाही गर्नुपर्ने प्रधानमन्त्रीलाई दबाब

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि मन्त्रीद्वय मोहनबहादुर बस्नेत र प्रकाश ज्वालालाई कारबाही गर्नुपर्ने दबाब बढेको छ। विपक्षी दलहरु नेकपा एमाले र रास्वपाले राजीनामा नआए संसद चल्न नदिने चेतावनी दिएका छन्।

एमालेले केन्द्रीय समितिको बैठकबाट निर्णय नै गरेर प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाएको छ ।दुई युवकको मृत्यु भएको बालकुमारी घटनामा जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको नैतिकतामाथि सार्वजनिक रुपमा समेत प्रश्न उठेको छ ।

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान हुँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको बताएका छन्।

संसदको सार्वजनिक लेखा समितिले मंगलबार विगतमा दिएको निर्देशनमा के भइरहेको भनेर अख्तियार प्रमुख राईसँग छलफल गरेको थियो। सो क्रममा उनले यस्तो बताएका हुन्। तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनको कुरा गरेको अडियो २०७६ फागुनमा सार्वजनिक भएको थियो। यो विवादपछि बास्कोटाले राजीनामा दिएका थिए।

सोमबार निधन भएका वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि गरियाे

सोमबार निधन भएका वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मंगलबार अपरान्ह पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो।

भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो । यसअघि नेपाल संगीत तथा नाट्यकला प्रतिष्ठानमा राखिएको उनको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

धरानमा विमानस्थल निर्माण सम्भव नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जिकिर

नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण सम्भव नरहेको जनाएको छ। धरानमा विमानस्थल बनाउनु नीतिगत व्यवस्थाविपरीत हुने प्राधिकरणको निष्कर्ष रहेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पटक(पटक धरानमा विमानस्थल बन्नुपर्ने माग राख्दै आएका थिए।

मेयर साम्पाङको आग्रहपछि संस्कृति, नागरिक तथा उड्डयनमन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माण अध्ययन समिति गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन दिएका थिए । त्यही अध्ययन समितिले दिएको सुझावका आधारमा प्राधिकरणले मंगलबार धरानमा विमानस्थल निर्माण सम्भव नभएको जनाएको हो।

निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका ऋणिहरुलाई प्रहरीले मुद्दा चलाउने

निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका ऋणिहरुलाई प्रहरीले मुद्दा चलाउने भएको छ । बानेश्वरस्थित संसद् भवनबाट फागुन १४ मा ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

संवेदनशील क्षेत्रमा प्रवेश गर्न उक्साउने र अराजक गतिविधि गर्नेहरुलाई पहिचान गरेर पक्राउ परेकामध्ये केहीलाई मात्र छाड्ने प्रहरीको तयारी छ।

प्रहरीले सिंहदरबार र संघीय संसद भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न पनि निषेध

प्रहरीले सिंहदरबार र संघीय संसद भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न पनि निषेध गरेको छ । लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न रोक लगाइएको हो ।

सिंहदरबार र बानेश्वरका फुटपाथमा अघिल्ला दिनहरुमा भन्दा धेरै प्रहरी परिचालन गरिएको छ साथै सर्वसाधारणलाई डोरी टाँगिएको क्षेत्रमा हिँड्न दिइएको छैन । फुटपाथमा हिँड्न नपाएपछि सर्वसाधारण अहिले सडकबाटै हिँडिरहेका छन्।

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र सेन्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना पक्राउ

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र सेन्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना पक्राउ परेका छन् । बैंकिङ कसुर गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १० जनालाई पक्राउ गरेको हो ।

नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि सीआईबीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो । सीआईबीका प्रमुख किरण बज्रचार्यले विभिन्न अनियमिततामा संलग्न भएको आरोप लागेको र राष्ट्र बैंकले आग्रह गरेपछि पक्राउ गरिएको जानकारी दिए ।

दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन प्रधानमन्त्रीकाे निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् । दूध उत्पादकसहित विभिन्न १५ वटा किसान सङ्गठन अहिले आन्दोलनमा छन्।

आफूहरुका माग सरकारले सम्बोधन नगरेको भन्दै उनीहरुले गएको बिहीवार आन्दोलनका कार्यक्रम नै घोषणा गरेका छन् । किसान सङ्गठनले संयुक्त रुपमा १६ वटा माग राखेका छन्।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेर मंगल २ हजार अंक नाघ्याे

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेर आज २ हजार अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.३४ अंक बढेसँगै २००१ अंकमा कायम भएको छ । कारोबार रकम भने घटेको छ। अघिल्लो दिन २ अर्ब १ करोडको कारोबार भएकोमा आज १ अर्ब ८६ करोडमा खुम्चियो।

कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १६ को स्थिर रह्यो । समूहगत सूचकहरुमा भने मिश्रित अवस्था देखिएको छ। केही समूहहरु बढेका छन् भने केही घटेका छन् । उत्पादन समूह सबैभन्दा धेरै ३.५ प्रतिशत बढेको छ भने घटेका समूहको गिरावट दर ०.३ प्रतिशतमुनि नै रहेको छ।

चीनले यो वर्ष झण्डै एक सय वटा अन्तरिक्ष यान प्रक्षेपण गर्ने

चीनले यो वर्ष झण्डै एक सय वटा अन्तरिक्ष यान प्रक्षेपण गर्ने भएको छ । यो योजनाबाट अन्तरिक्षको क्षेत्रमा नयाँ रेकर्ड कायम गर्ने चीनको उद्देश्य छ । चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थल दक्षिण चीनको टापु प्रान्त हेनानको वेनचाङ शहरमा निर्माण भैरहेको छ ।

घरेलु टोली नेपाल त्रिकोणात्मक टी- २० आई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग २० रनले पराजित

घरेलु टोली नेपाल त्रिकोणात्मक टी- २० आई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले जितका लागि दिएको २०७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अलआउट भएको हो।

नामिबियाका लागि जान निकोल लेफिट इटनले उत्कृष्ट ब्याटिङ गर्दै १०१ रनको शतकीय इनिङ खेले । उनले ३३ बलमै शतक पूरा गरे । इटनले नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमानी पनि तोडेका छन्।

यसअघि मल्लले सन् २०२३ मा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा मङ्गोलियाविरुद्धको खेलमा ३४ बलमा शतक प्रहार गर्दै कीर्तिमानी कायम गरेका थिए । अब नेपालले दोस्रो खेलमा नेदरल्याण्डसँग खेल्नेछ।

Logo