गृहमन्त्री रविको निर्देशनमा पक्राउ परे महरा, प्रचण्डले बोलाए बैठक [भिडियाेसहित]

गृहमन्त्री रविको निर्देशनमा पक्राउ परे महरा, प्रचण्डले बोलाए बैठक [भिडियाेसहित]

केन्द्रबिन्दु
182
Shares

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा पक्राउ

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैं केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी पुर्याइएको थियो।

उनलाई ७ दिन हिरासतमा राख्न अनुमति माग्ने सरकारी वकिलको तयारी छ। उनी माओवादी निकट वकिलको घरमा बसेको बेला पक्राउ परेको बताइएको छ। महरालाई यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको थियो।

त्यस्तै सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ भने जिल्ला अदालत काठमाडौंको आदेश अनुसार १५ लाख रुपैयाँ धरौटीमा छुटेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाेलाए पदाधिकारी बैठक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन्। मंगलबार बिहान बस्नेगरी प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन्।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा आज बिहान पक्राउ परेका छन्। सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही विषयमा छलफल गर्न उनले पदाधिकारी बैठक बोलाएका हुन्।

उपनिर्वाचनका लागि प्रदेशतर्फ १९ र प्रतिनिधिसभातर्फ २० वटा राजनीतिक दल दर्ता

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रदेशतर्फ १९ र प्रतिनिधिसभातर्फ २० वटा राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्तिमार्फत यस्तो जानकारी दिएका हुन्।

इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को ‘क’ मा उपनिर्वाचन हुँदैछ। रास्वपाले प्रतिनिधिसभामा मात्रै उमेदवारी दिएकाले प्रदेशतर्फ १९ निवेदन मात्रै परेको हो।

सुन तस्करी अनुसन्धानमा सहयोगी डिभाइसहरुको रिपोर्ट नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लुकाएको पाइयाे

ठमेलको छाँया सेन्टरस्थित वाल्डो क्यासिनोबाट बरामद सुन तस्करी अनुसन्धानमा सहयोगी डिभाइसहरुको रिपोर्ट नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लुकाएको पाइएको छ।

सुनको अवैध पैठारी (तस्करी) जाँचबुझ आयोगले वाल्डो क्यासिनोबाट बरामद भएका डिभाइसहरुको रिपोर्ट पठाउन पटक–पटक ताकेता गर्दा समेत नपाएको बताएको छ। आयोगका अध्यक्ष पूर्वन्यायाधीश डिल्लीराम आचार्यले वाल्डो क्यासिनोबाट बरामद भएका डिभाइसहरुको रिपोर्ट आयोगले नपाएको स्वीकार गरेका छन्।

सहकारीमा रवि लामिछानेको नाम मुछिएको भन्दै अनुसन्धानको विषय बन्छ कि बन्दैन भनेर गगन थापाले गरे प्रधानमन्त्रीलाई प्रश्न

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न सहकारीमा हजारौं मान्छेहरूको अर्बौं रुपैयाँ अपचलन भएको र त्यस्तो अपचलनमा गृहमन्त्री रवि लामिछानेको पनि नाम मुछिएको भन्दै अनुसन्धानको विषय बन्छ कि बन्दैन भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

‘जो मुछिएको छ। ऊ आफैंले अनुसन्धान गर्छ भनेर कसरी पत्याउने? त्यसैले प्रधानमन्त्रीबाट हामीलाई जवाफ चाहिएको छ। ओठे जवाफ होइन। जिम्मेवारीबोधका साथ जवाफ चाहियो’, थापाले भनेका छन्। साथै उनले महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद पनि दिएका छन्।

नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य पदबाट बर्खास्त

नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन् । राष्ट्र बैंककै उच्च तहकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई बर्खास्त गरिएको हो।

पुस २७ गते राष्ट्र बैंकले भक्तपुरको नगरकोटस्थित एक होटलमा तनाव व्यवस्थापनसम्बन्धी दुईदिने आवासीय कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रमा निर्देशक थानेश्वरले बैंकका उच्च महीला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको खुलेको थियो।

दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ

दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन्। पक्राउ पर्ने दीपक खड्का र रामकुमार धिमाल रहेका छन्।

उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको छ। प्रसाईँ आज गाडीसहित मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए।

मधेश प्रदेशमा एमालेबाट सरोज यादव मन्त्री बने

मधेश प्रदेशमा एमालेबाट सरोज यादव मन्त्री बनेका छन्। उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेसँगै सोमबार प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ लिएका हुन्।

नयाँ समीकरण बनेपनि मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस सरकारमै थियो । तर, मुख्यमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेर एमालेलाई सत्तामा प्रवेश गराएसँगै कांग्रेस सरकारबाट औपचारिकरुपमा आउट भएको छ।

सहकारी संस्थाहरूबाट लिएको ऋण समयमै तिर्न काठमाडौं महानगरपालिकाकाे आग्रह

काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूबाट लिएको ऋण समयमै तिर्न आग्रह गरेको छ।

महानगरको सहकारी विभागले सूचना प्रकाशित गर्दै केही ऋणीहरूले समयमा सावाँ तथा ब्याज भुक्तानी गर्न विभिन्न बहानाबाजी गरेको र केहीले सहकारीको ऋण तिर्न नपर्ने जस्ता भ्रम फैलाएको गुनासो आएकाले त्यस्ता ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको हो।

दीपक मनाङे बने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनाएका छन्।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले गुरुङलाई मन्त्री नियुक्त गर्नुका साथै पद तथा गोपनीयताको शपथ गराएका छन्।

गुरुङले हिजोमात्रै नेकपा (एकीकृत समाजवादी) छोडेको घोषणा गर्दै आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए।

साेमबार शेयर बजार बढ्याे

शेयर बजार परिसूचक नेप्से साेमबार तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव ५३ विन्दुमा पुगेको छ। समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै मानुषी लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ।

आज ७४ लाख ५९ हजार कित्ता शेयर दुई अर्ब ८८ करोड ५६ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै गोर्खाज फाइनान्सको २३ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

भारतको अरुणाचल प्रदेश आफ्नो भित्री भाग भएको भन्दै चिनियाँ सेनाले गर्याे दाबी

भारतको अरुणाचल प्रदेश आफ्नो भित्री भाग भएको भन्दै चिनियाँ सेनाले फेरि दाबी गरेको छ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल चाङ सियाओगेङले शिझाङको दक्षिणी भाग चीनको आन्तरिक क्षेत्र रहेको भन्दै भारतले यस क्षेत्रलाई अवैधरूपमा अरुणाचल प्रदेश स्थापित गरेको बताएको बीबीसी हिन्दीले जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च ९ मा अरुणाचल प्रदेशको भ्रमण गरी सेला सुरुङमार्गको उद्घाटन गरेका थिए। यसप्रति पनि चीनले आपत्ति जनाएको थियो।

भारतका लागि रणनीतिकरूपमा महत्त्वपूर्ण यो सुरुङमार्गको उद्घाटनपछि चीनले भारतको यो कदमले सीमा विवादलाई थप जटिल बनाउने बताएको थियो।

क्यानले नेपाल ‘ए’ को प्रशिक्षणमा ४० खेलाडीलाई बोलायाे

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ को प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ।

अर्को सातादेखि घरेलु मैदानमा हुने आयरल्यान्ड ‘ए’ टोलीसँग खेल्ने तीन टी–२० र तीन एकदिवसीय सिरिजका लागि क्यानले नेपालको ‘ए’ टोलीलाई प्रशिक्षणमा बोलाएको हो।

‘ए’ टोलीको प्रशिक्षणमा आरिफ शेख, भीम सार्की, प्रतिश जि.सी, विनोद भण्डारी, देव खनाल, सन्दीप जोरा र कमलसिंह ऐरी लगायतका खेलाडी परेका छन्। नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग २८, २९ र ३१ मार्चमा टी–२० खेल खेल्नेछ। अप्रिल ३, ५ र ७ मा एकदिवसीय अभ्यास खेल खेल्नेछ।

Logo