नेपाली राजनीतिमा उथलपुथलः हिजोसम्म प्रतिपक्षीमा रहेकाहरु मन्त्री बने, मन्त्री हुनेहरुले झण्डा छोपे ! [भिडियाेसहित]

नेपाली राजनीतिमा उथलपुथलः हिजोसम्म प्रतिपक्षीमा रहेकाहरु मन्त्री बने, मन्त्री हुनेहरुले झण्डा छोपे ! [भिडियाेसहित]

केन्द्रबिन्दु
140
Shares

तेस्रोपटक सत्ता गठबन्धनको फेरबदल
२०७९ को आम निर्वाचनपछि तेस्रोपटक सत्ता गठबन्धन फेरबदल भएको छ । गत वर्ष पुस १० मा एमाले, राप्रपा, रास्वपासहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६४ दिन मात्र उक्त गठबन्धनमा रहे । त्यसपछि कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनमा फर्किएका उनी एक वर्ष बित्नासाथ फेरि एमालेतिर ढल्किएका छन् । योसँगै कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गठबन्धनमा आलोपालो गर्दै प्रधानमन्त्री बन्ने सपनामा तुसारापात भएको छ । संसदको तेस्रो शक्ति भए पनि प्रचण्डले एमाले र कांग्रेसलाई पालैपालो प्रयोग गरेर आफ्नो सत्ताको आयू लम्ब्याउन सफल भएका छन् ।

नवनियुक्त तीन मन्त्रीले लिए शपथ
नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका डोलप्रसाद अर्याल, माओवादी केन्द्रका हितबहादुर तामाङ र एमालेका पदम गिरीले शपथ लिएका हुन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

नेकपा एस गठबन्धनबाट बाहिर
नेकपा एकीकृत समाजवादीले पार्टीबाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको छ । प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाएपछि अन्योलमा रहेको नेकपा एसले नयाँ मन्त्रीको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको हो । प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एसबाट कृषिमन्त्री बेदुराम भुसाल र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला छन् ।

नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने
नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले पदबाट राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले, रास्वपासँग मिलेर नयाँ गठबन्धन बनाएपछि कांग्रेसका मन्त्री अलमलमा परेका हुन् । प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेसका ९ जना मन्त्री सहभागी छन् । बिहान बूढानीलकण्ठबाट बाहिरिँदा कांग्रेसका मन्त्रीहरुले गाडीमा रहेको राष्ट्रिय झन्डा छोपेर निस्केका थिए । यसबारे निर्णय गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फागुन २२ गते दिउँसो ३ बजे बस्ने भएको छ ।

राष्ट्रियसभामा १९ सदस्यले लिए पद तथा गोपनीयताको सपथ
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन्
। नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उनीहरुलाई सपथ दिलाएकी हुन् । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिइन् भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे । राजनीतिक उतानरचढावका कारण आजको राष्ट्रियसभा बैठक स्थगीत भएको थियो ।

शालिन पोखरेल शंकास्पद मृत्यु प्रकरणः पक्राउ परेका तीन जनाका लागि ४ दिन म्याद थप
चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा कक्षा–८ मा अध्ययनरत शालिन पोखरेल शंकास्पद रूपमा मृत फेला परेको घटनामा पक्राउ परेका तीन जनाको ४ दिन म्याद थपिएको छ । मृतकको परिवारको किटानी जाहेरीका आधारमा विद्यालयका प्रिन्सिपलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि अदालतले दिएको म्याद सकिएर आज ४ दिनको थप म्याद लिइएको चितवन प्रहरीले बताएको हो । मृतकको पोस्टमार्टम रिपोर्ट आएसँगै अनुसन्धान ट्र्याकमा आएको प्रहरीले जनाएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण वा दुरुपयोग भए जानकारी गराउनुः काठमाडौं
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक जग्गा अतिक्रमण वा दुरुपयोग भएको जानकारी भएमा त्यसको जानकारी उपलब्ध गराइदिन आग्रह गरेको छ । सूचनामा देशका विभिन्न भागमा सरकारी जग्गा अतिक्रमण गरी दर्ता गरिएको, अनधिकृत भोग चलन गरेको लगायतका उजुरी परेको र त्यस्तो भएको पाइएमा दर्ता गर्ने र भोग चलन गर्नेलाई कानुनी कारबाही गरी जग्गा सरकारकै नाममा ल्याउने प्रयोजनका लागि सूचना आग्रह गरिएको छ ।

निजामती कर्मचारीहरूको अवकाशको उमेरहद साठी वर्ष कायम
सरकारले निजामती कर्मचारीहरूको अवकाशको उमेरहद साठी वर्ष कायम गर्ने गरी संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ता गराएको हो । यो विधेयकले निजामती प्रशासनमा लामो समयदेखि देखिएको विविध समस्या हल हुने विश्वास गरिएको छ ।

तीन पटकसम्म सकारात्मक सर्किट लागेर शेयर बजार बन्द
तीन पटकसम्म सकारात्मक सर्किट लागेर बजार बन्द भएको दिन नेप्से आज १ सय १७ दशमलव ७० अङ्कले बढेर २ हजार ७८ विन्दुमा पुगेको छ । सत्ता गठबन्धन फेरिएको समाचारसँगै बिहान ११ बजे बजार खुलेको तीन मिनेटमै बजारमा सर्किट लागेको थियो । आज ९ लाख ३४ हजार कित्ता शेयर ३७ करोड ५२ लाख रुपैयाँमा कारोबार भएका छन् । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

हैटीमा सशस्त्र समूहले ४ हजार कैदीलाई भगायो
हैटीमा सशस्त्र समूहले जेलमा आक्रमण गरी झण्डै ४ हजार जना कैदीलाई भगाएको छ । घटनामा १२ जनाको ज्यान गएको र झण्डै चार हजार जना कैदीहरु भागेको हैटी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।जेलबाट भाग्नेहरुमा सन् २०२१ म तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न रहेको अभियोगमा दोषी ठहर भइ सजाय काटिरहेकाहरु पनि रहेको बीबीसीको खबरमा उल्लेख छ ।

साफ यू–१६ महिला च्याम्पियनशिप फुटबलअन्तर्गत नेपालले भूटानलाई हरायो
साफ यू–१६ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा नेपालले भूटानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान एक–एक गोल गरे । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग २–० ले पराजित भएको थियो । यससँगै नेपालले प्रतियोगितामा तीन अङ्क बटुलेको छ । अब नेपालले यही फागुन २४ गते भारतसँग खेल्नेछ ।

Logo